सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा प्रहरीले पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ गरेको छ । सहकारी संस्थाका बचत अपचलनमा संसदीय विशेष छानबिन समितिले कारबाही सिफारिस गरेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन सञ्चालक समिति सदस्य छविलाल जोशी पक्राउ परेका छन्।
नेपाल प्रहरीका पूर्वडिआइजीसमेत रहेका जोशीलाई प्रहरीले आइतबार अपराह्न पक्राउ गरेको हो। उनलाई काठमाडौंबाटै पक्राउ गरिएको प्रहरी स्रोतले सेतोपाटीलाई बताएको छ। उनलाई सुर्यदर्शन सहकारीको बचत अपचलनसम्बन्धी विषयमा पक्राउ गरिएको स्रोतको भनाइ छ।
यसअघि जोशीको घरबाट प्रहरीले सहकारीसम्बन्धी डाटा रहेको सफ्टवेयर पनि बरामद गरेको थियो। उनीसँग सहकारीसम्बन्धी संसदीय छानबिन समितिले सोधपुछसमेत गरेको थियो।ग्यालेक्सी टेलिभिजन सञ्चालन गर्ने संस्था गोर्खा मिडियामा जोशीको ५० प्रतिशत सेयर थियो। टेलिभिजन सञ्चालन भएको केही समयपछि उनले गोर्खा मिडिया छाडेका थिए। उनले छाडेपछि उक्त सेयर पनि अध्यक्ष जिबी राईकै नाममा रह्यो।
जोशीमाथि सहकारीको बचत अपचलनबारे सिआइबीले पनि अनुसन्धान गरेको थियो।
संसदीय छानबिन समितिको प्रतिवेदनमा विभिन्न सहकारीबाट गोर्खा मिडियामा बचत रकम आएकोबारे आफू अनविज्ञ रहेको जोशीले बयान पनि दिएका थिए।गोर्खा मिडियामा पोखराको सुर्यदर्शनलगायत सहकारीबाट बचत रकम आएको संसदीय छानबिन समितिको प्रतिवेदनको निष्कर्ष छ।गृहमन्त्री रमेश लेखकले आइतबार प्रहरी प्रधान कार्यालयलाई संसदीय छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन दिएका थिए। उक्त निर्देशन दिएको केही समयमै जोशी पक्राउ परेका हुन्।
प्रतिक्रिया दिनुहोस