आज: २०८३ बैशाख ३०, बुधबार | Wed, 13, May, 2026

इतिहासबाट पाठ सिक्नु जरुरी


  • आक्रमण न्युज
  • २०८२ पौष १८, शुक्रबार मा प्रकाशित ४ महिना अघि
  • २८८ पाठक संख्या
  • जेनजी आन्दोलन सफल तुल्याएका युवा पुस्ता साझा नेतृत्वको अभावमा खण्डित भए भनेर केही महिनादेखि प्रकट हुँदै आएको सार्वजनिक चिन्ता अन्ततः मेटिएको छ ।

    रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)मा काठमाडौँ महानगरपालिकाका नगर प्रमुख बालेन्द्र (बालेन) शाह, कुलमान घिसिङ संरक्षक रहेको उज्यालो नेपाल पार्टी एकीकृत भएसँगै वैकल्पिक राजनीतिक शक्तिको एउटा बलियो धार सतहमा आएको छ । रास्वपा २०७९ को संसदीय निर्वाचनमा जनताबाट अनुमोदित राजनीतिक शक्ति हो भने बालेन र कुलमान युवा पुस्ताले रुचाएका अनुहार हुन् । रवि, बालेन र कुलमानसहितको रास्वपा एउटा बलियो राजनीतिक शक्ति बन्ने आकलन गरिएको छ ।

    उनीहरूबिच जेनजी आन्दोलनमा उठेका मुद्दा सम्बोधन गर्ने, भ्रष्टाचार नियन्त्रण गर्ने, समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनु पर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरू मार्फत आर्थिक–सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमानदार कार्यान्वयनप्रति समर्पित हुने सहमति भएको छ । यस्तो सहमतिले एकातिर परम्परागत राजनीतिक शक्तिलाई झस्काइदिएको छ भने अर्कोतिर परिवर्तन चाहने युवा पुस्तालाई उत्साहित बनाएको छ । यद्यपि यो उत्साहले कुन आकार लिन्छ भन्ने जान्न निर्वाचनसम्म कुर्नुपर्ने हुन्छ ।

    नेपालको राजनीतिक इतिहास हेर्ने हो भने विभिन्न कालखण्डमा भएका राजनीतिक परिवर्तनका बाहक भनिएका राजनीतिक दललाई जनताले निर्वाचनमार्फत अनुमोदन गरेर शासनसत्ता सुम्पिएका छन् । २०४६ सालको जनआन्दोलनमा नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली कांग्रेसलाई जनताले २०४८ सालको आमनिर्वाचनमा एकल बहुमत दिएर सत्तामा पुर्याए । २०६२/०६३ को जनआन्दोलन सफल बनाउन निर्णायक भूमिका निर्वाह गरेको माओवादीलाई पनि २०६४ को संविधान सभा निर्वाचनमा जनताले देशकै ठुलो राजनीतिक शक्तिका रूपमा स्थापित गर्दै सरकारको नेतृत्वमा पुर्याए ।

    गत भदौ २३ र २४ मा भएको जेनजी विद्रोहले कांग्रेस–एमाले नेतृत्वको गठबन्धन सरकारमात्र ढालेन, राजनीतिक कोर्सको ‘च्याप्टर’ नै परिवर्तन गरिदियो । आन्दोलन सफल हुनका बाबजुद युवापुस्ता छिन्नभिन्न थिए । जेनजी विद्रोहकै जगमा अन्तरिम सरकार गठन भई प्रतिनिधि सभाको निर्वाचन मिति घोषणा भए पनि युवा पुस्ता विभिन्न समूहमा विभाजित हुँदा, उनीहरूको आफ्नै राजनीतिक शक्ति नहुँदा र साझा नेतृत्वको विकास हुन नसक्दा आन्दोलनका एजेन्डा, मुद्दा बेवारिसे हुने त होइनन् भन्ने आशङ्का उब्जिँदै आएको थियो । यही द्विविधाका बिच रवि, बालेन र कुलमान एक ठाउँमा आइपुगेपछि स्वाभाविक रूपमा युवा पुस्ता उत्साहित भएका छन् भने आम जनतामा पनि एउटा बलियो वैकल्पिक राजनीतिक शक्ति स्थापित हुने विश्वास जगाएको छ ।

    सर्वत्र निराशा र अन्योल देखिएको परिस्थितिमा आशाको एउटा किरणले पनि भविष्यप्रतिको विश्वास बढाउन सक्छ । एउटा उखान नै छ– तीन टिकट महाविकट । नेपालको राजनीतिक इतिहासमा यसका अनेक उदाहरण स्थापित भइसकेका छन् । त्यसो त तीन वटाको जमघट आफैँमा खराब होइन । खाना पकाउन प्रयोग हुने ओदान तीन खुट्टा टेकेर उभिन्छ भने चुलोको तीन चम्का हुन्छन् । ओदानमा तीनमध्ये एउटा खुट्टाले मात्र साथ छाडेको अवस्थामा त्यसको उपयोगिता रहँदैन भने तीन चम्का भएको चुलोले मात्र खाना पकाउने भाँडो अड्याउँछ । कुनै एउटा चम्को भत्किएको छ भने त्यस्तो चुलोमा भाँडा बसाल्न मिल्दैन । राजनीतिमा भने तीन उस्तै नेताबिचको शक्ति सङ्घर्षले दलकै शक्ति कमजोर बनाएको, सत्ताबाट विस्थापित गरेको उदाहरण प्रशस्त भेटिन्छन् ।

