
काठमाडौं । नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव कायमै रहँदा देशका विभिन्न भूभागको मौसममा सामान्य परिवर्तन देखिएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुनुका साथै तराईका केही स्थानमा तुवाँलो लागेको छ।



हाल देशको हिमाली भूभाग र कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बादल लागेको छ भने तराईका केही स्थानमा तुवाँलो देखिएको छ।
महाशाखाका अनुसार आज दिउँसो कोशी प्रदेशसहित बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। देशका अन्य भूभागमा भने मौसम मुख्यतया सफा रहने अनुमान गरिएको छ।
दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी भूभाग र गण्डकी प्रदेशको हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्ने सम्भावना रहेको छ।
त्यस्तै, आज राति कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली रहनेछ। लुम्बिनी प्रदेशको हिमाली भूभागमा समेत बादल लाग्ने अनुमान गरिएको छ।
रातिको समयमा कोशी र गण्डकी प्रदेशका हिमाली क्षेत्रका एक–दुई स्थानमा हल्का वर्षा र हिमपात हुन सक्ने महाशाखाले जनाएको छ।
यसैगरी, बुधबार पनि कोशी र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ।
मौसममा देखिएको परिवर्तनलाई ध्यानमा राख्दै हिमाली तथा पहाडी क्षेत्रमा यात्रा गर्नेहरूले आवश्यक सतर्कता अपनाउन र मौसमसम्बन्धी अद्यावधिक सूचना नियमित रूपमा हेर्न महाशाखाले सुझाव दिएको छ।


प्रतिक्रिया दिनुहोस