
भ्रष्टाचारविरुद्ध सुशासन कायम गर्न र सरकारले बन्द गरेका सामाजिक संजालहरु सुचारु गर्ने मुख्य दुईवटा तत्कालीन माग लिएर आन्दोलनमा होमिएका जेनजी युवा पुस्ताको आन्दोलनको बलमा दुई दिनमै नेपालको सरकार परिवर्तन भयो । तर, छोटो अवधिमा नै सरकार परिवर्तन गर्न नै सफलता प्राप्त गरेको यस आन्दोलनबाट भएको मानवीय तथा भौतिक क्षति भने नेपालमा विगतमा भएका अन्य आन्दोलनभन्दा अधिक देखिन्छ । यस आन्दोलनले नेपालमा सरकार मात्र परिवर्तन गरेन, भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्न राष्ट्रिय तथा अन्तराष्ट्रिय क्षेत्रमा समेत बिगुल फुक्न सफल भएको देखिन्छ । यसका उपलब्धिहरु भविष्यका लागि कति प्रभावकारी होलान् ? भन्ने विषय र यसले नेपालको विविध क्षेत्रमा पारेका प्रभावहरुको बारेमा समयक्रममा उचित मूल्यांकन हुने नै छ ।
तर, तत्काल सामान्यरूपमा हेर्दा यो आन्दोलन किन र कसरी भयो ? यसका प्रभावहरू कस्ता छन ? र अब हामीले कसरी अगाडि बढनु उपयुक्त हुन्छ ? भन्ने बारेमा केन्द्रित रहेर यहाँ सानो चर्चा गर्न जमर्को गरेको छु । नेपालमा विगत लामो समयदेखिको अस्थिर राजनीति र भ्रष्टाचारका कारण विकास निर्माणमा विगतमा अन्य हामी सँगै रहेका विकसित मुलुकको तुलनामा सोचे जति प्रगति हुन नसकेकै हो । अझ समाजमा व्याप्त नातावाद र कृपावादका कारण रोजगारीका अवसर समेत समानरूपमा वितरण हुन सकेनन् । विभिन्न सामाजिक सञ्जालको प्रयोग गरेर समाजमा चाहिने भन्दा बढी नकारात्मक भावनाको विकास र विस्तार हुँदै गयो ।
उत्पादनशीलताको कमी भएका कारण नया पुस्तामा देशभित्र रोजगारीको अवसरमा कमी भएकै हो । ग्रामीण क्षेत्रका उर्वराशील खेतबारी बाँझो राखेर युवा नागरिकहरू विदेशमा रोजगारी र अध्ययनका लागि जाने प्रचलन नै भइसकेको थियो । विदेशबाट नै राज्य संयन्त्रप्रति नकारात्मक प्रचार प्रसार गर्ने तथा राज्य भित्र समेत अत्पादनशील क्षेत्रमा भन्दा दलाली र अपराधी प्रवृत्ति चाँडो आय आर्जनमा लाग्ने नागरिक समाजको प्रवृत्ति बढदै गएका कारण लामो समयदेखि सदैव सरकार प्राय अस्थिर हुन पुग्यो । यसैकारण राजनीतिप्रति बढेको असन्तोस र अपराधीकरणका कारण नै समग्र प्रणालीमा नै सुशासनमा कमी देखियो ।
उता पुुराना र सत्तामा भएका राजनैतिक दलहरूले युवा पुस्ताको बारम्बारको माग प्रति बेवास्ता गर्दै बहुमतका आधारमा सत्ता गर्ने राजनैतिक मनोपोलीमा सुधार वा परिर्वतन गर्ने लक्षण देखिएन । यसै सन्दर्भमा भर्खरै भएका हाम्रा मित्रराष्ट्रहरू श्रीलंका ,बंगलादेशजस्ता देशहरुका डिजिटल क्रान्ति र क्रमशः त्यसको पर्दै गएको प्रभाव एकातिर बढदै थियो भने देशभित्र विकास भएको अस्थिर र विपक्षी भएपछि सत्ताको विरोधै गर्नुपर्ने अपरिपक्व राजनीतिमा सामाजिक सञ्जालको व्यापक प्रयोग र विस्तारले युवाहरूमा छुट्टै प्रभाव परेको थियो ।
