आज: २०८१ मंसिर १९, बुधबार | Wed, 04, Dec, 2024

सडकले साहस देखाउँछ, सत्ताले अहङ्कार 


  • आक्रमण न्युज
  • २०८१ कार्तिक २३, शुक्रबार मा प्रकाशित ३ हफ्ता अघि
  • १३२ पाठक संख्या
  • कार्तिक २३, २०८१/प्रभातराज पाण्डे

    नेपाली संविधानलाई तत्कालीन संविधानसभाले अनुमोदन गरेको आरोप वर्तमान संविधानको जन्मसँगै लाग्दै आएको छ । मतपत्रको माध्यमबाट सुधार गर्न सक्ने संविधानले मुलुकको समस्या समाधान सम्भव नदेख्ने शक्तिले गणतन्त्रलाई बिदा दिएर राजतन्त्र ल्याउने उद्घोष सडकबाट गरेपश्चात् हाइब्रिड परिवर्तनका सेयर होल्डरहरूमा विचित्रको तनाव उत्पन्न भएको छ । सडक विद्रोहका मुखियाले तत्काल कुनै ठुलो सफलताको अपेक्षा नगरेको आन्दोलनमा उर्लिएको मानव सहभागिताले परिवर्तनकारीको रङ्ग खुइलिएको देखिएको छ । जसले गर्दा वर्तमान व्यवस्थाको आयु सकिएकै हो त भन्ने गम्भीर प्रश्नले मुलुकवासीको ध्यान खिचिरहेको छ ।

    मुलुकको राजनीतिक इतिहास गौरवशाली छ । यद्यपि नेपाली जनता सदियौँदेखि ठगिँदै आएका छन् । स्वदेशी, विदेशी राजनीतिक शक्ति र व्यक्तिद्वारा उनीहरूको रणनीतिक दुरुपयोग हुँदै आएको छ । फलस्वरुप मुलुकवासीले लोकतन्त्र खोज्दा गणतन्त्र भिडाइएको छ । सुशासन खोज्दा मिति र औचित्य सकिएका ‘सोकल्ड’ नेता बोक्न विवश पारिएको छ । विकास र समृद्धि खोज्दा भ्रष्टाचार भिडाइएको छ । आर्थिक उन्नति र प्रगति चाहँदा थाप्लोमा आन्तरिक र बाह्य ऋण बोकाइएको छ । नवऔपनिवेशिक शक्तिलाई राम्रो ज्ञान छ कि पूर्ण लोकतान्त्रिक व्यवस्था र सभ्य समाजमा उसको उपस्थितिको असर र प्रभावको दायरा साँघुरो हुन्छ । त्यसैले रणनीतिक गरिबी, भ्रष्टाचार, कुशासन, अराजकता, अस्थिरतामार्फत आफ्नो एकल उपस्थितिको आधार निर्माण गरिएको छ । जसको विरुद्ध निस्कने झिल्को, विद्रोह, आन्दोलनलाई मत्थर पार्न या दबाउन स्वार्थी र अवसरवादीहरूको उत्पादन गरिएको छ । दुर्भाग्यवश मुलुक र सर्वसाधारण नागरिक नवऔपनिवेशिक शक्तिको चक्रब्युहमा परेको बुझ्न सकिरहेका छैनन् । नवऔपनिवेशिक शक्तिले आफ्नो निरन्तरताको निम्ति कुन हदसम्म जान सक्छ भन्ने बुझ्न एक पटक अमेरिकी राजनीतिको विरुप अनुहार हेर्नु जरुरी छ ।

    भारतको ढाडमा टेकेर चीनको टाउकोमा हान्ने अमेरिकी नीति बुझेर पनि त्यसबाट जोगिन सक्ने तागत भारतसँग आजको दिनमा देखिँदैन । यद्यपि मोदीको भारत नेपाल मामिलामा उदार छैन । भारतलाई ‘वास्तविक हिन्दुराष्ट्र’मा परिणत गर्ने इच्छाले नवऔपनिवेशिक शक्तिको दलाली गर्न तयार छ । जसको राजनीतिक बाछिटा नेपालको राजनीतिमा पर्नु स्वाभाविक छ । नवऔपनिवेशिक शक्तिको नेता अमेरिकालाई राम्रोसँग थाहा छ, भारत एक कमजोर लोकतन्त्र हो । भारतको असङ्ख्य त्रुटिहरूले निम्त्याउने समस्या सडकमा पोखिएको सिंहदरबारले अनदेखा गरिरहेको छ । यस विश्लेषणले के सङ्केत गर्छ भने चीनले आफ्ना बाधाहरू फुकाउन सामान्य कोसिस गर्दा मुलुकमा नयाँ हलचल हुनेछ, जसले राजावादी शक्तिलाई थप भ्रममा पारिरहेको छ ।

    ०४७ को राजनीतिक परिवर्तनपश्चात् अमेरिकी रणनीतिकारहरूले भू(राजनीतिक लाभ प्राप्त गर्न भू(अर्थशास्त्र प्रयोग गर्न डाक्टर महत फेला पाऱ्यो । ततपश्चात् आर्थिक उपकरणहरूको एक विस्तृत मेनु पस्किँदै लगानी, पूर्वाधार परियोजनाहरू प्रवर्द्धन वा अवरुद्ध र प्रविधि युद्धहरूको पासोमा मुलुक पारिएको भर्खरै सिंहदरबारले बुझ्दै छ, भोग्दै छ । कमजोर अर्थतन्त्रको विरुद्धमा काम गर्दा बलियो अर्थतन्त्रहरूलाई मात्र उपयुक्त हुने भू–अर्थशास्त्रको एक विकृत रणनीतिक खेलले मुलुकलाई कसरी खोक्रो बनायो भन्ने थाहा पाउँदै छ । मुलुक भारत, चीन र अमेरिकी प्रतिस्पर्धाको चेपुवामा परिसकेको छ । अमेरिका(चीन प्रतिस्पर्धाको केन्द्रबिन्दुमा नेपाली भूगोलको खोजी भइरहेको छ । इन्डो–प्यासिफिक रणनीतिअन्तर्गत प्रशान्त(हिन्द महासागर अमेरिकी रणनीतिको चुनौतीबाट मुलुक पन्छिन सकिरहेको छैन । भारत र चीनले गरिरहेको अकल्पनीय परिवर्तनलाई कसरी आर्थिक अवसरमा परिणत गर्न सकिन्छ भन्ने मुद्दामा मुलुक प्रवेश गर्न समेत सकिरहेको छैन । दक्षिण एसिया क्षेत्रमा भइरहेको चीनको कनेक्टिभिटी, विकास साझेदारी र क्षेत्रीय व्यापारको नयाँ दृष्टिकोणले मुलुकलाई पिरोलिरहेको छ ।

    मुलुकले एउटा मजबुत, निष्पक्ष र लोकतान्त्रिक संस्थाको आवश्यकता महसुस गरिरहेको छ । दुर्भाग्यवश ‘राजतन्त्र’ फर्किने सम्भावना टाढा छ । मुख्यतया छिमेकी मुलुकहरूको आन्तरिक स्वार्थ, शिक्षित वर्गको स्वार्थीपन र नवऔपनिवेशिक शक्तिको असहमतिको बाबजुद मुलुकमा राजतन्त्रको पुनरागमन धेरै टाढाको विषय हो भन्ने राजा ज्ञानेन्द्रले बुझिसकेको हुनुपर्छ । नव औपनिवेशिक शक्तिको एजेन्डा चटक्क बिर्सिंदा, परिबन्दले पटक(पटक राजा बनाइएका ज्ञानेन्द्रलाई लागेको हुन सक्छ । मुलुक थप ओरालो लाग्दै छ । मुलुकको आन्तरिक र बाह्य ऋण उकालो चढ्दै छ । देशभक्ति र राष्ट्रवाद दुब्लाएको छ । नेपाली भाषा, सनातन धर्म, संस्कृति, परम्परा र मौलिकपनमाथिको आक्रमण तीव्र बनाइएको छ । युवा पलायन अनियन्त्रित बन्दैछ । विकास निर्माण ठप्प छ । साधारणतर्फको खर्च काबुबाहिर जाँदै छ । मुलुकको आम्दानी र उत्पादन घट्दै छ । मुलुकको तागत र हैसियत खस्किँदो छ । सुशासन एकादेशको कथा बनिसकेको छ । भ्रष्टाचार कला बनिसकेको छ । अर्थात्, आफूले जनताको नासो जिम्मा लगाउनुअघि तत्कालीन सत्ता र आफूमाथि लगाइएको आरोप झुटो सावित भएको छ । प्रस्ट र सर्वसाधारणले बुझ्ने भाषामा भन्दा षडयन्त्र–सिद्धान्तले सत्ता त्याग्न बाध्य भएको समयभन्दा वर्तमान विभत्स छ ।

    यतिबेला हाइब्रिड परिवर्तनको रङ्ग उडेको छ । सोकल्ड शीर्ष नेतृत्व डुङ्डुङ्ती गन्हाएका छन् । जनता बेथितिबाट मुक्ति खोज्दै छन् । यस्तो अवस्था आफ्नो निम्ति अनुकूल छ भन्ने राजा ज्ञानेन्द्रलाई लागेको हुन सक्छ । उल्लेखित विकृति, विसंगति र अराजकतालाई राजा ज्ञानेन्द्रले वैधानिक राजतन्त्र पुनरागमनको उपयुक्त समय आएको ठान्नु भुल हुनेछ । यद्यपि मुलुकले एउटा मजबुत, निष्पक्ष र लोकतान्त्रिक संस्थाको आवश्यकता महसुस गरिरहेको छ । दुर्भाग्यवश ‘राजतन्त्र’ फर्किने सम्भावना टाढा छ । मुख्यतया छिमेकी मुलुकहरूको आन्तरिक स्वार्थ, शिक्षित वर्गको स्वार्थीपन र नवऔपनिवेशिक शक्तिको असहमतिको बाबजुद मुलुकमा राजतन्त्रको पुनरागमन धेरै टाढाको विषय हो भन्ने राजा ज्ञानेन्द्रले बुझिसकेको हुनुपर्छ ।

    निश्चित उत्तरहरूको अभावमा अनुत्तरित प्रश्नहरू थुप्रिएर रहन्छन् भन्ने राजा ज्ञानेन्द्रले बुझिसकेका छन् । राजा वीरेन्द्रको वंशनासपश्चात् आफूलाई बदनाम गर्दै सत्तामा विराजमान किन गराइयो ? संवैधानिक राजसंस्थालाई राज्यसत्ता हातमा लिन बाध्य पार्ने शक्तिले षडयन्त्रमूलक ढङ्गले कसरी सत्ताच्युत गर्न सहयोग गऱ्यो भन्ने बुझेका राजा ज्ञानेन्द्रले वर्तमान समय राजतन्त्र पुनर्स्थापनाको निम्ति उचित समय हो भन्ने सोच्दैछन् भन्न सकिँदैन । उनले बुझेको हुनुपर्छ( सडकले केवल साहस देखाउँछ तर सत्ताले सदैव अहङ्कार प्रदर्शन गरिरहन्छ । तत्कालीन सत्तालाई जुन शक्तिले बिदा गर्न अहम् भूमिका निभायो उसैले ल्याउन चाहेमा मुलुकले फेरि एक पटक राजसंस्था स्वीकार गर्नेछ । अन्यथा नवऔपनिवेशिक शक्तिले राजा ज्ञानेन्द्रलाई देखाएर सिंहदरबारसँग डरलाग्दो बार्गेनिङ गर्ने निश्चित छ, जसबाट राजा ज्ञानेन्द्र जोगिनु मुलुकको हितमा हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%५%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट