
नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिच बढ्दै गएको अन्तरविरोध स्थायी रूपमा हल हुन नसक्दा नेता-कार्यकर्तामा अन्योल देखिएको छ । शर्माले पार्टीभित्र जनवाद हराएको र केन्द्रीयता मात्र बाँचेको आरोप लगाएपछि अध्यक्ष प्रचण्ड चिढिएका छन् । अन्य पार्टीको तुलनामा माओवादीभित्र उच्चतम जनवादको प्रयोग भएको दाबी गर्दै प्रचण्डले पूर्व नेताहरू मोहन वैद्य किरण, डा. बाबुराम भट्टराई, रामबहादुर थापा लगायत नेताहरूलाई पार्टी कारबाही नगरिएको प्रष्टीकरण सार्वजनिक रुपमै दिए ।
नेपाल कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलालको ४७ औं स्मृति दिवसको अवसरमा यी दुई शीर्ष नेताबिचको झगडाले अहिले सामाजिक सञ्जाल तातिएको छ । नेता तथा कार्यकर्ताहरू एकअर्काविरुद्ध आरोप–प्रत्यारोपमा उत्रिएका छन् । माओवादीभित्र पछिल्लो समय देखिएको घरझगडा वैचारिक, सैद्धान्तिक हो वा व्यक्तिगत तथा गुटगत स्वार्थमा आधारित हो भन्नेमा नेताहरूले आ–आफ्नै तर्क गरेका छन् । उपमहासचिव शर्माले विगत दुई वर्षदेखि माथिल्लो तहबाट नै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गरी कार्यकर्ता र जनतालाई भ्रम छरिएकोप्रति सचेत रहन आग्रह गरेका छन् । पछिल्लो केन्द्रीय समिति बैठकको एजेण्डा आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने भएकाले विचार केन्द्रित बहस गर्न समेत आग्रह गरेका छन् ।
‘यतिबेला सिङ्गै देश, जनता र राजनैतिक पार्टीहरू गम्भीर संकटबाट गुज्रिरहेका छन् । यसको समाधान संविधानको संशोधन, अर्थतन्त्रको पुनर्संरचना र पार्टीको पुनर्गठन नै हो’, मंगलबार उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘विगत दुई वर्षदेखि माथिल्लो तहबाटै लगातार पार्टी फुट्छ भन्ने गरिएको प्रचारलाई यतिबेला थप मलजल गर्दै पार्टी कार्यकर्ता र जनतामा भ्रमको खेती गर्नेहरूप्रति सचेत हुन आग्रह गर्दछु ।’
अर्का उपमहासचिव वर्षमान पुनले पार्टीभित्र जनवादको उपयोग गरी पर्याप्त छलफल भएको जिकिर गर्दै बाहिर गएर नेतृत्वलाई कमजोर बनाउने वा खुइल्याउने प्रवृत्ति स्वीकार्य नहुने बताइसकेका छन् ।
पर्याप्त जनवाद, छलफल पनि गर्ने अनि आफ्नो कुरा फेरि बाहिर पनि राख्ने भन्दा यसले पार्टीभित्र अराजकता ल्याउँछ । यसले पार्टीभित्र अनावश्यक गुटबन्दीहरू, ध्रुवीकरणहरू, पार्टी रूपान्तरण हुने दिशामा जान्छ । नेतृत्वलाई जस्तोसुकै राम्रो काम गर्दा, जनतामा जाँदा, जनताले स्वीकार गर्दा पनि व्यक्तिगत आरोप, लाञ्छना जस्तो लिडरसिपलाई कमजोर गर्ने जस्ता जो प्रवृत्ति छ, त्यो स्वीकार्य हुँदैन’, पार्टीको आधिकारिक भिडियो मार्फत उनले भनेका छन् । अर्का उपमहासचिव हरिबोल गजुरेलले पछिल्लो समय मुख्यतः भ्रष्टाचार विरोधी अभियानलाई अगाडि बढाउँदा अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीबाट राजीनामा दिनुपरेको यथार्थलाई बिर्सन नमिल्ने विचार राखेका छन् । जसको जे हो त्यही भन्नुपर्छ, ‘गु र गोबर’ एकै ठाउँमा मिसाउन नमिल्ने उनको तर्क छ ।
