
प्रधानमन्त्रीको पदभार सम्हालेयता उनकाे यो पहिलो औपचारिक भारत भ्रमण हो । नेपालको परराष्ट्र मन्त्रालय र भारतीय विदेश मन्त्रालयले सार्वजनिक गरेको कार्यतालिकाअनुसार भ्रमणका प्रमुख कार्यक्रमहरू तय भइसकेका छन ।



जसअनुसार पहिलो दिन प्रधानमन्त्री शाह नेपाल वायुसेवा निगमको उडानमार्फत नयाँ दिल्ली प्रस्थान गर्नेछन भने सोही दिन साँझ ६ बजे नयाँ दिल्लीस्थित ताजमहल होटेलमा भारतीय विदेशमन्त्री एस. जयशंकर ले उनकाे शिष्टाचार भेटघाट गर्ने कार्यक्रम रहेकाे छ । यसपछिका कार्यक्रमका बारेमा कुनै जानकारी दिइएकाे छैन् ।
भ्रमणकाे दोस्रो दिन सोमबार बिहान राष्ट्रपति कार्यालयमा औपचारिक स्वागत तथा भेटवार्तापछि उनले राजघाट पुगी महात्मा गान्धीको समाधिस्थलमा श्रद्धाञ्जली अर्पण गर्नेछन । त्यसपछि नयाँदिल्लीस्थित हैदराबाद हाउसमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी सँग प्रतिनिधिमण्डलस्तरीय द्विपक्षीय वार्ता हुनेछ ।
द्विपक्षीय वार्तापछि संयुक्त पत्रकार सम्मेलन तथा प्रधानमन्त्री मोदीले आयोजना गर्ने औपचारिक मध्याह्नभोजमा प्रधानमन्त्री शाह सहभागी हुनेछन । दिउँसो ३:१५ बजे उनले भारतीय राष्ट्रपति द्रौपदी मुर्मुसँग शिष्टाचार भेट गर्नेछन । र सोही दिन साँझ ४:५० बजे स्वदेश फर्कने तालिका रहेको छ ।
भ्रमण दलमा सरकारका उच्चपदस्थ अधिकारीहरूको समेत सहभागिता रहनेछ । प्रधानमन्त्री शाहको नेतृत्वमा जाने प्रतिनिधिमण्डलमा अर्थमन्त्री डा. स्वर्णिम वाग्ले, परराष्ट्रमन्त्री शिशिर खनाल, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार बेन्जनकार तथा नेपाल सरकारका अन्य वरिष्ठ अधिकारीहरू रहनेछन ।
यस राजकीय भ्रमणले नेपाल–भारतबीचको ऐतिहासिक, सांस्कृतिक तथा जनस्तरको सम्बन्धलाई थप सुदृढ बनाउने र भारतको ‘छिमेक पहिलो’ नीतिअन्तर्गत सहकार्यलाई नयाँ गति दिने अपेक्षा गरिएको छ । द्विपक्षीय वार्ताका मुख्य प्राथमिकतामा अनुसार आर्थिक सहकार्य र लगानीका लागि व्यापार, वाणिज्य तथा लगानी प्रवर्द्धनसँगै नेपाल–भारत बिजनेस फोरममार्फत भारतीय निजी क्षेत्रलाई नेपालमा लगानी गर्न आकर्षित गर्ने विषय, ऊर्जा तथा जलस्रोत सहकार्य, सीमापार सम्पर्क सञ्जाल विस्तार, भौतिक पूर्वाधार र डिजिटल कनेक्टिभिटीसम्बन्धी परियोजनाहरूको समीक्षा हुनेछ भने स्टार्टअप, प्रविधि, नवप्रवर्तन र खेलकुदजस्ता उदीयमान क्षेत्रमा सहकार्य विस्तारका साथै आपसी हितका क्षेत्रीय तथा अन्तर्राष्ट्रिय विषयमा विचार आदानप्रदान हुने प्रारम्भिक जानकारी दिइएकाे छ ।


प्रतिक्रिया दिनुहोस