
जेनजी विद्रोहबाट सत्ताच्यूत भएका एमाले अध्यक्ष केपी शर्मा ओली पार्टी अध्यक्षमा तेस्रो पटक निर्वाचित भएसँगै उनले पार्टीलाई सुदृढ बनाउन सबै पक्षलाई समेट्ने भन्दा पनि इतर पक्षलाई निषेध गरेर अघि बढ्ने रणनीति तय गरेका छन् ।
जेनजी विद्रोहले प्रधानमन्त्रीबाट अपदस्त भएर बाहिरिएका उनी अनेकौँ जालझेल गरेर पार्टी अध्यक्षमा पुनः निर्वाचित हुन पुगे । देशव्यापी आफू अनुकूल महाधिवेशन प्रतिनिधि चयन गराएर अध्यक्षमा निर्वाचित भएपछि उही पुरानै दम्भ र अहंकारलाई निरन्तरता दिँदै पार्टीभित्रको पराजित पक्षप्रति निषेधकारी ढंगले अघि बढ्ने आशयका अभिव्यक्ति दिन थालेका छन् । यसले उनमा पार्टीलाई मजबुत बनाउने भन्दा पनि विरोधीलाई लखेटेर एमाले आफ्नो भजनमण्डलीमा परिणत गराउने मनोदशा व्याप्त रहेको देखिन्छ । कम्युनिष्ट पार्टीलाई विपरीतहरुको एकत्वका रूपमा चित्रित गरिन्छ । तर यस विपरीत ओली भने आफू विरुद्ध उम्मेदवारी दिएकाहरूलाई प्रतिशोधपूर्ण ढंगले लखेटेर सिंगो एमालेलाई आफ्नो स्तुति गाउने सानो कोठरीमा सीमित गर्न उद्यत रहेका छन् ।
देशमा उनकै गैरजिम्मेवारपनको उपज जेनजी विद्रोमार्फत निम्तिएको बिध्वंशप्रति ओलीले कुनै प्रकारको आत्मबोध गरेका छैनन् । उल्टै जेनजी आन्दोलनलाई प्रतिक्रान्तिको संज्ञा दिँदै भड्कावपूर्ण अभिव्यक्ति दिँदै आएका उनले पार्टीमा समेत एकाधिकार लादेर विपक्षीलाई निषेध गर्दै मनोमानी ढंगले अघि बढ्न खोजेका छन् ! यसअघि आफैँले निर्माण गरेको विधान समेत मिचेर पदाधिकारी संख्यादेखि उमेरहदको प्रावधान हटाएका उनले पार्टीभित्र आफ्ना विरोधीलाई निस्तेज पार्न अनेकौँ प्रपञ्च गर्दै आएका थिए । पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्यता नवीकरणमा रोक त्यसकै उपज थियो । महाधिवेशनमा प्रतिनिधि छनोटदेखि बन्द सत्र सञ्चालनभित्र भएका थुप्रै क्रियाकलाप लोकतान्त्रिक अभ्यासमाथि पनि प्रश्न उठाउने खालका थिए । यसरी एमालेमा ओलीको पुनरागमनले पार्टीभित्रै आन्तरिक लोकतन्त्रलाई निस्तेज पार्न र फरक मतको उपेक्षा गर्न सुरु भइसकेको छ । ओलीले यस अघि पनि पार्टीमा आफ्ना विरोधीलाई किनाराकृत गर्दै आएका थिए ।
ओलीले आफू र आफ्नो नेतृत्वमाथि प्रश्न उठाउनेलाई अनेकौँ दाउपेच गर्दै पार्टीबाटै निष्कासन गरी पार्टीमा एकाधिकार कायम गर्न खोजेका थिए । दशौं महाधिवेशनमा निर्विरोध नेतृत्वमा दोहोरिने उनको मोहमा तगारो बनेका एमाले पूर्वउपाध्यक्ष भीम रावललाई निष्कासनदेखि माधव नेपाल, झलनाथ खनाल लगायतका नेताहरूको बहिर्गमन ओलीकै एकाधिकारवादी कार्यशैलीकै परिणाम हुन् । यस अघि ओली स्वयंमले नै एमालेमा आन्तरिक लोकतन्त्रको उपयोग गर्दै नवौँ महाधिवेशनबाट पार्टी अध्यक्षमा निर्वाचित भएका हुन् । तर सोही विधि अनुरूप दशौं महाधिवेशनमा उम्मेदवारी दिएका भीम रावललाई पार्टी छाड्न बाध्य पारे । आलोचना सहन नसक्ने उनले एघारौँ महाधिवेशनमा आफू विरुद्ध उम्मेदवारी दिएका ईश्वर पोखरेल समूहमाथि अहिले फेरिन निशाना लगाउन सुरु गरेका छन् ।
उनले आफू बोलेपछि महाधिवेशन सकिने बताएर पार्टीभित्रको आन्तरिक लोकतन्त्रको प्रयोग गर्न नदिने मनशायले नै महाधिवेशन अगावै आफ्नो एकल नेतृत्व मोह प्रकट गरेका थिए । ओलीको त्यसप्रकारको एकाधिकार र निरकुंश कार्यशैली विरुद्ध पोखरेल पक्षले उम्मेदवारी दिएर पार्टीमा आन्तरिक लोकतन्त्र जिवीत राख्न सफल भएको छ । यद्यपि, अनेकौँ प्रतिकुलताका बाबजुद मतपरिणाम आफ्नो पक्षमा नआए पनि ओलीको एकतन्त्रीय तानासाही प्रवृत्ति विरुद्ध एमालेभित्र राजनीतिक जितका रूपमा पोखरेल पक्षको साहस दर्ज भएको छ । आगामी दिनमा एमालेका भावी पुस्ताले ओली विरुद्ध पोखरेलको उम्मेदवारीलाई निरकुंशता विरुद्धको एक साहसिक कदमका रूपमा स्मरण गर्नेछन् ।
किनभने, एमालेमा नवौँ महाधिवेशनबाट नेतृत्वमा आएर निरकुंश र स्वेच्छाचारी शैलीमा अघि बढेका ओलीलाई लोकतान्त्रिक प्रतिस्पर्धा गर्न बाध्य गराउनु पनि राजनीतिक जितसँगै पार्टीले अंगीकार गर्दै आएको मदन भण्डारीद्वारा प्रतिपादित जनताको बहुदलीय जनवाद(जबज) लाई न्याय प्रदान गर्नु हो । जबजको मूल मर्म नै प्रतिस्पर्धाबाट श्रेष्ठता हासिल गर्ने भएकाले त्यसलाई पार्टीमा व्यावहारिक रूपमै लागू गराउन पोखरेल पक्ष सफल भएको छ । तर ओली भने जबजको मर्म विपरीत फरक मतलाई उपेक्षा गर्दै एकपक्षीय रूपमा अघि बढ्न खोजेका छन् ।यसले मदन भण्डारी र मनमोहन अधिकारी जस्ता नेताहरूले लोकतान्त्रिक अभ्यासलाई आत्मसात गर्दै बनाएको एमाले अब ओलीको सनक र अहंकारले निरकुंशतातर्फ उन्मुख भएको छ । विगतमा पार्टीभित्रैका संस्थापक सहकर्मीहरूलाई पालैपालो लखेटेर बाहिरिन बाध्य पारेका ओलीका पछिल्ला क्रियाकलापले उनी पोखरेलपक्षप्रति सोही प्रवृत्ति कायमै राखेका छन् ।
यसबाट उनी एमालेलाई जबजको सिद्धान्तमा होइन, आफ्नै मनोमानी र सनकपूर्ण ओलीपथमा हिँडाउन खोजेको स्पष्ट हुन्छ । ओलीले यस अघि समेत आफ्नो पार्टीको औपचारिक कार्यक्रममा कम्युनिष्ट विचारका प्रणेता कार्ल मार्कस को तस्बिर नराखेर आफ्नो राख्ने निर्णय गराएका थिए । यसअघि एमालेको सचिवालय बैठकले नै पार्टीका औपचारिक कार्यक्रममा एमाले अध्यक्ष ओली सहित पुष्पलाल श्रेष्ठ, मदन भण्डारी र मनमोहन अधिकारीको तस्बिर राख्ने निर्णय गरेको थियो । अहिले उनले पार्टीभित्र आफूलाई चुनौती दिँदै नेताहरूप्रति पुरानै तुष कायमै राखेर बाहिरिन बाध्य पार्ने चलखेल सुरु गरिसकेका छन् । दशौं महाधिवेशनमा आफूविरुद्ध उम्मेदवारी दिएका भीम रावललाई पार्टी छाड्ने बाध्यात्मक अवस्थामा पुर्याएका ओलीले एघारौँ महाधिवेशनमा पराजित ईश्वर पोखरेल समूहलाई पनि सोही हविगतमा पुर्याउने संशय एमालेवृत्तमा फैलिएको छ । ओलीका यस प्रकारका कदमले पार्टीमा विभाजनको बिज रोपेर एमालेको आगामी भविष्य अन्योलग्रस्त बनाएको छ ।

प्रतिक्रिया दिनुहोस