पर्सा। पोलियोको पूर्ण उन्मूलन गर्ने उद्देश्यले विभिन्न सङ्घसंस्थाले आज वीरगञ्जमा जनचेतनामूलक र्यालीको आयोजना गरेका छन् ।
पोलियोको पूर्ण उन्मूलन गर्न पोलियो उन्मूलनसम्बन्धी सन्देश प्रवाह गर्ने उद्देश्यले रोटरी क्लब अफ वीरगञ्ज, रोटरी क्लब अफ वीरगञ्ज मेट्रोपोलिसलगायत सङ्घसंस्थाद्वारा आयोजित र्याली भारतसँगको सीमावर्ती क्षेत्र रक्सौलको मितेरी पुलसम्म पुगेर कोणसभामा परिणत भएको थियो । कात्तिक ७ गतेदेखि सुरु भएको पोलियो अन्त्य सप्ताहको समापनको अवसरमा आयोजित र्यालीमा सहभागीहरूले ब्यानरसहित ‘इन्ड पोलियो नाओ’ लेखिएको टिसर्ट लगाएका थिए ।
र्यालीमा साइकल, मोटरसाइकल, स्कुटी तथा चारपाङ्ग्रे सवारीसाधनसहित रोट्र्याक्ट क्लब, इन्ट्र्याक्ट क्लब तथा इनर ह्विलका सदस्यहरूको उपस्थिति थियो ।
रोटरी क्लब अफ वीरगञ्जका अध्यक्ष रोटरियन राकेश मिश्रले मुख्यतया बालबालिकालाई पोलियोबाट सुरक्षित राख्दै नियमित खोपको महत्वबारे सबैलाई जानकारी गराउने उद्देश्यले जनचेतनामूलक कार्यक्रमको आयोजना गरिएको बताउनुभयो । पोलियो रोगलाई विश्वभरबाटै पूर्ण रूपमा समाप्त गर्नुपर्ने भन्दै उहाँले यसका लागि सचेतना जगाउनु जरुरी रहेको उल्लेख गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस