
चितवन । नारायणगढस्थित नारायणी नदी किनारमा जारी दोस्रो नारायणी महोत्सवमा मंसिर ६ गते चर्चित कलाकार रविन लामिछाने, तारा थापा र जादुगर गुन्द्रुकेले विशेष प्रस्तुति दिने भएका छन् । आयोजक रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिका अनुसार भोलि हुने सांगीतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिले महोत्सवको रौनक थप बढाउने अपेक्षा गरिएको छ ।



नारायणी नदी किनारको प्रदर्शनी मैदानमा जारी महोत्सवमा हरेक दिन नारायणी कला मन्दिर नारायणगढका कलाकारहरूको प्रस्तुति तथा आदिवासी जनजातिका मौलिक सांस्कृतिक कार्यक्रम सञ्चालन भइरहेका छन् । मंसिर ६ गतेको कार्यक्रमअन्तर्गत रविन लामिछाने, तारा थापा र जादुगर गुन्द्रुकेले दर्शकलाई मनोरञ्जन प्रदान गर्नेछन् ।
महोत्सवको प्रवेशद्वारमा निर्माण गरिएको आकर्षक पिरामिड शैलीको गेटले आगन्तुकको ध्यान खिचिरहेको छ । त्यस्तै, नारायणी नदी किनार तथा आसपासको प्राकृतिक सौन्दर्य आकाशबाट अवलोकन गर्न सकिने हट एयर बेलुनको व्यवस्था गरिएको छ । आयोजकका अनुसार आवश्यक अनुमति तथा सुरक्षा मापदण्ड पूरा गरी उक्त गतिविधि सञ्चालन गरिएको छ ।
महोत्सवमा जिरो ग्र्याभिटी राइडसहित बालबालिका, युवा तथा परिवारलाई लक्षित विभिन्न मनोरञ्जनात्मक खेल, राइड तथा गतिविधि सञ्चालन भइरहेका छन् । व्यापारिक स्टल, प्रदर्शनी कक्ष, स्थानीय उत्पादन, हस्तकला, घरेलु तथा साना उद्योगका सामग्री, होटल तथा रेस्टुरेन्ट र विविध खानाका परिकारले महोत्सवलाई थप आकर्षक बनाएका छन् ।
महोत्सवले स्थानीय व्यवसायी, उद्यमी तथा स्वरोजगारमा संलग्न व्यक्तिहरूलाई आफ्ना उत्पादन र सेवाको प्रचारप्रसार तथा बिक्री वितरण गर्ने अवसर प्रदान गरेको आयोजकको भनाइ छ । नारायणी नदी किनारलाई पर्यटनसँग जोड्दै भरतपुर तथा समग्र चितवनको आर्थिक गतिविधि चलायमान बनाउने, आन्तरिक पर्यटक आकर्षित गर्ने, स्थानीय होटल तथा रेस्टुरेन्ट व्यवसायलाई प्रोत्साहन गर्ने र कला तथा संस्कृतिको प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो ।
महोत्सवलाई व्यवस्थित र सुरक्षित बनाउन सरकारी निकाय, स्थानीय तह, सुरक्षा निकाय तथा ट्राफिक प्रहरीसँग समन्वय गरिएको आयोजकले जनाएको छ । सवारी व्यवस्थापन, पार्किङ, पैदल यात्रुको आवागमन, सरसफाइ, प्राथमिक उपचार तथा आपत्कालीन व्यवस्थापनलाई प्राथमिकतामा राखिएको छ ।
महोत्सव प्रवेशका लागि साधारण टिकट रु. १०० र विद्यार्थी टिकट रु. ८० निर्धारण गरिएको छ । हरेक दिनजसो साँझ ५ बजेदेखि ९ बजेसम्म विशेष कन्सर्ट सञ्चालन हुनेछ । कन्सर्ट जोनमा प्रवेश गर्न साधारण टिकट रु. ३०० र भिआइपी टिकट रु. ५०० लाग्ने आयोजकले जनाएको छ । कन्सर्टमा सहभागी नहुने दर्शकले भने रु. १०० वा विद्यार्थीका लागि रु. ८० को टिकटमा महोत्सव परिसर अवलोकन गर्न सक्नेछन् ।
रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्ट प्रालिले महोत्सवलाई केवल मनोरञ्जनको कार्यक्रम नभई भरतपुरको पर्यटन, व्यापार, संस्कृति तथा आर्थिक गतिविधिको प्रवर्द्धनसँग जोडिएको साझा अभियानका रूपमा लिएको जनाएको छ । आयोजकले दर्शक, स्थानीयवासी तथा पर्यटकलाई महोत्सवमा सहभागी भई कार्यक्रम सफल बनाउन आग्रह गरेको छ ।


प्रतिक्रिया दिनुहोस