    २०४६ सालको जनआन्दोलनपछि बहुदलीय प्रजातन्त्र बहाली भयो । जनआन्दोलन सफल बनाउन नेतृत्वदायी भूमिका निर्वाह गरेको नेपाली कांग्रेसलाई जनताले एकल बहुमतसहित सत्तामा पुर्याए । यद्यपि, पार्टीभित्र कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह र गिरिजाप्रसाद कोइरालाबिचको शक्ति सङ्घर्षका कारण कांग्रेसले मुलुकलाई मध्यावधि चुनावमा धकेल्यो । परिणामस्वरुप कांग्रेस दोस्रो राजनीतिक शक्तिका रूपमा खुम्चियो । २०६२/०६३ सालको परिवर्तनमा निर्णायक भूमिका निर्वाह गरेको माओवादी पनि २०६४ को संविधान सभा निर्वाचनमा पहिलो राजनीतिक शक्ति बनेर स्थापित भयो ।

    त्यतिबेला माओवादीभित्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, डा. बाबुराम भट्टराई र मोहन वैद्य ‘किरण’ पार्टीका प्रमुख नेता थिए । उनीहरू मिलेर जनमत अनुसार पार्टीलाई अझ बढी उत्तरदायी र जिम्मेवार बनाउनुपर्नेमा आपसमै विभिन्न विषयमा मतान्तर बढाउँदै गए । पार्टीबाट वैद्य र भट्टराई क्रमैसँग बाहिरिए भने त्यस यता माओवादीको संगठनात्मक अवस्था निरन्तर गिर्दो छ । यतिमात्र होइन, २०७४ को निर्वाचनकै सम्मुख नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकताको प्रतिबद्धतासहित चुनावमा तालमेल गरे । जनताले यी दुवै दललाई एकीकृत भएर सरकार बनाउने म्यान्डेट दिए । दुई दलबिच एकता पनि भयो ।

    नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकारले मुलुकलाई पाँच वर्षमा आफ्ना नीति तथा कार्यक्रममार्फत समृद्धितर्फ डोर्याउने छ भन्ने जनअपेक्षा पनि तीन नेता केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालबिचको शक्ति सङ्घर्षले साकार हुन सकेन । तीन नेताबिचको कलहले नेकपा नेतृत्वको सरकारमात्र ढलेन, नेकपा नाम गरेको दल नै विघटन भएर साविककै एमाले र माओवादी केन्द्र बिउँतिए । त्यसपछि नेकपा एमालेलाई पनि यो रोगले छाडेन । केपी शर्मा ओली, माधवकुमार नेपाल र झलनाथ खनालबिचको शक्ति सङ्घर्षका कारण पार्टी नै विभाजन भएर नेकपा एकीकृत समाजवादी गठन भयो ।

    यी चार दृष्टान्तमध्ये एमाले र माओवादी केन्द्रबिचको एकतापछि बनेको नेकपाकालमा तीन नेता केपी शर्मा ओली, प्रचण्ड र माधवकुमार नेपालबिचको शक्ति संघर्षमा प्रचण्ड फरक राजनीतिक धारबाट आएका पात्र थिए । त्यसैले ओलीसँग उनको शक्ति संघर्ष स्वाभाविकजस्तो लागे पनि लामो समय एउटै दलमा रहेर सहकार्य गर्दै आएका माधवकुमार नेपालले पनि ओलीलाई एक्ल्याउन प्रचण्डसँग सहकार्य गरेका थिए । अन्य घटनामा भने एउटै दलभित्र तीन नेताबिच शक्ति संघर्ष चुलिँदाको परिणामस्वरुप अवसर गुमेको र पार्टीलाई क्षति पुगेको देखिन्छ । अहिले रवि, बालेन र कुलमानबिच भएको एकताले जति उत्साह बढाएको छ, यी उल्लिखित घटनाक्रमले उत्तिकै आम मानिसलाई झस्काएको पनि छ ।

