वैशाख १५, २०८१
भरतपुर । नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन जिल्ला कमिटी चितवनको प्रथम जिल्ला भेला एवम प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
भरतपुर अस्पातलमा आयोजित कार्यक्रममा नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियन जिल्ला कमिटी चितवनका अध्यक्ष रुकुम श्रेष्ठको अध्यक्षता र एकिकृत ट्रेड यूनियन महासंघ नेपालका केन्द्रिय उपाध्यक्ष सुनिता थापाको प्रमुख अतिथीमा भेला सम्पन्न भएको थियो ।
कार्यक्रममा बोल्दै अध्यक्ष श्रेष्ठले चितवन स्थित भरतपुर अस्पतालमा विगत लामो समयदेखि कार्यरत रहेका श्रमिकहरुको सामाजिक सुरक्षाको नाममा फर्म भरि विभिन्न समयमा लगेको र अहिलेसम्म न कुनै सुचना वा कार्ड उपलब्ध गराएको भन्दै अस्पताल प्रशासन प्रति आक्रोश व्यक्त गरेका थिए । साथै श्रम कानून अनुसार वार्षिक विदा विरामी विदा, ग्रेडर, सार्वजनिक विदा लगायतका सेवा सुविधाबाट हामी सम्पूर्ण श्रमिकहरू वञ्चित भएकोले ऐन अनुसार हामीले पाउनुपर्ने सेवा सुविधा उपलब्ध गराउन माग गरेका थिए । कार्यक्रममा उनले भनेका अनुसारकानूनी दायित्व श्रमिक आपूर्तिकर्ताको हो, मुख्यरोजगारदाता भरतपुर अस्पतालले पनि आफ्नो कानूनी दायित्व वहन नगरेको अवस्था छ । श्रम ऐन, २०७४ ले श्रमिक आपूर्तिकर्ता र मुख्यरोजगारदाता दुवैको आ–आफ्नो दायित्व स्पष्ट गरेको छ। तर सो कानूनी दायित्व हालसम्म दुवैले बहन नगरेकोले हामी सेवा सुविधाबाट बन्चित भएका छौ । ”
कार्यक्रमका प्रमुख अतिथी तथा वक्ताहरुले श्रम ऐन अनुसार रोजगार सम्झौता गरी काममा लगाउन श्रमिक आपूर्तिकर्तालाई अनुरोध गर्दै सामाजिक सुरक्षा कोषमा दाखिला गर्न बिचमा छुटेको योगदान रकम कुन श्रमिकको कति महिनाको छुटेको हो सो समेत स्पष्ट रूपमा खुलाई कोषमा दाखिला गरिदिनु हुन अनुरोध गरि श्रमिकहरुले पाउनुपर्ने कानून अनुसार सेवा सुविधा उपलब्ध गराउन जोडदार माग राखेका थिए । कार्यक्रमको विशिष्ठ अतिथी नेपाल सुरक्षा श्रमिक ट्रेड यूनियनका केन्द्रिय अध्यक्ष प्रेम बहादुर कार्की, नेपाल एकिकृत होटल क्यासिनो तथा रेष्टुरेण्ट मजदुर युनियनका अध्यक्ष दिनेश घिमिरे, बाग्मती प्रदेश अध्यक्ष गोविन्द प्रसाद अर्याल, केन्द्रिय उपाध्यक्ष डिक बहादुर तमाङ, महासङका जिल्ला अध्यक्ष उदयचन्द्र अर्याल लगायत अन्य थुप्रै अतिथीहरुले आ–आफ्नो धारणा व्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस