आज: २०८३ अषाढ २, मंगलबार | Tue, 16, Jun, 2026

रोटरी क्लब अफ डिल्लीबजारद्वारा चश्मा वितरण तथा आँखा स्वास्थ्य शिविर समापन कार्यक्रम सम्पन्न


  • आक्रमण न्युज
  • २०८३ अषाढ १, सोमबार मा प्रकाशित १७ घण्टा अघि
  • ४० पाठक संख्या
  • काठमाडौँ । रोटरी क्लब अफ डिल्लीबजारले चन्द्रागिरि नगरपालिकामा सञ्चालन गरेको आँखा स्वास्थ्य शिविर अन्तर्गत पहिचान भएका विद्यार्थीहरूलाई चश्मा वितरण तथा शिविर समापन कार्यक्रम भव्य रूपमा सम्पन्न गरेको छ।

    क्लबका अध्यक्ष रोटेरियन प्रेम वलीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा चन्द्रागिरि नगरपालिकाका प्रमुख श्री घनश्याम गिरी प्रमुख अतिथिका रूपमा उपस्थित हुनुहुन्थ्यो। कार्यक्रममा नगरपालिकाकी उपप्रमुख श्रीमती बसन्ती श्रेष्ठ, स्वास्थ्य विभाग प्रमुख श्री शम्भु महतो, चन्द्रागिरि हिल्सका सचिव श्री झलक शर्मा, जीएमपीटीका अध्यक्ष डा. पार्थिवेश्वर तिमिल्सिना, सहज फाउण्डेशनका सदस्य रोटेरियन हरि काफ्ले, तथा बी.पी. कोइराला लायन्स सेन्टर फर अप्थाल्मिक स्टडिजका प्रमुख श्री प्रकाश शर्मा पौडेल विशिष्ट अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो।

    त्यसैगरी रोटरी क्लब अफ डिल्लीबजारका प्रेसिडेन्ट इलेक्ट रोटेरियन सुजिता अधिकारी, सेक्रेटरी रोटेरियन सन्ध्या राजभण्डारी, पास्ट प्रेसिडेन्टहरू रोटेरियन सम्झना पोखरेल, रोटेरियन पुण्यप्रसाद पौडेल, रोटेरियन युवराज अधिकारी तथा रोटेरियन इन्दिरा पौडेललगायत क्लबका सदस्यहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

    कार्यक्रम संयोजक तथा पास्ट प्रेसिडेन्ट रोटेरियन लीलानाथ शर्माले स्वागत मन्तव्य व्यक्त गर्दै शिविर सञ्चालनदेखि चश्मा वितरणसम्मको सम्पूर्ण प्रक्रियाबारे जानकारी गराउनुभएको थियो। सो अवसरमा प्रमुख अतिथि नगर प्रमुख घनश्याम गिरीबाट चन्द्रागिरि नगरपालिकाभित्रका २२ वटा विद्यालयका प्रधानाध्यापकहरूलाई विद्यार्थीहरूका लागि चश्मा हस्तान्तरण गरिएको थियो।
    कार्यक्रममा डा. पार्थिवेश्वर तिमिल्सिना, उपप्रमुख बसन्ती श्रेष्ठ, श्री झलक शर्मा तथा डा. आनन्द शर्माले मन्तव्य व्यक्त गर्नुभएको थियो। वक्ताहरूले बालबालिकाको आँखाको स्वास्थ्य सुधारका लागि सञ्चालन गरिएको यो अभियान अत्यन्त प्रभावकारी र दीर्घकालीन महत्वको रहेको धारणा व्यक्त गर्नुभयो।

    प्रमुख अतिथि घनश्याम गिरीले रोटरी क्लब अफ डिल्लीबजारले समुदायमा पुर्याएको योगदानको प्रशंसा गर्दै नगरपालिकाले यस महत्वपूर्ण कार्यक्रममा सहकार्य गर्न पाएकोमा खुशी व्यक्त गर्नुभयो। साथै, चन्द्रागिरि क्षेत्रलाई कार्यक्षेत्र बनाएर स्वास्थ्य तथा शिक्षाको क्षेत्रमा निरन्तर सेवा पुर्याएकोमा क्लबलाई धन्यवाद ज्ञापन गर्नुभयो।

    डा. पार्थिवेश्वर तिमिल्सिनाले आगामी दिनमा विद्यालयमा नयाँ भर्ना हुने विद्यार्थीहरूको नियमित आँखा परीक्षण गर्न सकिने तथा आवश्यक परेमा चश्मा उपलब्ध गराउन रोटरी क्लबले सहयोग गर्न सक्ने सम्भावना रहेको बताउनुभयो।

    त्यसैगरी डा. आनन्द शर्माले यस आँखा स्वास्थ्य कार्यक्रमलाई अनुसन्धान (Research) का रूपमा दस्तावेजीकरण गरी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रकाशन गर्न सकिने उल्लेख गर्नुभयो। साथै, भविष्यमा शिविरबाट पहिचान भएका बालबालिकालाई आँखासम्बन्धी शल्यक्रिया आवश्यक परेमा बी.पी. कोइराला लायन्स सेन्टरमार्फत निःशुल्क सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रमका अध्यक्ष रोटेरियन प्रेम वलीले आँखा स्वास्थ्य शिविर तथा चश्मा वितरण कार्यक्रम सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्ने सम्पूर्ण व्यक्ति, संस्था तथा साझेदारहरूलाई धन्यवाद व्यक्त गर्नुभयो। उहाँले चन्द्रागिरि नगरपालिका क्लबको प्रमुख कार्यक्षेत्र रहेको उल्लेख गर्दै चालु वर्षमा स्वास्थ्य, शिक्षा तथा सामुदायिक सेवाका विभिन्न कार्यक्रमहरू सफलतापूर्वक सम्पन्न गरिएको जानकारी दिनुभयो। साथै आगामी दिनहरूमा पनि शिक्षा र स्वास्थ्यका क्षेत्रमा थप प्रभावकारी कार्यक्रम सञ्चालन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

    कार्यक्रमका अवसरमा रोटरी क्लब अफ डिल्लीबजारको तर्फबाट चन्द्रागिरि नगरपालिका तथा चन्द्रागिरि हिल्सलाई सहयोग र सहकार्यको कदरस्वरूप सम्मानपत्र प्रदान गरिएको थियो। साथै चन्द्रागिरि हिल्सको तर्फबाट सचिव श्री झलक शर्माले चश्मा वितरण कार्यक्रमका लागि आर्थिक सहयोगस्वरूप क्लबका अध्यक्ष रोटेरियन प्रेम वलीलाई चेक हस्तान्तरण गर्नुभएको थियो।
    कार्यक्रमको सञ्चालन चन्द्रागिरि नगरपालिकाका शिक्षा विभाग प्रमुख श्री बुद्धि भट्टले गर्नुभएको थियो।

    उक्त आँखा स्वास्थ्य शिविरमार्फत चन्द्रागिरि नगरपालिकाका सामुदायिक विद्यालयहरूमा अध्ययनरत हजारौं विद्यार्थीहरूको आँखा परीक्षण गरिएको थियो भने दृष्टिदोष भएका विद्यार्थीहरूलाई निःशुल्क चश्मा उपलब्ध गराइएको छ। यस कार्यक्रमले विद्यार्थीहरूको शैक्षिक उपलब्धि र जीवनस्तर सुधारमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।

    उक्त आँखा स्वास्थ्य शिविर तथा चश्मा वितरण कार्यक्रमलाई सफल बनाउन GMPT Foundation, Kalibhakt Foundation, Sahaj Foundation, Chandragiri Nagarpalika, Chandragiri Hills, Rotary Club of Mitcham (Adelaide) तथा Rotary Club of Caboolture, Brisbane ले महत्वपूर्ण सहकार्य तथा सहयोग गरेका थिए। कार्यक्रम आयोजक संस्था रोटरी क्लब अफ डिल्लीबजारले यी सबै संस्थाहरूको सहयोग र साझेदारीका कारण कार्यक्रम प्रभावकारी रूपमा सञ्चालन गर्न सम्भव भएको जनाएको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट