आज: २०८२ जेष्ठ १०, शनिबार | Sat, 24, May, 2025

कार्कीछापका दुई किशोरी जब पुगे जोगबनी


  • आक्रमण न्युज
  • २०८१ जेष्ठ २४, बिहिबार मा प्रकाशित ११ महिना अघि
  • ३१९ पाठक संख्या
  • जेष्ठ २३, २०८१/ भोजराज घिमिरे
    विराटनगर । धनकुटा साँगुरीगढी कार्कीछाप टोलमा दुई अपरिचित युवा कार लिएर पुग्छन् ।
    उनीहरू मानव बेचबिखन तथा ओसारपसार कार्यमा संलग्न हुन्छन्।
    नेपाली किशोरीहरूलाई वैदेशिक रोजगारी दिलाउने भन्दै फकाएर भारत पुर्‍याउने गिरोहका एजेन्ट उनीहरू त्यही सिलसिलामा कार लिएर कार्कीछाप टोल पुगेका हुन्छन् ।
    गाउँका सोझासादा किशोरी र उनीहरूका परिवार गाउँमा अपरिचित व्यक्ति आएकोबारे जानकारी त हुन्छ। तर, उनीहरू आफ्ना छोरीचेली बेच्ने सिलसिलामा आएका हुन्रहैनन् भन्ने शंकाको मेसो नपाउँदै दुई किशोरी घरबाट बेपत्ता हुन्छन्।
    ती किशोरीलाई फ्रि भिसा फ्रि टिकटमा वैदेशिक रोजगारीमा आकर्षक तलब-सुविधा हुने आश्वासन एजेन्टले दिएका हुन्छन् । एजेन्टको कुरामा मख्ख परेर किशोरी उनीहरूसँग हिँड्न तयार भएका हुन्छन्।
    भोलिपल्टसम्म आफ्ना छोरी बेपत्ता भएपछि आफन्त प्रहरीको सम्पर्कमा पुग्छन् । प्रहरीले गाउँमा कोही नयाँ मानिस आएको होरहैन र तिनीहरूको हुलियाबारे सोध्छन्।
    हुलिया तथा संकेतहरू प्राप्त गरेपछि प्रहरी परिचालन भएका हुन्छन् । यसबीचमा एजेन्टले कारमा राखेर युवतीलाई जोगबनीतिर हिँडाउने चाँजो मिलाइसकेका हुन्छन् । तर, युवतीलाई उनीहरूले वैदेशिक रोजगारीमा लैजाने कानुनी बाटो अपनाइरहेका हुँदैनन्।
    ‘काठमाडौं देखेका छौं बहिनीहरूलेरु,’ एजेन्टले सोधे।
    युवती भन्छन्, ‘छैन नि ’
    ‘उसो भए जाने त ?,’ एजेन्टले सोधे।
    ‘जाने नि,’ किशोरीले स्वीकृति दिन्छन्।
    यसपछि एजेन्टले भने, ‘रेल चढेका छौ ? चढ्ने हो ?’
    किशोरीले ‘चढ्ने’ भनेपछि उनीहरूले जोगबनीतिर हिँडाउँछन्। जोगबनीबाट वीरगन्जको रेल चढ्दै त्यहाँबाट काठमाडौं जाने बताउँछन्।
    एजेन्टसँग कुरामा लठ्ठिएर सोझा किशोरीलाई घुमाउरो र पहाडी बाटोमा चक्कर लाग्छ।
    बाटोमा चक्कर लागेपछि युवतीलाई एजेन्टले औषधी भन्दै बेहोस् पार्ने ट्याबलेट खुवाइदिन्छन्।
    युवतीहरू बेहोस् भएपछि ती दुई एजेन्टलाई बोर्डर पुर्‍याउन झन् सजिलो हुन्छ।
    यसरी एजेन्टले उनीहरूलाई जोगबनी पुर्‍याउँदै गर्दा भारतमा रहेका चेलिबेटी बेचबिखनका नाइकेसँग संवाद गर्छन्। दुई युवती ल्याइरहेको सूचना दिन्छन्।
    दुई युवती हराएको सूचना पाएको प्रहरीको टोली जोगबनी परिचालन भएर ती किशोरीको खोजीमा व्यापक सर्च गरिरहेको हुन्छ।
    जोगबनी नाका पुगेपछि एजेन्ट समातिन्छन्। किशोरीलाई एजेन्टले भनेका कुराबारे प्रहरीले सोधीखोजी गर्दा उनीहरूले बेचिन लागेको सुइँको बल्ल पाउँछन्। सबै कुरा बताएपछि एजेन्ट प्रहरी खोरमा पुग्छन्।
    वास्तवमा यो कथा चेलिबेटी बेचबिखन सम्बन्धी प्रहरीले तयार पारेको सचेतनामूलक सुचना हो र, नेपाली युवतीलाई विदेशमा रोजगारीको लोभ देखाएर नाका कटाउँदै भारततिर बेचबिखनमा पुर्‍याउन एजेन्टले कस्तो तरिका अपनाउँछन् भन्ने त्यहाँ उल्लेख छ।
    कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरले बिहीबार एक कार्यक्रम गर्दै १५ मिनेट लामो यो सचेतनामूलक शन्देश सार्वजनिक गरेको छ।
    ‘वास्तवमै हाम्रो गाउँ(घरमा गरिबी, बेरोजगार सोझासिदा दिदीबहिनीहरूलाई एजेन्टले कसरी फसाएर बेचबिखनसम्म पुर्‍याउँछन् भन्ने सन्देश दिन यो शन्देश तयार पारिएको हो,’ कोसी प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक चन्द्रकुबेर खापुङले भने।
    ‘महिला हिंसा तथा मानव बेचबिखनविरूद्ध जनचेतनामूलक ’ ‘सचेतना’ कोसी प्रदेश सामाजिक विकास मन्त्रालयको सहकार्यमा निर्माण गरिएको हो। उक्त शन्देश सामाजिक विकास मन्त्री पाँचकर्ण राईले सार्वजनिक गरेका थिए।
    कार्यक्रमका मुख्य अतिथि रहेका उनले मानव बेचबिखन सचेतनाको कार्यक्रम सार्वजनिक गर्दा चेलिबेटी र आफन्तले भोगिरहेको पीडा उजागर भएको तथा त्यसको रोकथामका लागि भूमिका खेल्ने बताए।
    ‘यो शन्देशले नेपाली समाजको सचित्र बिम्व र वास्तविक चित्र उजागर गरेको छ,’ उनले भने, ‘चेलिबेटी बेचबिखनमा सक्रियता साथ लागेर सचेतना फैलाउने कार्य गरेकोमा प्रहरी कर्मचारीहरूलाई हार्दिक धन्यवाद।’
    कार्यक्रममा प्रहरी नायब महानिरीक्षक खापुङले प्रहरीले केही न केही सामाजिक हितका लागि र विकृतिको विरूद्धमा कार्यक्रम ल्याइरहने भन्दै ‘सचेतना’ शन्देश त्यसैमध्येको एउटा रहेको बताए।
    उनले यस्तो शन्देशले गाउँ(गाउँसम्म पुर्‍याएर चेलिबेटीहरू र आफन्तलाई सचेत गराउन महत्वपूर्ण भूमिका खेल्ने बताए।
    खापुङले यो शन्देश नेपाल प्रहरीको प्रदेशस्थित फेसबुक पेज, युट्युबलगायत च्यानलबाट व्यापक बनाइने बताए। ‘गाउँमा कोही अपरिचित व्यक्ति आएर डुलिरहेका छन् भने उनीहरूको गतिविधि हामीले बुझ्नुपर्ने हुन्छ,’ उनले भने, ‘कतै अपराध त हुन गइरहेको छैन भनेर हामी बेलैमा सचेत भयौं भने घटना न्यूनीकरणमा सहयोग पुग्छ।’

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट