
अहिलेको विज्ञान-प्रविधिको विकासले लिएको गतिलाई प्रकृतिले रोकेन भने सुदूर भविष्यका सन्ततिहरूले आजको हाम्रो जीवनकाललाई पनि जंगलीहरूको जीवन कथा मानेर अभिरूचिपूर्वक अध्ययन गर्नेछन् । हाम्रा सनातनी धर्मग्रन्थ र धर्मशास्त्रमा वर्णित कथाहरूले हामीलाई पृथ्वी, अन्तरिक्ष र ब्रह्माण्डसम्म सजिलै काल्पनिक शयर गराउँछन् । यदि विज्ञानलाई छाडेर शास्त्रीय र आध्यात्मिक बन्ने हो भने ईहलोक, परलोक, पाताललोक र भएभरका सबै लोकतिर हामी घुम्न सक्छौँ अनि चित्तानन्दको अनुभूति गर्न सक्छौँ ।
त्यस्तै, जन्म-जन्मान्तरसम्म निरन्तर जन्मिइरहन सक्छौँ । त्यसो त, देवी-देवताहरूले स्वर्गलोकदेखि पृथ्वीलोकसम्म यात्रा गर्दा पनि मनचाहे बाहनमा यात्रा गर्दै आफ्नो लक्ष्यमा पुग्थे । शास्त्रीय मान्यतालाई आधार लिँदा द्रुतगतिका वायुयान र वायुपंखी घोडामा देवता र दानवहरू सवार भएका कथा सुने/पढेकै हौँ । अझ भनौँ, देवदेवीहरू मनले जहाँ चाह्यो त्यहीँ प्रकट हुन्थे भन्ने धर्मशास्त्रहरूमा पाउँछौँ । तर यी साधनहरूको उपलब्धता पनि त्यो समयका सर्वसाधारणको पहुँचभन्दा निक्कै परको कुरा हुन्थ्यो होला !
दैवीय शक्तिको क्षमता नहुनेहरूमा उड्न र गुड्न असम्भव थियो । अघिल्ला युगहरूमा यज्ञयज्ञादीबाट परमसिद्ध ऋषिमुनीहरूले एक पाइला चाल्दा एक कोशको कदम बन्थ्यो भनि शास्त्रका ज्ञाता पण्डितहरू बताउँछन् । यी र यस्ता रोचक पौराणिक कथाहरू धार्मिक अनुष्ठानहरूमा वाचन गर्ने ब्राह्मज्ञानी पण्डितहरूका मुखारविन्दबाट बारम्बार रुचिपूर्वक हामीले सुन्दै आएका छौँ । यहाँ भौतिक विज्ञान र आध्यात्मिकतालाई जोड्नुमा खास अर्थ छ र केही भन्नु पनि छ । त्यो के भने – विज्ञान-प्रविधिले भौतिकरूपमा आफ्नो लक्ष्यलाई स्पर्श गराउँछ भने आध्यात्मिक ज्ञानद्वारा सिद्ध चेतनमनले उस्तै लक्ष्यलाई आफूभित्रै समाहित गराउँछ । हरेक लक्ष्यलाई सरलतापूर्वक काल्पनिक भेदन गर्दछ । यसर्थमा हवाईजहाजको यात्रा अंकको दूरीमा पुग्न सकिन्छ भने अन्तरमनको यात्रा अनादी र अनन्त शून्यमा हुन्छ, यसको दूरी नै भेटिँदैन । बाहिरी चक्षुको दृश्यशक्ति र मनचक्षुको दृश्यशक्तिमा पनि उस्तै अन्तर हुन्छ । जुन अंक र शून्य जस्तै नै हो ।
अंक स्थिर छ शून्य चञ्चल र अधीर छ । शून्यले भ्रम श्रृजना गर्छ भने अंकले तथ्ययुक्त सत्य बोल्छ । अब यहाँ भन्दा भित्र र गहिराइमा नजाऔँ किनकि हामीलाई बाहिर निस्कन बाधा हुन्छ ! धर्ती पृथ्वी जे भने पनि हामी यहीँका उपज हौँ । पृथ्वीको एक हिस्सा हाम्रो देश पनि हो । हाम्रो देशको अवस्थितिलाई भूगोलको अक्षांश र देशान्तरले सिमाङ्कन गरेको छ । हामी यही सीमाङ्कनभित्रका मनुवा हौँ । विज्ञानको खोज, अन्वेषण, अध्ययन र प्रविधिको प्रयोग नगरुञ्जेल उत्तरी र दक्षिणी गोलार्धको बस्तुस्थिति हामीले जानेनौँ । जब जान्यौँ – हामी भ्रमबाट मुक्त भयौँ । भ्रम रहुञ्जेल हाम्रो भूखण्डमा जे र जसरी उपभोग योग्य बस्तु उत्पादन हुन्छ, संसारैभरी उस्तै प्रकृतिका बस्तु उत्पादन हुन्छ भनिठान्यौँ ।
समयको गतिसँगै प्राप्त विज्ञान प्रविधिका सामग्रीहरूको अध्ययनले हाम्रा भ्रमहरू चिर्दै गयौँ र हाम्रो स्मृतिमा बनेका अनेकौँ अमीट छापहरू पनि मेटिँदै छ्न ! शास्त्रीय कुराहरूलाई पाण्डित्यपूर्ण तरिकाले ब्याख्या गर्दा अनुमानित मनको आनन्द वा मनमा अशान्ति जे गराउने हो गराइरहन्छ । शास्त्रीयरूपमा पुष्पक विमानलाई भौतिकरूपमा अनुभूत गराउन असम्भव हुन्छ ! गोलो पृथ्वीका त कुरा छोडौं, अन्तरिक्ष यात्रीका रकेटभित्रका गतिविधि पनि पृथ्वीबाटै प्रत्यक्ष देख्न सकिन्छ । त्यसैले अबको जमानामा कसैले कसैलाई भ्रम नछरेको राम्रो ! झुठ र भ्रम के हो ? सत्य यथार्थ र वास्तविक के हो ? भन्ने थाहा पाउन अब कसैले कसैलाई बताइरहनै पर्दैन ।
आजकलका मान्छेले दुधको दुध पानीको पानी छुट्ट्याउन हात-हातमा उपलब्ध स-साना यन्त्रका माध्यम काफी छ ! देश अहिले इतिहासको पनि इतिहास बनाउने भयानक कठिन घुम्तीमा पुगेको छ । कसैले नसोचेको र नचिताएको अन्यौलतामा देश रुमल्लिन पुगेको छ । त्यसैले यस्तो परिस्थितिमा इतिहासका पानामा भेटिएका गल्ती कमी-कमजोरी केलाएर र सच्याएर अघि बढ्न सकेन भने नेपालीहरूले पनि द्वन्द्वग्रस्त मुलुकहरू सरह दुःख सहन बाध्य हुनेछौँ । तर हामीले चाह्यौँ भने देशमा दीगो र चीरकालपर्यन्त शान्ति कायम गर्दै देशलाई विश्वका सम्पन्न मुलुकको दाँजोमा पुऱ्याउन कुनै र कसैको भर नपरी गर्न सक्छौँ ,यतिखेर त्यो अवसर आएको छ । एकअर्काले आग्रह र पुर्वाग्रह नराखि निषेध को राजनीतिलाई सदाको लागि तिलाञ्जली दिनु आजको एक मात्र आवश्यकता हो !
प्रतिक्रिया दिनुहोस