
अन्ततः गगन थापाले रुख पाएका छन्, शेरबहादुर देउवाले दुःख पाएका छन् । निर्वाचन आयोगले शुक्रवार विशेष महाधिवेशनबाट निर्वाचित गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समितिलाई मान्यता दिएपछि राजनीतिक जीवनको उत्तरार्धमा देउवाले नयाँ संघर्ष गर्नुपर्ने देखिएको छ ।
जेनजी आन्दोलनका क्रममा भदौ २४ गते आफ्नै निवासमा गम्भीर सांघातिक आक्रमणमा परेको १ सय २९ दिनपछि देउवासँग पार्टीको प्राधिकार गुमेको छ । निर्वाचन आयोगको रेकर्डमा अब देउवा कांग्रेसको सभापति रहेनन् । देशभरका कांग्रेसजनले श्रद्धा गर्ने रुख चुनाव चिन्ह अब देउवाको हस्ताक्षरको घेरामा रहेन । विशेष महाधिवेशनलाई मान्यता दिँदै निर्वाचन आयोगले देउवाका सबै अधिकार गगनलाई प्रदान गरेको छ । देउवा नेतृत्वको कांग्रेस केन्द्रीय समिति निवर्तमान हैसियतमा पुगेको छ ।
आयोगको यस निर्णयविरुद्ध अदालत जाने र न्यायिक लडाइँ लड्ने विकल्प देउवासँग छ तर तत्कालका लागि देउवासँग रुख हुनेछैन, दुख हुनेछ । २००३ सालमा स्थापना भएको नेपाली कांग्रेसको नेतृत्वमा स्थापित भएका गगन थापासामु परिवर्तित सन्दर्भमा पार्टीको सान्दर्भिकता पुष्टि गराउने मुख्य चुनौती छ । विशेष महाधिवेशनको पक्ष र विपक्षमा विभाजित बनेको पार्टीपंक्तिसँग सम्भावित कानुनी लडाइँको सामना गर्नु नै छ, फागुन २१ मा हुने निर्वाचनको सुनिश्चिततासँग पार्टीको प्रभाव विस्तार गराउनुपर्नेछ । १२ औँ महाधिवेशनबाट २०६७ सालमा पहिलो पटक केन्द्रीय समितिमा प्रवेश गरेको १५ वर्षमै गगनले कांग्रेसजस्तो पुरानो लोकतान्त्रिक पार्टीको नेतृत्व गर्ने अवसर पाएका छन् । २०७२ मा सम्पन्न १३ औँ महाधिवेशनमा महामन्त्रीमा पराजित गगन २०७८ को महाधिवेशनबाट महामन्त्रीमा निर्वाचित भएका थिए । विधानअनुसार नियमित ४ वर्षभित्र महाधिवेशन नभएको पृष्ठभूमिमा जेनजी आन्दोलनपछि उठेको नेतृत्व परिवर्तनको एजेण्डालाई गगन नेतृत्व गरेका थिए ।
देशभरका करिब ५५ प्रतिशत महाधिवेशन प्रतिनिधिले विशेष महाधिवेशनको माग गरेपछि गगनले त्यसलाई नेतृत्व प्रदान गरे । नियमित महाधिवेशनको प्रयत्न सम्भव नभएपछि संस्थापन पक्ष विशेष महाधिवेशन टार्न केन्द्रित रह्यो । गगनले अर्का महामन्त्री विश्वप्रकाश शर्मासहितका नेताहरूको साथ लिएर पुस २७ मा भृकुटीमण्डपमा विशेष महाधिवेशन उद्घाटन गरे । विशेष महाधिवेशन जारी रहँदा कांग्रेस संस्थापन पक्षले गगन, विश्व र सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गर्यो ।
लगत्तै विशेष महाधिवेशनको प्रक्रियाबाट गगन सभापति चुनिए । गगनको नेतृत्वलाई निर्वाचन आयोगले वैधता दिएसँगै अब उनी आसन्न निर्वाचनमा रुख चुनाव चिन्हको प्राधिकार सम्पन्न भएका छन् । उनकै नेतृत्वमा कांग्रेसले घोषणापत्र तयारी समिति पनि बनाइसकेको छ । विद्यार्थी राजनीतिदेखि नै सधैँ विद्रोही स्वभाव र संघर्षको कित्तामा उभिँदै आएका थापा अन्ततः विद्रोहबाटै पार्टी नेतृत्वमा स्थापित भएका छन् । आसन्न निर्वाचनमा कसैलाई काखापाखा नगर्ने, सबैलाई समेट्ने तथा जित हारको मनोविज्ञानबाट नसोच्ने प्रतिक्रिया गगनले दिएका छन् । अब गगनले हाँक्ने कांग्रेस कस्तो हुन्छ ? गगनले भर्ने उत्साह कस्तो हुन्छ ?
कांग्रेसजनले मात्रै होइन, सिंगो मुलुकले चासोका साथ हेरिरहेको छ । राजनीतिमा सम्मानजनक बहिर्गमन सबै नेताको स्वाभाविक अपेक्षा हुन्छ । यस्तो अपेक्षा देउवामा थिएन भन्नु अप्रिय हुनेछ । यद्यपि देउवा अहिले नै आफ्नो सक्रिय राजनीतिको गति रोक्ने पक्षमा छैनन् । लगातार आठौं पटक डडेल्धुराबाट संसदीय निर्वाचन लड्ने घोषणा देउवाले गरिसकेका छन् । गगन थापाको हस्ताक्षरमा प्राप्त टिकटमा चुनाव लड्नुपर्ने अवस्थाबाहेक देउवासँग रुख हुनेछैन । संस्थापन पक्षले राजनीतिक र कानुनी प्रतिवाद गर्ने उल्लेख गरिसकेका कारण गगन नेतृत्वको कांग्रेसभित्रै देउवा रहन्छन् भनिहाल्ने अवस्था छैन । कानुनी लडाइँबाट जित हासिल गर्दाबाहेकको अवस्थामा अब कांग्रेस नेतृत्वमा देउवाको पुनरागमन असम्भव प्रायः हुनेछ । जसले देउवाको राजनीतिक जीवनको समापनलाई सुखद हुन दिनेछैन । नेपाल विद्यार्थी संघको पहिलो महाधिवेशनबाट सभापतिमा निर्वाचित भएका देउवा कांग्रेस राजनीतिमा सधैँ केन्द्रमा रहे ।
पञ्चायतकालमा बिपीको विश्वास जितेका देउवालाई प्रजातन्त्र पुनः स्थापना लगत्तै गिरिजाप्रसाद कोइरालाले अवसर दिए । २०४८ सालमा कोइराला नेतृत्वको सरकारमा गृहमन्त्री बनेयता देउवाले पछाडि फर्केर हेर्नुपरे । २०५२ सालमा पहिलो पटक प्रधानमन्त्री भएका देउवा हालसम्म पाँच पटक प्रधानमन्त्री बनिसकेका छन् । २०५९ सालमा नेपाली कांग्रेस विभाजनपछि बनेको नेपाली कांग्रेस (प्रजातान्त्रिक) लाई नेतृत्व गरेका देउवा २०७२ सालमा नेपाली कांग्रेसको सभापतिमा निर्वाचित भए । कांग्रेस सभापतिका रूपमा दोस्रो कार्यकालको उत्तरार्धमा देउवाले सोचेजस्तो भएन । सोचेजस्तो हुँदो हो त उनी एमालेसँगको सत्ता गठबन्धनका बलमा आगामी असारमा छैटौंपटक प्रधानमन्त्री बन्ने प्रतीक्षामा थिए । जेनजी आन्दोलनले देउवाको यो राजनीतिक योजनामा तुषारापात गरिदियो ।
एकातिर राष्ट्रिय राजनीतिमा गहिरिँदो संकट छँदैथियो, अर्कोतिर देउवा आफ्नै पार्टीभित्रको संकटमा फसेका छन् । असोज २८ मा उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक जिम्मेवारी दिए पनि देउवाले कांग्रेस राजनीतिको लगाम आफ्नै हातमा लिइबसेका थिए । विशेष महाधिवेशनले त्यो लगाम खोसेको छ । देउवासामु तत्कालका लागि २ विकल्प छन् । पहिलो विकल्पमा गगन थापा नेतृत्वको कांग्रेसलाई नै स्वीकार गरेर अगाडि बढ्ने । त्यसमा देउवाको दिलचस्पी हुने सम्भावना देखिँदैन । दोस्रो कानुनी लडाई लड्ने । जितेको अवस्थामा नेतृत्वमा पुनरागमन गर्ने । दोस्रो विकल्पमा जाँदा तत्कालका लागि देउवाले अन्तरिम प्रबन्ध गर्नुपर्नेछ । पार्टीको, चुनाव चिन्हको, आफ्ना समर्थकहरूको व्यवस्थापनको ।

प्रतिक्रिया दिनुहोस