
नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले सक्रिय राजनीतिमा आउने बाटो बन्द गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार पत्रकार सम्मेलन गरी आफू कुनै हालतमा पछि नहट्ने ‘काउन्टर’ जवाफ फर्काइन् ।



त्यतिमात्र होइन, भण्डारीले आफ्नो पार्टी सदस्यता जननेता मदन भण्डारीले दिएको र निरन्तर ४५ वर्षदेखि सक्रिय रहेकाले कसैले खान नसक्ने चेतावनी पनि दिइन् । जबकि, एमाले केन्द्रीय कमिटी बैठक लगत्तै भण्डारीको सदस्यता खारेज गर्दै रेकर्डबाटै हटाइसकेको एमाले नेताहरूले बताइसकेका छन् ।
एमालेको संस्थापन पक्ष भण्डारीलाई जसरी पनि सक्रिय राजनीतिमा आउन नदिने पक्षमा छ । तर नआइ नछाड्ने भण्डारीको अडानले आगामी दिनमा एमालेभित्र समानान्तर गतिविधि बढ्ने संकेत देखिँदै गएका छन् । भण्डारीले मदन भण्डारी फाउन्डेसनमार्फत समानान्तर गतिविधि अघि बढाउनसक्ने संस्थापन पक्षका नेता कार्यकर्ताको बुझाइ छ ।
भण्डारी पक्षको गतिविधि रोक्न संस्थापन पक्षले उनको पक्षमा लाग्ने नेता कार्यकर्ताहरूलाई स्पष्टीकरण सोध्ने र निलम्बन गर्ने रणनीति लिएको देखिन्छ । जसका कारण नेता कार्यकर्ताहरू भण्डारीको पक्षमा नखुलुन् भन्ने एमालेको अपेक्षा देखिन्छ ।
सोही रणनीति अनुसार नै एमालेले भण्डारीको पक्षमा अभिव्यक्ति दिँदै आएका युवा संघका दुई जना नेतालाई कारबाही गरेर समानान्तर गतिविधि रोक्ने संकेत देखाइसकेको छ । यद्यपि, युवा संघले उनीहरूलाई कुनै नेता वा गुटमा लागेको आधारमा नभई अनुशासन र ठगीको उजुरीका आधारमा कारबाही गर्नुपरेको दाबी गरेको छ ।
युवा संघले लुम्बिनी प्रदेश अध्यक्ष सुरज खरेल र केन्द्रीय सदस्य युवन्तिका राईलाई शुक्रबार निलम्बनको कारबाही गरेको हो । खरेल र राईले विद्या भण्डारी पक्षलाई समर्थन गरेका कारण आफूहरूमाथि कारबाही भएको दाबी गरेका छन् ।
विद्या भण्डारीले शुक्रबार काठमाडौँमा पत्रकार सम्मेलन गरेर आफू एमालेको सक्रिय राजनीतिबाट पछि नहट्ने घोषणा गरिरहँदा एमाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली भने मधेस प्रदेशको सुक्खाग्रस्त क्षेत्रको अवलोकनमा गएका थिए ।
शुक्रबार बेलुका मधेसबाट फर्केका ओलीले शनिबार कर्णाली र सुदूरपश्चिम प्रदेशका नेताहरूसँग भेटवार्ता गर्दै भण्डारीको राजनीतिक सक्रियताबारे पुनः असन्तुष्टि जनाए । त्यो भेटमा ओलीले विद्या भण्डारीलाई कसैले उचालेको भन्दै त्यसले स्वयं भण्डारी र सिङ्गो नेकपा एमालेलाई फाइदा नपुग्ने प्रस्ट पारे । उनले पार्टीलाई एक ढिक्का बनाएर लैजानुपर्ने जिम्मेवारी एमाले नेता कार्यकर्ताको काँधमा रहेकोमा जोड दिए ।
शनिबार राति बालुवाटार पुगेका कर्णाली प्रदेशका केही नेताहरूसँग ओलीले भने, ‘जिरोबाट पार्टीलाई यो अवस्थामा ल्याइयो । पार्टी र सरकारले राम्रो काम पनि गरिरहेको छ तर यही वेला कमजोर बनाउने प्रयत्न विभिन्न ढंगले भइरहेका छन् । यो राम्रो होइन ।’


प्रतिक्रिया दिनुहोस