‘केही दिन यता सार्वजनिक मञ्चबाट ‘मनमोहन बाहेक सबै कम्युनिस्ट प्रधानमन्त्री भ्रष्ट हुन्’ भन्ने अभिव्यक्ति निरन्तर आइरहेको छ । युवाहरूको ‘ताली’ पाएपछि झन् हौसिएर चर्को भाषण पनि चलिरहेकै छ’, रातोपाटीमा उनले लेखेका छन्, ‘कर्मको आधारमा होइन, पिंढी र उमेरको हवाला दिएर सही गलत छुट्ट्याउने कोसिस गरिँदैछ । सामाजिक खपतका लागि जे भनेर भ्रम पार्न सकिन्छ त्यही भनिंदैछ । निराशाको व्यापार गरेर आफूलाई अब्बल साबित गर्न खोजिंदै छ । तर यो चल्नेवाला छैन ।’ माओवादीका सचिव राम कार्की नेपालका कम्युनिस्ट पार्टीमा स्वाभाविक रूपमा केन्द्रीयता नभई जनवाद प्रमुख हुने बताउँछन् । अग्रदस्ता पनि अब लुम्पेनहरू, अर्धसर्वहाराहरू कम्युनिस्ट पार्टीमा खुब अगाडि आएको उनले विश्लेषण गरे । यसलाई सुधार गरी समाजको विलक्षण पढे–लेखेका, तेजतराज व्यक्ति पार्टीमा आउनुपर्ने धारणा राख्छन् । कार्कीले नेपालमा कहिल्यै पनि संगठनात्मक सिद्धान्तको बारेमा छलफल नभएको जिकिर गरे ।
‘सबैले जनवादी केन्द्रीयता भन्ने । अझ कस्तोसम्म स्थिति आयो भने म केन्द्रमा हाबी हुँदा केन्द्रीयता ठीक किनकि, म क्रान्तिकारी हुँ । म अल्पमतमा परेँ भने जनवाद प्रधान हुन्छ । किनकि म क्रान्तिकारी हुँ । म अल्पमतमा हुँदा विद्रोह गर्नु पनि अधिकार हो । त्यहाँ जनवाद प्रमुख हुन्छ । कदाचित् म केन्द्रमा छु भने केन्द्रीयता प्रधान हुन्छ भन्ने खालको भयो नेपालमा’, कार्कीको विश्लेषण छ । तर राजनीतिक विश्लेषक डम्बर खतिवडा प्रचण्ड र प्रभाकरको झगडा खास महत्वको विषय नभएको बताउँछन् । ४० वर्षदेखि शासन गरिराखेका प्रचण्डसँग महाधिवेशन मार्फत दोस्रो व्यक्तिले पनि अध्यक्षमा प्रतिस्पर्धा गर्न पाउनुपर्ने शर्माको माग जायज भएको उनी बताउँछन् ।
‘प्रचण्ड ४० वर्षदेखि शासन गरिराखेका छन् । महाविधेशन गरेर उसले नेतृत्व छाड्नुपर्छ । अर्को मान्छेलाई पनि अध्यक्ष उठ्ने अवसर दिनुपर्छ भन्ने हदसम्म जनार्दनको कुरा ठीक हो । माओवादीले आठौं महाधिवेशन भनेपनि त्यहाँ चुनाव भएन । प्रचण्डले खल्तीबाट नै नाम निकालेर पढेको हो । अहिले २१ औं शताब्दीको आधुनिक लोकतन्त्रमा त्यस्तो महाविधेशनलाई लोकतान्त्रिक महाधिवेशन मान्न सकिँदैन’, उनले भने । कम्तीमा एमाले, कांग्रेस र अन्य पार्टीको महाधिवेशन हुने गरेको भन्दै खतिवडाले माओवादीको पछिल्लो महाधिवेशन त्यो पनि भएको जिकिर गरे । यद्यपि, भोलि शर्मा निर्वाचनबाट अध्यक्ष जितेर आएको खण्डमा प्रचण्डले भन्दा के फरक काम गर्छन् भन्नेमा ‘प्रोजेक्सन’ नदेखिएको उनको भनाइ छ ।
जहाँसम्म माओवादीभित्र जनवादको पर्याप्त अभ्यास भएको प्रचण्डको दाबीलाई खतिवडाले समर्थन गरेका छन् । विगतमा किरण, बाबुराम र बादलमाथि कारबाही भएको नभई आ–आफ्नै हिसाबले निस्किएको खतिवडा बताउँछन् । ‘प्रचण्डले कसैलाई पनि निकालेको जस्तो मलाई लाग्दैन । बाबुरामले माओवादी पार्टी नै छोड्नुभयो । विचार र कम्युनिस्ट आन्दोलन नै छोड्नुभयो भनेपछि त्यो भिन्नै सन्दर्भ भयो । मोहन वैद्य क्लासिकल कम्युनिस्ट हो । नयाँ जनवादी गणतन्त्र र जनयुद्ध चाहिएको थियो ।





प्रतिक्रिया दिनुहोस