    एउटै दलभित्र लामो समयदेखि सहकार्य गर्दै आएका नेताहरू पनि आफ्नो पार्टीले सहज बहुमत प्राप्त गरेको अवस्थामा शक्ति संघर्षमा होमिएका कारण निर्धारित समयसम्म सरकार टिक्न नसकेको यी उदाहरणको अपवाद बन्न फरक–फरक धरातल र पृष्ठभूमिबाट एकता प्रक्रियामार्फत जोडिएका रवि, बालेन र कुलमान सक्षम होलान् त ? स्वाभाविक रूपमा प्रश्न उब्जिएको छ । भर्खरै तीन नेताबिच सहकार्यको सहमति भएकाले अहिले नै निराशावादी कोणबाट आशङ्का गर्नु हतार हुन्छ । यद्यपि, इतिहासबाट पाठ नसिक्ने हो भने सम्भावित दुर्घटनाप्रति सचेत हुन सकिँदैन । इतिहासमा भएका गल्ती, कमी–कमजोरीबाट सिकेर त्यस्ता गल्ती दोहोरिन नदिन सचेत हुँदै भविष्यलाई सुरक्षित बाटोमा डोर्याउन सकिन्छ । राजनीतिक विश्लेषक हरि रोका २०४८ सालमा नेपाली कांग्रेसले पाएको बहुमत पाँच वर्ष टिक्न नसक्नुमा गिरिजाप्रसाद कोइराला, कृष्णप्रसाद भट्टराई र गणेशमान सिंहबिचको शक्ति संघर्ष मुख्य कारक रहेको स्वीकार गर्छन् । उनले माओवादीले २०६४ मा पाएको जनमतलाई पनि आन्तरिक शक्ति सङ्घर्षका कारण जोगाउन नसकेको स्वीकार गरे ।

    २०७४ मा वाम गठबन्धनले पाएको मत र २०७५मा नेकपा गठनका बाबजुद तीन नेताबिचको शक्ति सङ्घर्षका कारण उक्त दल विघटन भएको र जनताको अभिमतको अपमान भएको पनि उनी स्विकार्छन् । ‘सैद्धान्तिक, वैचारिक, कार्यक्रमिक रूप र नामका हिसाबले एउटै ठाउँमा भएकाहरू त टिक्न सकेनन् भने बेग्लाबेग्लै धरातलबाट विनासैद्धान्ति, विनावैचारिक, विनाकार्यक्रमिक रूपमा आएका रवि, बालेन, कुलमान कसरी दीर्घकालीन रूपमा मिल्न सक्लान् ?’ रवि, बालेन र कुलमानबिचको एकताले आम जनतालाई उत्साहित बनाए पनि यी तीन नेता सचेत भएर अघि बढ्न जरुरी देखिन्छ । २०४८ सालको जनादेशबाट कांग्रेस, २०६४ सालको जनादेशबाट माओवादी र २०७४ को जनादेशबाट तत्कालीन नेकपा ठुलो राजनीतिक दल बन्दा पनि जनतामा उत्साह नभएको होइन ।

    जनताले नै ती दललाई बहुमत दिएर सत्तामा पुर्याएका थिए । राजनीतिक स्थिरता, बेरोजगारी अन्त्य, देशको विकास हुने अपेक्षाका साथ जनताले ती दललाई मतमार्फत विश्वास प्रकट गरे पनि आन्तरिक शक्ति सङ्घर्षका कारण जनताका मुद्दा ओझेलमा परे । ‘अब त पाँच वर्ष सरकार टिक्छ’ भन्ने अपेक्षा जनताले गरिरहँदा दलभित्रै विभिन्न विषयमा विवाद चुलिने, एकले अर्कालाई उपेक्षा गर्ने र जनताको मुद्दाभन्दा पनि आफ्नो स्वार्थलाई प्राथमिकता दिने राजनीतिक परिपाटीले देशमा राजनीतिक स्थिरता र विकास हुन सकेन । लामो समयदेखिको जनआक्रोश जेनजी आन्दोलनमार्फत विस्फोट भयो । त्यसले मुलुकलाई नयाँ राजनीतिक कोर्समा ल्याएको हो । जेनजी आन्दोलनपछि पनि मुलुकलाई जनताको आकांक्षा अनुसार कुन राजनीतिक शक्तिले नेतृत्व गर्न सक्ला भन्नेबारे केही महिना अन्योल नै रह्यो ।

    अन्ततः युवा पुस्ताले रुचाएका बालेन र कुलमानले रास्वपालाई नै रोजेपछि एउटा बलियो राजनीतिक शक्तिका रूपमा रास्वपाले आकार लिएको छ । यद्यपि चुनावबाट अनुमोदन हुन बाँकी छ । विगतमा कांग्रेस, माओवादी, तत्कालीन नेकपा लगायतका राजनीतिक शक्तिमाथि विश्वास गरेका जनताले यो पटक सोही शैलीमा रास्वपालाई विश्वास नगर्लान् भन्न सकिँदैन । यद्यपि, ती दलका असफलतालाई दोहोरिन नदिन रास्वपा र खासगरी रवि, बालेन र कुलमानले व्यक्तिगत स्वार्थ हुर्कन दिनु हुँदैन । यसका लागि तीनै नेता सचेत हुन जरुरी छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट