Follow

Subscribe to notifications
आज: २०८३ कार्तिक २६, बिहिबार | Thu, 12, Nov, 2026

देशको झण्डा आफै जोगिने


  • आक्रमण न्युज
  • २०८३ बैशाख २४, बिहिबार मा प्रकाशित ६ महिना अघि
  • २७९ पाठक संख्या
  • सम्पूर्ण समाज र प्रविधि विज्ञानका सिद्धान्तले चलेका छन्। तर प्रहरीले त्यो सिद्धान्त पालना नगर्दा आफैं आच्छुआच्छु पर्नुपर्ने अवस्था आयो। विद्यालय–कलेजको पोसाक, परिचय पत्र र कागज ल्याउन उर्दी जारी गर्ने अनि प्रहरीको घेरा तोड्न लगाएर अबोध किशोर–किशोरीलाई मोहरा बनाएका कारण उनीहरूले आन्दोलनमा आफ्नो जीवन उत्सर्ग गर्न बाध्य भए।

    दलहरूले विद्यालयमा विद्यार्थी संगठनमार्फत् आफ्नो दलको राजनीति गराएर शिक्षा हासिल गर्नुको सट्टा दलको झोला बोकाएझैं यो देशको सत्ता परिवर्तनका लागि तिनै कलिला विद्यार्थीको प्रयोग गर्नु कुन अर्थमा देशका राजनीतिक पार्टीभन्दा फरक अभ्यास थियो? पढ्न गएका छोराछोरी सहिद घोषणा भएर चोकमा ठड्याइएका सालिक देखेर कुन मातापिताको आँसु रोकिन्छ? कुन दाजुभाइ, दिदीबहिनीको मन थामिन्छ? समयान्तरमा ती सालिक पनि पालैपालो ढालेको हामीले देखेकै हौ !

    गत भदौको जेन जि आन्दोलनमा जनताको जिउधनको सुरक्षा गर्ने जिम्मेवारी पाएको नेपाल प्रहरी आफ्नै जिउधनको सुरक्षा गर्न नसक्ने अवस्थामा पुग्यो। यो घटनाले सरकारी सुरक्षा निकायबिच समन्वय र सहकार्यको अभाव प्रस्टै खट्कियो। आपसमा समन्वय र सहकार्य कायम गराउन स्थायी सरकार भनिने कर्मचारीतन्त्र निकम्मा ठहरियो। भविष्यमा यस्तो परिस्थिति आउँदा सुरक्षा निकायबिचमा समन्वय र सहकार्य हुन्छ भन्ने कसरी विश्वास गर्नु ?

    कुनै देशले अर्को देशमा आक्रमण गर्दा विशेषतः त्यो देशको भौतिक संरचना, पुल, सुरक्षा निकायका अखडामा आक्रमण गर्ने गर्छन् तर मेरो देशमा नेपालकै झन्डा ओढेर विदेशी सेनाले जस्तै नेपालका महत्त्वपूर्ण सरकारी, व्यापारिक, व्यावसायिक, औद्योगिक क्षेत्रका भौतिक संरचना विध्वंस पारेका थिए। दोषी देशका संरचना र दस्तावेज होइनन्।

    केही दल र दलका नेताले पहिले सार्वजनिक सम्पत्ति नष्ट गर्न आफ्ना कार्यकर्तालाई उचाले तर पछि आफैं भाग्नुपर्दा, आफ्नै घर र पार्टी कार्यालयहरू जल्दा भने बल्ल चक्रव्यूहमा फसेको चाल पाए। हामीविरुद्ध लाग्नेहरूले हाम्रो आर्थिक–सामाजिक अवस्थालाई आफ्नो हातमा लिने, प्राकृतिक सम्पदा कब्जा गर्ने, सांस्कृतिक धरोधर ध्वस्त पार्ने दाउमा लागेका छन्।

    विदेशी शक्ति हामीलाई परनिर्भर बनाउने योजनामा छन्। विदेशीहरू देशको सीमा कब्जा गरेर बसेका छन् तर हामी आपसमा लडाइँ गरेर बसेका छौं, मारामार गर्दैछौं, घृणा र फुट पैदा गरेका छौं। आफूलाई यो देशको सर्वेसर्वा राजनीतिज्ञ ठान्नेहरूको कुशासन, भ्रष्टाचार, तस्करी, दलाली, अहंकार, प्रतिशोधको अग्निले देशलाई नै रोम जलिरहँदा निरो दरबारमा बासुरी बजाएर बसेको कथा हामीले सुनेका छौ।

     

    कांग्रेस र कम्युनिस्टले सत्ता परिवर्तनका लागि हतियार उठाए तर उनीहरूले आफ्ना कार्यकर्तालाई देशभक्तिपूर्ण लडाइँ लडाएनन्। स्थापनाकालमै ब्रिटिसविरुद्ध लडेको भए कांग्रेस र कम्युनिस्टका नेता र कार्यकर्तामा देशभक्तिपूर्ण भावना जागृत हुन्थ्यो। उल्टो कार्यकर्तालाई तस्करी, भ्रष्टाचार र दलालरूपी यन्त्रको पाटपुर्जा मात्रै बनाए।

     

    आज कालापानी, लिपुलेक र लिम्पियाधुराको विवाद नै रहँदैनथ्यो। मेरो देश पश्चिममा अलकनन्दा नदी र पूर्वमा टिस्टासम्म फैलिएको हुन्थ्यो। नेताहरूले भारतकै हितमा कोसी, गण्डक, महाकालीजस्ता असमान सन्धि गरेर देशको जलस्रोत भारतलाई सुम्पने, व्यापार, वाणिज्यलगायतका असमान सन्धि गरेर देशलाई आर्थिक, प्राकृतिक, राजनीतिक, सामाजिक, सांस्कृतिक रूपमा कमजोर बनाउँदै आएका छन्।

    नेपालमा धेरै पटक राजनीतिक परिवर्तन भयो तर देशमा राजनीतिक स्थिरता, देशको समुन्नति, भ्रष्टाचारमुक्त, विभेदको अन्त्य, सुशासन, शान्ति, समता, अमनचयनका साथै उचित पारिश्रमिकसहितको रोजगारी, निः शुल्क शिक्षा, निःशुल्क स्वास्थ्य, पौष्टिक आहार, स्वच्छ खानेपानी, सुरक्षित आवास, सन्तुलित प्राकृतिक वातावरण, विद्युत्, यातायात, सञ्चारजस्ता आधारभूत लोककल्याणकारी कुरामा पनि गुणात्मक र मात्रात्मक रूपमा कुनै परिवर्तन भएन। यसले के पुष्टि गर्छ भने यो देशका राजनीतिज्ञमा त्यो सोच, मार्गचित्र, ज्ञान, कुशलता, क्षमता र दक्षता छैन, जसले समाज र देशको रूपान्तरण गर्न सकोस्। त्यसैले राजनीतिक परिवर्तन मात्रै महत्त्वपूर्ण कुरा होइन !

    अदालत र त्यहाँ रहेका ऐतिहासिक दस्ताबेज ध्वस्त पारेर सत्ता हातमा लिएको विश्वको राजनीतिक इतिहासमा पहिलो घटना होला। देशैभरि एकैसाथ भौतिक संरचना ध्वस्त पार्नुलाई भिडको आवेशले स्वःस्फूर्त गरेको थियो भनेर मान्न सकिन्न। यो सबै योजनाबद्ध थियो। आन्दोलनको ड्राइभिङ सिटमा बसेर आन्दोलनलाई निर्देशन दिने र उत्तेजित पार्ने अनि मेरो गाडीले कुन घरमा हान्यो र कति मानिसलाई कुल्च्यो थाहा छैन भन्नु कुन नैतिकता हो? आन्दोलनमा जे जति घटना भए, त्यसको सम्पूर्ण नैतिक जिम्मेवारी आन्दोलन हाक्नेले लिनुपर्छ। नेतृत्व गर्नेले जश अपजश दुवै लिने हिम्मत गर्नु पर्द्छ !

    राजनीतिक परिवर्तन त विश्व समाजको गति हो, भइरहन्छ तर जलवायु परिवर्तन यस्तो सवाल हो, जसले सिंगो मानव अस्तित्वको रक्षालाई चुनौती दिन्छ।

    केहि ब्यक्तिहरुले पटकपटक श्रीपशुपतिनाथमाथि आक्रमण गर्ने कुचेष्टा गरेका थिए। यसपटक भने श्री पशुपतिनाथले आफ्नो सुरक्षा आफैं गर्नुभयो। सिंहदरबार जल्दा पनि सिंहदरबारमा गाडेको चन्द्रसूर्य अंकित मेरो देशको झन्डा नेपाल माता आफैंले जोगाएकी थिइन्। सिंहदरबार जलाए पनि मेरो देशको झन्डा तिमीहरूले जलाउन सक्दैनौ। तिमी नाथेहरूले सुरक्षा नगरे पनि मेरो देशको झन्डा आफैं जोगिन्छ !

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