
श्रावण १७, २०८१
विराटनगर । मोरङ उर्लाबारी नगरपालिका-४ का २१ वर्षीय कुशल दाहालको हत्यामा संलग्न व्यक्ति पक्राउ परेका छन् ।
उर्लाबारी नगरपालिका-५ का ३५ वर्षीय सुवास तामाङलाई प्रहरीले बुधबार पक्राउ गरेको हो । तामाङले घरमै बोलाएर दाहालको हत्या गरेको मोरङका प्रहरी उपरीक्षक नवराज कार्कीले बताए ।
मंगलबार राति साढे ६ बजे तामाङले आफ्नै घरमा बोलाएर दाहालमाथि धारिलो हतियार तथा लाठी प्रहार गरेका थिए ।
गम्भीर घाइते भएका दाहाललाई गोदावरी अस्पताल उर्लाबारीमा प्रारम्भिक उपचारपछि बिएन्डसी अस्पताल विर्तामोड लगिएको थियो ।
दाहालको उपचारको क्रममा त्यही दिन राति ८:४० बजे मृत्यु भएको थियो ।
कार्कीका अनुसार दाहालको हत्यापछि भागेका तामाङलाई सुन्दरहरैंचा नगरपालिका-४ दुलारी चोकमा पक्राउ गरिएको हो । उनी को१ख ६४७१ नम्बरको बसमा थिए ।
तामाङ हत्या आरोपमा जेल परेर छुटेका व्यक्ति हुन् । उनको आपराधिक अभिलेखबारे प्रहरीले जानकारी दिएको छ ।
तामाङलाई कर्तव्य ज्यानमुद्दामा २०७१ साल असोज ९ गते अदालतले १० वर्ष सजाय तोकेको थियो ।
तर, उनी २०७६ सालको प्रजातन्त्र दिवसको दिन छुटेका थिए ।
जेलबाट छुटेको एक वर्षमै उनलाई ज्यान मार्ने उद्योगमा अदालतले २०७७ भदौ ८ गते २ वर्ष ६ महिना कैद तोकेको थियो । त्यो कैद भुक्तान गरेर तामाङ छुटेका थिए ।
जेलबाट छुटेको दुई महिनापछि २०७७ कात्तिक ७ गते उनलाई अदालतले लागुऔषध मुद्दामा ३ महिना कैद र १ लाख धरौटी तोकेको थियो । त्यो कैद भुक्तान गरी तामाङ छुटेका थिए ।
त्यस्तै, अभद्र व्यवहार मुद्दामा २०८० असोज २४ गते उनी एक लाख धरौटी तिर्न नसकेर कारागार मोरङ चलान भए । २५ गते धरौटी तिरेर उनी छुटेका थिए । प्रहरी उपरीक्षक कार्कीका अनुसार घटनामा संलग्न अन्य व्यक्तिबारे अनुसन्धान भइरहेको छ । तामाङलाई कर्तव्य ज्यानमुद्दामा हिरासतमा राखेर अनुसन्धान थालिएको छ ।
दाहालको हत्या हुनुमा पुरानो रिसिइबी नरहेको बुझिएको प्रहरीले जनाएको छ। त्यसदिन तामाङले दाहाललाई मोबाइल चोरी गरेको आरोप लगाएका थिए ।
उनीहरूबीच पुरानो झगडा-रिसिइबी देखिँदैन, मोबाइल चोरी भएको विषयमा बोलाएर छलफल गर्ने क्रममा तामाङले दाहालमाथि छुरा प्रहार गरेको बुझिएको छ, प्रहरी उपरीक्षक कार्कीले बताए ।
घटना भएको अघिल्लो दिन छिमेकी व्यक्ति सञ्जय आचार्यसँग दाहालको झगडा भएको थियो ।
त्यसक्रममा आचार्यले दाहाललाई धम्क्याएको आफन्त टिका दाहालले बताइन् । त्यसको भोलिपल्टै घरबाटै बोलाएर दाहाललाई तामाङले लगेको उनले बताइन् ।
घटनामा अन्य व्यक्तिको संलग्नताबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । तर, मुख्य व्यक्ति तामाङ नै रहेको प्रहरीले जनाएको छ । हत्या गरिएका युवक गोपाल दाहालका एक मात्रै छोरा थिए। उनको हत्यापछि परिवार शोकमग्न छ।

प्रतिक्रिया दिनुहोस