Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

स्वार्थको द्वन्दले ब्यक्तिलाई लोभि, पापि र बेइमान बनाउने


  • आक्रमण न्युज
  • २०८२ भाद्र ७, शनिबार मा प्रकाशित १ साल अघि
  • ३८४ पाठक संख्या
  • समाज नैतिक संस्था हुनुपर्नेमा स्वार्थीहरूको भीड हुँदैछ । घृणा, द्वेष, स्वार्थ र परपीडाको दबदबा भएको हाम्रो समाज, ‘सभ्य समाज’को संज्ञा पाउन योग्य छैन । समाज भनेको सामूहिक स्वार्थ र कल्याणका लागि निर्माण हुने हो । कर्तव्य र स्वार्थको द्वन्द्वमा जब व्यक्तिगत स्वार्थ सार्वजनिक स्वार्थमाथि हावी हुन थाल्छ, तब समाजको अग्रगमनमा विराम लाग्छ । त्यसैले हाम्रा नैतिक र धार्मिक शिक्षाले परोपकार र परसेवामा जोड दिएका हुन् । तर यसका लागि नैतिक समाजको निर्माण पूर्वशर्त हुने गर्छ । मानिसहरूको प्रेरकतत्व, नियत, चरित्र र गुणमा सुधार ल्याउन नसकेसम्म ‘नैतिक समाज’ बन्न सक्दैन । ठूला नैतिक आदर्शका कुरा गर्ने स्वघोषित सन्त, गुरु र पण्डितहरू नै घोर अनैतिक र स्वार्थी काम गरेर बदनाम हुँदैछन् ।

    सार्वजनिक पदमा बस्नेहरू पदीय आडमा व्यक्तिगत स्वार्थ पूर्तिमा लागेको देखिन्छ । समाज र संस्थाको अभिभावक हुनेहरू लाभका मतियार भइरहेका छन् । यस्तो मूल्यहीन समाजमा स्वार्थको हृन्द्व कसरी रोक्न सकिन्छ ? यतिखेर एउटा सत्य के हो भने प्रायः मानिसहरू मौका पाउनासाथ झेली खेल खेल्न थालिहाल्छ । यस सन्दर्भमा अब्राहम लिंकनले भनेका थिए, ‘‘जनताले बुध्दिमत्तापूर्वक आफ्ना सेवकहरूलाई उपद्रव गर्ने कम शक्ति दिएका छन् र त्यो कम शक्ति पनि फिर्ता लिन सक्ने शक्ति आफैँले सुरक्षित राखेका छन् ।’’ स्वार्थको द्वन्द्वले नै व्यक्तिलाई लोभी, पापी र बेइमान बनाउन सक्छ । त्यसैले स्वार्थको द्वन्द्व रोकेर सभ्य समाज निर्माण एक अभियान चलाउनुपर्ने देखिन्छ ।

    हालै नेपाल सरकारले ‘स्वार्थको द्वन्द्व व्यवस्थापनसम्बन्धी ऐन’ को विधेयक मसौदा सार्वजनिक गरेको छ । जताततै स्वार्थ बाझिने काम भइरहेको स्थितिमा यसलाई नियमन गर्ने कानुन निर्माण शुरुवात हुनु सराहनीय कदम मान्नुपर्छ । नेपालमा सार्वजनिक जवाफदेहितासम्बन्धी ऐन, सूचना बाहकको संरक्षणसम्बन्धी ऐन र स्वार्थको द्वन्द्वसम्बन्धी ऐनको खाँचो छ । बहुल उत्तरदायित्व केन्द्र भएको अवस्थामा सिर्जना हुने अन्यौल निराकरण गर्न जवाफदेही हुने व्यक्तिको उत्तरदायित्व केन्द्रहरूबीचको सम्बन्ध, कमान वा आदेश बाझिएमा कोप्रति उत्तरदायी हुने ?, उत्तरदायित्वको सोपान (हाइरार्की) र यसका मान्य सिध्दान्त समेटिएको कानुन अझैसम्म बन्न सकेका छैनन् । त्यस्तै सूचनाबाहक सम्बन्धमा सूचनाको हकसम्बन्धी ऐनमा एक दफामा छोटो व्यवस्था गरे पनि सूचनाबाहकको संरक्षणसम्बन्धी छुट्टै ऐन जारी नभएसम्म भ्रष्टाचार र अनैतिक कामको ‘ह्विसल ब्लो’ गर्न संगठनभित्रका कर्मचारीहरू आँट गर्दैनन् ।

    संयुक्त राज्य अमेरिकाको कांग्रेसको ८५औँ बैठकले सरकारी कर्मचारीका लागि ‘कोड अफ इथिक्स’ जारी गरेको थियो । त्यसमा भनिएको थियो, व्यक्ति, दल र सरकारी विभागप्रति वफादारीभन्दा नैतिक सिध्दान्त र देशप्रति वफादार रहने, संयुक्त राज्य अमेरिकाको संविधान, कानुन र नियमहरूप्रति निष्ठा राख्ने र यसको अतिक्रमणमा मतियार नहुने, भ्रष्टाचार जहाँसुकै थाहा पाएपनि सार्वजनिक गर्ने, सार्वजनिक कार्यालय जनताको नासो हो भन्ने सिध्दान्तलाई स्वीकार्ने । त्यहाँ ‘व्हिसल ब्लो प्रोटेक्सन एक्ट’ले भ्रष्टाचार र अन्य अनैतिक कामको सूचना दिएको अवस्थामा संरक्षणको प्रभावकारी प्रबन्ध गरेको छ । नेपालमा हाल अत्यावश्यक मानिएका ऐनमध्ये स्वार्थको द्वन्द्वसम्बन्धी विधेयकका मस्यौदा तयार पारी प्रतिक्रिया तथा सुझावका लागि सार्वजनिक भएको छ । अब यसमा राम्रैसँग चिन्तन मनन गरेर, विज्ञ परामर्श समेटेर परिपक्व ऐन जारी गर्न सक्नुपर्छ ।

    स्वार्थको द्वन्द्व वा स्वार्थ बाझिने काम तब हुन्छ जब कुनै व्यक्तिको व्यक्तिगत स्वार्थले उसको कार्यस्थलमा हुने निर्णय, कार्य र इन्साफमाथि सम्झौता गर्न थाल्छ । अक्सफोर्ड डिस्नेरीले यसलाई ‘‘यस्तो अवस्था जहाँ सार्वजनिक हैसियतमा गरिएका निर्णय र काम–कारबाहीले व्यक्तिगत लाभ प्राप्त हुन्छ’’ भनी अर्थ्याएको छ । सार्वजनिक धारण गर्ने व्यक्तिको व्यक्तिगत स्वतन्त्रता संकुचित हुन जान्छ । यस्तो किन हुन्छ भने सार्वजनिक जिम्मेवारी लिनेले व्यक्तिगत लाभ भन्दा सार्वजनिक स्वार्थमा काम गर्ने प्रतिबध्दता व्यक्त गरेको हुन्छ । सपथ वा सम्झौताद्वारा उनीहरूले सार्वजनिक स्वार्थ र हितलाई सर्वोपरि मान्ने प्रतिज्ञा गरेका हुन्छन् । यो प्रतिज्ञाविपरीत निजी स्वार्थमा काम गर्नु घोर अनैतिक काम मानिन्छ ।

    ग्रिक दार्शनिक सोक्रेटिसले सरल नैतिक नियमहरूको चर्चा गर्दै कर्तव्यहरूबीच द्वन्द्वको स्थितिमा तीन नियमहरू कसैलाई हानी नपुर्याउने, आफ्नो बचनको पालना गर्ने र आफ्ना गुरु र बाबु–आमाको आज्ञा पालना गर्ने शिक्षा दिएका छन् । नियुक्त वा निर्वाचित हुँदा गरिएको सपथ र प्रतिबध्दताको उल्लङ्घन गर्नु भनेको आफ्नै वचन तोड्नु हो । दार्शनिक कान्टले ‘‘झुठो वा धोखापूर्ण प्रतिज्ञा गर्नु गलत हो र आफूलाई फाइदा हुने भएपछि प्रतिज्ञा तोड्नु भनेको अक्षम्य अपराध हो’’ भनेका छन् । त्यसैले सार्वजनिक पदाधिकारीहरूले निजी लाभका काम गरेमा उसको प्रतिष्ठामा ह्रास आउने मात्र होइन उसले त्यो पदमा रहने योग्यता नै गुमाउँछ ।

    स्वार्थको द्वन्द्व सिर्जना हुन नदिन नैतिक नियम, सिध्दान्त, आदर्श र सद्गुणहरूले दिग्दर्शन गरिरहेको हुन्छ । दार्शनिकहरूका दर्शन, हाम्रा धार्मिक र अध्यात्मिक शिक्षा तथा समाजका नैतिकवान आदर्श व्यक्तिहरूबाट धेरै सिक्न सकिन्छ । श्रीकृष्णको गीता दर्शन, बुध्दले भनेका दुश्कर्म र शील, सोक्रेटिस्, कान्ट, लाओत्सु, कन्फ्युसियसका शिक्षाबाट के गर्ने र के नगर्ने ज्ञान प्राप्त हुन्छ । तर, यी दर्शनले भने जस्तो ‘मोरल आइडियल’ बन्न निकै कठिन कार्य हुन्छ । नैतिक आदर्श बन्न गरेर हुँदैन बन्न सक्नुपर्छ भनिन्छ । नैतिक साहस र सद्चरित्रको पराकाष्ठामा मात्र यस्तो व्यक्तित्व बन्न सकिन्छ । गीतामा भनेजस्तै ‘स्थितप्रज्ञ’ र बुध्ददर्शनमा भनिएको ‘प्रज्ञापारमिता’मा पुगेपछि नैतक आदर्श हुन सकिन्छ । कृष्ण, बुध्द, जेसस्, सोक्रेटिस जस्ता महान पुरुषहरू ‘मोरल आइडियल’ हुन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