आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

फर्किएनन विपिन


  • आक्रमण न्युज
  • २०८२ कार्तिक ३, सोमबार मा प्रकाशित ११ महिना अघि
  • २९८ पाठक संख्या
  • ०८२ भदौ पहिलो साता विपिन जोशीका आमा पद्मा र बहिनी पुष्पाले इजरायल भ्रमण गरे । दाइ/छोराको रिहाइको आशा बोकेका उनीहरू विपिन अपहरणस्थल पुगे, इजरायलका राष्ट्रपति, प्रधानमन्त्री, सभामुख, मन्त्रीहरू, सेनाप्रमुखलगायत सबै उच्च पदाधिकारीसँग भेटेर पुकारा गरे । विपिनको खबर फेला पर्ला भन्ने आस थियो, तर फेला परेन । तर, उनीहरूले फेला पारे विपिनको सुटकेस, ल्यापटप, नागरिकता र पासपोर्ट । इजरायली सेना (आइडिएफ)ले विपिन अपहरणका वेला भएका घटनाको जाँचबुझका लागि लगेको ल्यापटप आमा र बहिनीलाई उपलब्ध भयो । सुटकेसभित्र नागरिकता, पासपोर्टसहित विपिनका सामान भेट्दा उनीहरूको भक्कानो फुट्यो । विपिन थिएनन्, तर विपिनका सामान लिएर उनीहरू इजरायलबाट नेपाल फर्किए ।

    भदौ पहिलो साता इजरायलमा फेला परेको विपिन जोशीको सुटकेस, नागरिकता र पासपोर्टको साथमा इजरायलका लागि नेपाली राजदूत धनप्रसाद पण्डित इजरायलमा भेटिएको सुटकेस, नागरिकता र पासपोर्ट नै विपिनको अन्तिम चिनो बन्न पुग्यो । इजरायल सरकारको व्यवस्थापनमा गएका परिवार विपिनको चिनो लिएर भदौ पहिलो साता स्वदेश फर्कियो, तर विपिन फर्केनन् । बरु, यही सोमबार (२७ असोज) इजरायलबाट मुटु चुँडिने खबर फैलियो, विपिन दुनियाँमा रहेनन् ।

    विपिनको खबर सुनेका नेपालीको आँखा एकैसाथ भिजेका छन् । उनलाई स्वागत गर्ने नेपालीको अधैर्य चाहनामा सोमबारदेखि विराम लागेको छ । जे नहोस् भनिएको थियो, त्यही भयो । विपिन जीवित छैनन् भन्ने इजरायली सूचनाले परिवारमा मात्र नभई सिंगो देश बेचैन भयो । सोमबार बिहान इजरायली अधिकारीले सुरुमा नेपाली राजदूत धनप्रसाद पण्डितलाई सम्पर्क गरे । कामविशेषले साइप्रस पुगेका उनलाई भनियो, ‘विपिन जोशी जीवित भएको प्रमाण भेटिएन । यो जानकारी परिवारलाई पनि गराउन चाहन्छौँ ।’ हमास समूहबाट प्राप्त सूचनाका आधारमा इजरायली अधिकारीले यो अप्रिय सूचना परिवारलाई केही बेरमा साझा गरे । अमेरिकामा रहेका विपिनकी आमा र बहिनी, कञ्चनपुरमा रहेका विपिनका ठुलो बुबाका छोरा किशोर, नेपाली राजदूत पण्डित र इजरायली प्रधानमन्त्री कार्यालय तथा परराष्ट्र मन्त्रालयका अधिकारीसहितको भिडियो बैठकमा इजरायली रक्षा बल (आइडिएफ)का फिल्ड कमान्डरले भने, ‘विपिन अब जीवित छैनन् ।’ करिब सात मिनेटमा भिडियो बैठक स्तब्धताबिच सकियो । राजदूत पण्डितले उक्त भिडियो बैठकअघि पंक्तिकारलाई सम्पर्क गरेर सुनाइसकेका थिए । नयाँ पत्रिकामा पहिलोपटक यो खबर सार्वजनिक भएसँगै धेरैले पंक्तिकारसँग सोधिरहेका थिए, ‘के खबर सही हो ?’

    परिवारमा अक्टोबर ७, २०२३ देखि अक्टोबर १३, २०२५ सम्म दुई वर्षको बेचैनी कम्ती पीडादायी थिएन । इजरायल र हमास समूहबिच यसबिचमा भएका युद्धविराम र बन्दी रिहाइमा विपिन परेनन् । युद्धविरामको यो किस्तामा हमाससँग बाँकी रहेका मानिस मुक्त हुँदा विपिन सकुशल फर्किने आशामा परिवार र देश नै थियो । त्यस दिन हमासको कब्जामा रहेका २० जना जीवित बन्धक र शव इजरायललाई हस्तान्तरण गर्ने र इजरायली जेलमा रहेका एक हजार ७१८ जना प्यालेस्टाइनी बन्दीलाई मुक्त गर्ने पूर्वघोषित सहमति कार्यान्वयन हुँदै थियो । जीवित वा मृतकको सूचीमा विपिनको नाम थिएन । तर, उनी काहीँ कतै जीवित होलान् र शान्ति सम्झौताको उपहारस्वरूप सकुशल फिर्ता होलान् भन्ने आस थियो । गाजापट्टीबाट जीवितै सकुशल विपिन फर्किने व्यग्र प्रतीक्षाको निराशाजनक अन्त्य भयो ।

    सन् २०२० असोज २० गते दक्षिणी इजरायलको गाजासँग सीमा जोडिएका इजरायली भूभागमा हमास समूहले अन्धाधुन्ध गोली हान्दा १२ सयभन्दा बढी मारिए । नेपाली विद्यार्थी १० जना पनि हमासको ग्रिनेड आक्रमणको सिकार भएर मारिए । हमास समूहले हानेको ग्रिनेड बाहिर फालेर चारजना नेपाली साथी बचाएका विपिन त्यही क्षण अपहरणमा परे । गाजाको सीमावर्ती आलुमिम किबुजबाट अपहरणमा परेका विपिन जोशीको मृत्यु घोषणा मात्र भएन, गत साता यो पनि यकिन भयो कि उनको मृत्यु २०२३ नोभेम्बरमै भइसकेछ । विपिनको मृत्यु भएको खबर र शव एकैसाथ गाजाक्षेत्रमा भेटियो । इजरायलमा विपिनको शव पुग्यो, डिएनए र पोस्टमार्टम परीक्षण भयो । यो पंक्ति लेखिने वेलासम्म उनको शव एउटा कार्गो कम्पनीलाई नेपाल ल्याउन हस्तान्तरण भएको छ । इजरायल सरकारको खर्चमा विपिनको दुई वर्ष पुरानो शवको बाकस महेन्द्रनगर पुग्दै छ ।

    विपिनको शव सोमबार साँझ इजरायल पुग्यो । मंगलबार उनको डिएनए र पोस्टमार्टम परीक्षण भयो । अपहरणको अर्को महिना अर्थात् २०२३ नोभेम्बरमै हमासको कब्जाबाट उनको मृत्यु भएको पत्ता लागेको छ । यो सूचना पाउन दुनियाँले दुई वर्ष पर्खिनुपर्यो । विपिनको मृत्यु घोषणा भयो । यसमा सबैभन्दा आश्चर्य त विपिनको खबर दुई वर्षदेखि गुपचुप थियो । हमास समूहले यो खबर लुकाएर राखेको थियो कि खबर थाहा पाएरै इजरायलले मौनता साँधेको थियो ? थाहा हुन सकेको छैन । नेपाल त यसमा बेखर छँदै थियो । यसअघिका सरकारले विपिन छुटाउन सार्थक प्रयास गरेनन्, उनीमाथि राजनीति मात्रै गरिरहे । दुई वर्षसम्म विपिन आउने आशामा त्यतैतिर आँखा र ध्यान फर्काएको परिवारलाई सरकारले असह्य पीडा दिएको छ ।

    सुदूरपश्चिम विश्वविद्यालयबाट बिएससी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा लर्न एन्ड अर्नअन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका ४९ जना साथीहरूको समूहमा विपिन थिए । उनी २७ भदौ ०८० मा गएका थिए । उनीहरूको समूहलाई नेपालका लागि इजरायलका तत्कालीन राजदूत (हाल म्यानमारका लागि इजरायली राजदूत) हनान गोदरले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा बिदाइ गरेका थिए । लर्न एन्ड लर्न कार्यक्रमअन्तर्गत इन्टर्नका लागि गएका नेपाली विद्यार्थी किबुज आलुमिममा थिए । ग्रामीण प्रकारको परिवेशमा उनीहरू कृषिमा इन्टर्न गर्दै थिए, स्थानीयसँग उनीहरू भिजेका थिए । पंक्तिकार साउन अन्तिम साता इजरायल भ्रमणका क्रममा उनी अपहरण परेको किबुज आलुमिम जाँदा भेटिएका स्थानीयले नेपाली युवा र विपिनको हार्दिकताको खुलेर प्रशंसा गरेका थिए । विपिनप्रति उनीहरूले हृदयदेखि नै चिन्ता जनाइरहेका थिए ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