कतिपय युवा उद्यमीहरूको रोजगारको आधार नै डिजिटल नेटवर्कको विस्तार र प्रयोग भैरहेको अवस्थामा नेपालमा व्यवस्थित अनुगमनका लागि दर्ता गर्नुपर्ने भनेर तिनीहरुको प्रयोगमा नै प्रतिबन्ध लगाएपछि समाजका हरेक क्षेत्रबाट राजनैतिक दल र तीनीहरुका नेताहरुको काम गराइप्रति अझ असन्तोष र आक्रोश बढेको देखिन्छ । यिनै सबै कारणले गर्दा नै भ्रष्टाचारको विरोधमा सुशासन कायम गर्ने र सामाजिक सञ्जालहरूको प्रतिबन्ध फुकुवा गर्नुपर्ने मुख्य दुई सुत्रीय मागसहित जेनजी आन्दोलन सुरु भएको थियो । शान्तिपूर्ण हुने भनिएको आन्दोलनको पहिलो दिनमा नै अशान्त देखिएको भनी भएको दमनका कारण दोस्रो दिनको जेनजी आन्दोलन गैरजेनजीसमेत सबै सबैको बन्न पुगेर सरकार नै परिवर्तन गर्न सफल भएको देखिन्छ । अब यस्तो समाजको नकारात्मक प्रवृत्तिमा भने यस आन्दोलनले जरै समेत उखेल्न कोसिस गरेको छ । आन्दोलनकारीको माग अनुसार नै विगतका भ्रष्टाचारजन्य घटनाहरुको समेत उचित छानबिन गरी कारबाही गर्न सकिएमा मात्र भ्रष्टाचार र कुशासनविरुद्ध सुशासन कायम गर्न दीर्घकालसम्म यस आन्दोलनको सन्देश सकारात्मक हुनेछ भन्ने विश्वास गर्न सकिन्छ ।
जेनजी पुस्ताका नाममा सुशासनका लागि सुरु भएको युवा आन्दोलनले दुई दिन भित्र नै उत्कर्षमा पुगेर परम्परागत राजनीतिक दलहरुलाइ घुँडा टेकाउदै सरकार नै अपदस्त गर्न पुग्यो । आन्दोलनको निकासको रुपमा हाल कायम नेपालको संविधानलाई यथावत राखी छ महिनाभित्र नयाँ प्रतिनिधि सभाको निर्वाचन गर्ने र निर्वाचित सरकारलाई सत्ता हस्तान्तरण गर्ने शर्तमा नया अन्तरिम सरकार गठन भै कार्य सञ्जालन सुरु गरिसकेको छ । तोकिएकै समयमा निर्वाचन सम्पन्न भै सत्ता हस्तान्तरण भएमा फेरि यथावत् रुपमा हालको संविधान नै कार्यान्वयनमा आउने छ र राज्य संचालनको विधि र प्रणालीमा कुनै परिवर्तन आउने छैन । तथापि दुई दिनभित्रै राज्य संयन्त्र वा सरकार नै परिवर्तन गर्नेगरी भएको यो जेनजी भनिने युवापुस्ताको आन्दोलनले समग्र राज्य प्रणालीमा नै अल्पकालीन तथा दीर्घकालीन रुपमा प्रभाव पर्नेगरी महत्वपूर्ण प्रभाव छोडन सफल भएको छ । यी प्रभावहरूलाई सकारात्मक तथा नकारात्मक गरि दुवै रूपमा लिन सकिन्छ ।
जेन जी आन्दोलनका सकारात्मक प्रभावहरु केलाउँदा पहिलो र महत्वपूर्ण प्रभाव नयाँ पुस्तामा देशको राजनीतिमा महत्वपुर्ण प्रभाव पार्नसक्ने गरी राजनैतिक चेतना विस्तार भएको छ । पछिल्लो चरणमा नेपालमा युवापुस्ताले देशको राजनीतिमा सरोकार राख्न छोडिसके भनिन्थ्यो । फेसबुकलगायत सामाजिक सञ्जालमा मात्र अल्मलिने र देशको उर्वराशील क्षेत्रमा काम नगर्ने, पढ्न वा काम गर्न विदेशमै पलायन हुने र देशमा काम गर्ने वातावरण नभएको भनेर समाजमा नैराश्यता फैलाउने समूहमा युवापुस्तालाई लिन थालिएको थियो । यी तमाम आरोपहरूलाइ चिर्दै यस आन्दोलनले नेपालको युवापुस्ता आवश्यक परेमा राजनैतिक हस्तक्षेप गर्न मात्र हैन निर्णय लिनसमेत तयार रहेको र उनीहरुको भविष्यमा आच आउने कुनै काम रोक्न लागिपर्ने सन्देश दिएको छ । यसबाट आवश्यक परेमा समग्र ऊर्जाशील युवापुस्ता उत्पादनशील तथा देश निर्माण कार्यमा लाग्न र त्यसको लागी आवश्यक वातावरण बनाउनसमेत तयार रहेको सन्देश प्राप्त भएको छ ।




प्रतिक्रिया दिनुहोस