आज: २०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

न्यायालय माथि कलङ्क


  • आक्रमण न्युज
  • २०८२ अषाढ ३, मंगलबार मा प्रकाशित ११ महिना अघि
  • ३७१ पाठक संख्या
  • मान्छेलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको जघन्य अपराधमा कांग्रेस नेता एवं पूर्वमन्त्री अफताब आलमलाई जिल्ला अदालत रौतहटले गरेको जन्मकैदको फैसलालाई उल्टाएर उच्च अदालत जनकपुरको वीरगन्ज इजलासले सफाइ दिएको छ ।

    १७ वर्षअघिको संविधानसभा निर्वाचन प्रभावित गर्न आफैँले बनाउन लगाएको बम विस्फोट हुँदा घाइते भएका स्थानीय युवाहरूलाई जिउँदै इँटाभट्टामा हालेर हत्या गरेको अभियोगमा ६ वर्षदेखि जेलमा रहेका आलमलाई उच्च अदालतले सफाइ दिएपछि न्यायालयको छविमा कालो धब्बा लागेको छ । नेपालकै न्यायिक इतिहासमा यो फैसला कतंकको रुपमा रहने छ ।

    जिल्ला अदालतले आलमलाई दोषी ठहर गर्दा मानेको प्रमाणलाई उच्च अदालत वीरगन्जले आँखा चिम्लिएर फैसला गरेको छ । यसले अनुसन्धान, अभियोजन र न्यायिक प्रक्रियामा गम्भीर प्रश्न उठाएको छ । यस्तो फैसला गर्ने न्यायाधीश उपर न्याय परिषद्ले कडा कानुनी कारबाही गर्नुपर्ने माग चारैतिरबाट उठेको छ ।

    जिल्ला अदालतले घटनाका प्रत्यक्षदर्शी र बम विस्फोटका घाइतेले प्रहरीलाई दिएको बयान, घाइतेको घाउ जाँचपछिको फरेन्सिक रिपोर्ट, घाइतेलाई इँटाभट्टामा पु¥याउन प्रयोग भएको ट्रयाक्टरको पहिचान, प्रहरी इन्स्पेक्टरले नै बम विस्फोटपछि धुवाँको मुस्लो प्रत्यक्ष देखेकोलगायतका प्रमाणलाई आधार मानेर आलम दोषी ठहर गरेको थियो । २०६४ चैत २८ गते संविधानसभा निर्वाचनमा रौतहट क्षेत्र नं. २ बाट कांग्रेस उम्मेदवार बनेका आलमले चुनाव जित्नका लागि बम विस्फोट गराउने, जनता तर्साउने र बुथ कब्जा गर्ने उद्देश्यले अघिल्लो दिनको साँझ निहत्था युवालाई बम बनाउन प्रयोग गरेका थिए ।

    राजपुर नगरपालिका वडा नं. २ स्थित शेख इन्द्रिस (आलमका काका)को गोठमा बम बनाउँदै गर्दा बम विस्फोट भएर भारतीयसहित केही युवाको मृत्यु भएको थियो भने, कैयौँ घाइते भएका थिए । घटना गुपचुप पार्न आलमकै व्यवस्थापनमा घाइतेहरूलाई समेत बेहोस हुने सुई लगाएर बोरामा प्याक गरी ट्रयाक्टरमा लोड गरेर आलमकै दाइ मुस्ताफको इँटाभट्टामा जिउँदै जलाएर मारिएको थियो । दुई नेपाली युवा रौतहटकै यमुनामाई, सरुहट्ठाका २२ वर्षीय त्रिलोकप्रताप सिंह र ओसी अख्तरलाई पनि घाइते अवस्थामै इँटाभट्टामा जलाएर हत्या गरिएको मुद्दामा जिल्ला अदालत रौतहटले २०८१ वैशाख १३ गते आलमसहित चार अभियुक्तलाई जन्मकैद हुने फैसला गरेको थियो ।

    तर, उक्त फैसलाले आफूमाथि अन्याय भएको भन्दै आलम उच्च अदालत पुगेका थिए । ०५१, ०५६, ०६४ र ०७४ मा प्रतिनिधिसभा सांसद भएर पटक–पटक मन्त्रीसमेत बनेका कांग्रेसका नेता आलमको मुद्दा उच्चका न्यायाधीशद्वय खुसीप्रसाद थारू र अर्जुन महर्जनको संयुक्त इजलासले सुनियोजित ढंगले जिल्लाको फैसला उल्ट्याइदियो । आलमको पक्षमा फैसला गर्ने खुसीप्रसाद थारू कांग्रेसकै कोटामा न्यायाधीश बनेका हुन् ।

    थारूले यसअघि विशेष अदालतको न्यायाधीश हुँदा २०८० फागुनमा बालुवाटार जग्गा हिनामिना प्रकरणमा कांग्रेस नेता विजय गच्छदारलाई पनि सफाइ दिएका थिए । ‘बालुवाटार जग्गा प्रकरणको निर्णय प्रक्रियामा संलग्न गच्छदारलाई मुद्दा चलाएर कार्यपालिकाको स्वतन्त्रतामा हस्तक्षेप गरेको’ भन्ने टिप्पणी फैसलामा गरिएको थियो ।

    घटनाको १२ वर्षसम्म पीडित परिवारको आवाज राज्य संयन्त्रले नै दबाएको थियो । सुरुमा प्रहरीले अनुसन्धानमै आनाकानी गरेको थियो । पीडित पक्ष सर्वोच्च अदालत पुगेपछि सर्वोच्चकै आदेशपछि अनुसन्धान सुरु भएको थियो र आलम पक्राउ परेका थिए । आलमले स्थानीयबासीमा त्रास फैलाएको र दबदबा कायम गरेको आरोप छ । आफूलाई पक्राउ गर्ने प्रहरी अधिकारीले गल्ती गरेको भन्दै आलमले ‘जिल्लामा आगो लाग्ने’ धम्कीसमेत दिएका थिए ।

    ओसी अख्तरको न्यायका लागि गौर, हेटौंडा र काठमाडौं धाइरहेकी उनकी आमा रुक्सनालाई २०६७ माघमा गोली हानी हत्या गरिएको थियो । उक्त हत्याकाण्डको हालसम्म गहन अनुसन्धान भएकै छैन । पीडित परिवार र न्यायका लागि सहयोग गरेका व्यक्ति तथा संस्थाको सुरक्षाप्रति संशय बढेको छ । अझ अदालतमा मुद्दा विचाराधिन रहेकै बेला कांग्रेस सभापति शेरबहादुर देउवाले आलमलाई छुटाउन पहल गर्ने आश्वासन उनका समर्थकलाई दिएका थिए । यो मानवताविरुद्धको अपराध हो ।

    जिल्ला र उच्च अदालतको फैसला बाझिएपछि पुनरावेदनमा जाने बाटो बाँकी छ । जघन्य अपराधको घटनाका अभियुक्तमाथि विपरीत फैसला आएपछि न्यायपालिकामाथि पनि प्रश्न उठेको छ । यस विषयमा न्यायिक नेतृत्वको ध्यान पुग्नुपर्छ । सरकारी वकिलले टिम नै बनाएर आवश्यक तयारी गरी सर्वोच्चमा पुनरावेदन गर्नुपर्छ । न्यायालयले पीडित नागरिकलाई थप पीडा होइन, न्याय दिनुपर्छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट