आज: २०८३ आश्विन १, बिहिबार | Thu, 17, Sep, 2026

जनकपुरधामको बेरुजु एक अर्बभन्दा बढी, जनप्रतिनिधि सुविधामा ३ करोड खर्च


  • आक्रमण न्युज
  • २०८३ आश्विन १, बिहिबार मा प्रकाशित १ घण्टा अघि
  • ९ पाठक संख्या
  • सुभाष कायस्थ

    जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिकामा बेरुजुको चाङ देखिएको छ। महालेखापरीक्षकको कार्यालयले सार्वजनिक गरेको लेखापरीक्षण प्रतिवेदन अनुसार उपमहानगरपालिकाको अद्यावधिक बेरुजु रकम १ अर्ब ७ करोड ४१ लाख ३० हजार रुपैयाँ पुगेको छ।

     

    आर्थिक वर्ष २०८१/८२ मा उपमहानगरपालिकाको आय तथा व्ययतर्फ कुल ३ अर्ब ९३ करोड २५ लाख ३ हजार रुपैयाँको लेखापरीक्षण गरिएकोमा सोही एक वर्षमै ५ करोड ५४ लाख ७२ हजार रुपैयाँ बेरुजु देखिएको छ।

     

    प्रतिवेदन अनुसार चालु आर्थिक वर्षको बेरुजुमध्ये ८८ लाख ८५ हजार रुपैयाँ असुल गर्नुपर्ने, १ करोड ९५ लाख ७७ हजार रुपैयाँको प्रमाण तथा कागजात पेस गर्नुपर्ने, १ करोड ७ लाख २४ हजार रुपैयाँ नियमित गर्नुपर्ने र १ करोड ६२ लाख ८६ हजार रुपैयाँ पेस्की बाँकी रहेको छ।

    अघिल्लो वर्षसम्म उपमहानगरपालिकाको बेरुजु १ अर्ब १ करोड ८६ लाख ५८ हजार रुपैयाँ कायम थियो। त्यसमा यस वर्षको बेरुजु थपिएपछि कुल अद्यावधिक बेरुजु १ अर्ब ७ करोड ४१ लाख ३० हजार रुपैयाँ पुगेको हो।

    विविध खर्च र इन्धनमा प्रश्न

    उपमहानगरपालिकाको आन्तरिक आय १६ करोड ४६ लाख ५६ हजार १७५ रुपैयाँ मात्र रहेको अवस्थामा विविध शीर्षकमा १ करोड ४० लाख ३३ हजार रुपैयाँ खर्च गरिएको भन्दै प्रतिवेदनले प्रश्न उठाएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार औचित्यका आधारमा मात्र खर्च गर्नुपर्ने व्यवस्था भए पनि विविध खर्चको औचित्य पुष्टि हुने प्रमाण तथा कागजात संलग्न नगरिएको महालेखापरीक्षकको ठहर छ।

     

    यसैगरी, आ.व. २०८१/८२ मा विभिन्न सवारीसाधन सञ्चालन तथा पदाधिकारीको इन्धनमा मात्रै ३ करोड ३ लाख ५ हजार २८५ रुपैयाँ खर्च भएको छ। अनुगमनका क्रममा १७ वटा मोटरसाइकल बिना नम्बर प्लेट भेटिएकाले तत्काल कानुनबमोजिम सरकारी नम्बर प्लेट राखेर सवारीसाधन व्यवस्थापन गर्न सुझाव दिइएको छ।

     

    पदाधिकारीको सुविधा र प्रचार सामग्री

    पदाधिकारीका विभिन्न सुविधामा मात्रै जनकपुरधाम उपमहानगरपालिकाले ३ करोड १८ लाख ७७ हजार रुपैयाँ खर्च गरेको छ। जसमध्ये यातायात सुविधामा ७० लाख ९२ हजार, टेलिफोन तथा मोबाइलमा ३४ लाख ५६ हजार, पत्रपत्रिका तथा इन्टरनेटमा ३४ लाख ५६ हजार, अतिथि सत्कारमा ७० लाख ६८ हजार, दशैँ भत्तामा १९ लाख ५ हजार र बैठक भत्तामा ८९ लाख रुपैयाँ खर्च भएको छ।

     

    यस्तै, उपमहानगरपालिकाले एक ब्रोसर, दुई डकुमेन्ट्री र तीन वृत्तचित्र निर्माणमा १४ लाख ७७ हजार ९४४ रुपैयाँ खर्च गरेको छ। तर ती सामग्री निर्माणको लागत अनुमानको स्पष्ट आधार नदेखिएको र प्रसारण भएको भनिए पनि त्यसको आधिकारिक प्रमाण पेस हुन नसकेको प्रतिवेदनमा उल्लेख छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट