आज: २०८१ मंसिर १९, बुधबार | Wed, 04, Dec, 2024

सत्य बताउनु र झूटको पर्दाफास गर्नु नै बौद्धिक वर्गको उत्तरदायित्व


  • आक्रमण न्युज
  • २०८१ कार्तिक १८, आईतबार मा प्रकाशित १ महिना अघि
  • १७३ पाठक संख्या
  • कार्तिक १८, २०८१/प्रभातराज पाण्डे
    मानिसको विद्वतालाई उसको नुहाइधुवाइ, कपाल कोराइ र लवाइखवाइबाट चिन्न सकिँदैन । उसको नैतिक आचरण, कार्यदिशा र चिन्तन प्रवृत्तिले नै मानिसको विद्वतालाई चिन्न सकिन्छ । वास्तवमा विश्व, देश, सृष्टि र समुदायको चिन्ता र चिन्तन गर्ने मान्छे ज्ञानी हो । प्रकृति र विश्वका सम्पूर्ण चराचरको चिन्तनमा आफ्नो समयको अधिकतम हिस्सा लगानी गर्ने मान्छे परम ज्ञानी हो । समग्रतामा भन्नु पर्दा ज्ञानीहरूको चेतनामा कसैप्रति विभेद नभएपनि अवस्था अनुकुलको दृष्टिकोण भने हुन्छ नै । अशक्त, निर्धा र असहाय वर्गमा अगाध करुणा हुन्छ ।निम्छारिलो वर्ग प्रति अथाह माया हुन्छ र लुटेरा दानव प्रवृत्तिप्रति ब्यापक घृणा । पौराणिक कालदेखि नै ज्ञानी र विद्वानलाई फरक फरक कोणबाट हेरिन्छ । तार्किक ज्ञान अथाह भएर पनि व्यवहार दुष्ट हुने मानिसलाई बुद्धिजीवी भन्न सकिएला तर ज्ञानी भन्न सकिन्न ।
    पुरातन मान्यतामा मानिसलाई मुख्यतः तीन तहमा विभाजन गरेर हेरिन्थ्यो । राजा वा शासक वर्ग, ऋषिमुनिहरूको विद्वान् मण्डली तथा गुरु वा पुरोहित वर्ग र अल्पज्ञानी वा अज्ञानी जनसमुदाय । तत्कालीन मान्यतानुसार ज्ञान विज्ञानको सारभूत गहनताभन्दा भिन्न जितको मात्रै संस्कारबाट हुर्केका राजा वा शासकहरूलाई शिष्टताको कुनै ज्ञान हुँदैन भनी राजगुरु र विद्वान्‌लाई परामर्शदाताको रूपमा नियुक्त गरिन्थ्यो । मूर्ख मानिस वा शासकहरूको बुझाइमा घुँडा टेक्नु, विनयी बन्नु, समुदायको हितमा आफ्नो हितको तस्बिर देख्नु र मानवताको क्षेत्रमा न्यायिक समाजको सपना देख्ने सामर्थ्य राख्नु भनेको युद्ध हार्नु जस्तै हो । मूर्ख मनुष्य विनयी हुन सक्दैन । त्यसैले राजाहरूले आफ्नो परामर्शको लागि ऋषि वा ज्ञानी महात्माहरूलाई राजगुरु नियुक्त गर्दथे । जस्तै राजा जनक, प्रलाद, बली, रामलगायत केही राजाहरू विनयी तथा ज्ञानी भएपनि आधिकांश राजा धन, बल र शासकीय तामसी भावले उन्मत्त रहन्थे भनिन्छ । भारतीय उपमहाद्वीपको पौराणिक परम्परानुसार, पौराणिककालमा सन्त तथा ऋषिहरूको मण्डलीले मात्रै विद्वानको दर्जा पाएको थियो । पौराणिक कालका विद्वा‍न‍्हरूमा चार्वाक, बुद्ध, महावीर, गुरुनानक, वेदव्यास, सप्तर्षि, सनत, वाल्मीकि, जड भरत, अष्टाबक्र, कपिल लगायत धेरै सन्तहरूको नाम आउँछ । माध्यामिक कालका विद्वानहरू वल्लभाचार्य, सन्त भिखादास, चैतन्य महाप्रभु, गुरु गोविन्द सिंह, हरिदास, हित हरिवंश आदिलाई मानिएको छ ।
    मानव सभ्यता सदैव व्यवहारिक ज्ञानबाट सिर्जित र चलायमान छ । यसमा हजारौँ दार्शनिक, युगपुरुष, लेखक, कवि, नेतृत्वकर्ता र हारजितका अनुभवहरू छन् । त्यसैले सांस्कृतिक सभ्यताको जगमा छुट्टै मानव क्रियाकलापको एउटा शृङ्खला जोडिएको हुन्छ भने दर्शनको क्षेत्रमा अर्को त्यस्तै तहगत मानव श्रेणीको योगदान छ । राजनीति, समाज सेवा, दर्शन, श्रम वा भाषा साहित्य सबैमा सम्बन्धित क्षेत्रका विज्ञहरूको योगदान हुन्छ । जसरी माथिबाट पानी बगिरहेको ढुंगामा एकैदिन लेउ लाग्न सक्दैन, ठीक त्यसैगरी मानव विकासको विभिन्न चरणमा ज्ञान, विज्ञानको समृद्धि पनि विस्तारै चलायमान प्रक्रियाबाट मात्र सम्भव हुन्छ । त्यसैले, कसलाई ठ्याक्कै विद्वान् वा विदुषी घोषणा गर्ने भन्ने विषय विवादरहित छैन । तर, विद्वानको शाब्दिक अर्थ मानव, प्रकृति, सीप, कला, क्षमता र अनुसन्धानको तहमा विशिष्ट ज्ञान भएको मानिस हुन सक्छ । सामान्य मानवको तुलनामा विद्वान् बढी आकर्षक, भिन्न वैचारिक चित्त भएको र क्षमतायुक्त हुन्छ । उसका वैचारिक तथा व्यवहारिक लक्षण सामान्य मानिसको तुलनामा कविशिरोमणि लेखनाथ पौड्यालले भनेझैँ अनुभव र ज्ञानको सार खिचेर विनम्रतापूर्वक समुदायको सेवा गर्ने खालका हुन्छन् । उनका अनुसार ज्ञान युग र आविष्कार सापेक्ष हुन्छ । जब आर्जित ज्ञान प्रयोगमा असत्य सावित हुन्छ, त्यो त्यति बेलादेखि भ्रम र रुढीवादमा परिणत हुन्छ । त्यसैले आर्जित ज्ञान प्रमाणद्वारा सिद्ध गरिरहनु पर्दछ ।
    समाज विकासको सन्दर्भमा हेर्दा, आधुनिक मानिसले आफ्नो क्षमताकै कारण विज्ञान प्रविधिको क्षेत्रमा धेरै आविष्कार गरिसकेको छ । यो क्रम निरन्तर अगाडि बढिरहेको छ । त्यस्तै, समुदायको सांस्कृतिक, दार्शनिक र राजनैतिक नेतृत्व गर्ने दिशामा सुकरात, अरिस्टोटल, मार्क्स, लेनिन, गान्धी, मण्डेलालगायतले समाजको नेतृत्व मात्र गरेनन्, वैकल्पिक राजनैतिक प्रणालीको मार्गदर्शक सिद्धान्त पनि दिए । विज्ञानको क्षेत्रमा न्युटन, आइन्सटाइन, हकिङ्ग्स, म्याडम क्युरीलगायत धेरै भौतिकशास्त्रीहरूले मानव समुदायको लागि अनुपम योगदान दिए । जीव विकासको सिद्धान्त पत्ता लगाउने चार्ल्स डार्बिनले पनि पुरानो रुढिग्रस्त जड मानसिकतालाई उल्ट्याइदिएर मानव उत्पत्तिको नयाँ धारणा विकास गरे । यी सबै मानिस आफ्नो क्षेत्रका विद्वान् थिए । त्यसैले भन्नैपर्ने हुन्छ, अन्त्यहीन सङ्घर्ष, कठिन खोज र समुदायको हितार्थ संसारलाई आफ्नै लयमा तान्न सक्ने मानिस नै विद्वान् वा बुद्धिजीवी मात्र नभएर ज्ञानी हो । हामी पनि कुनै क्षेत्रको बुद्धिजीवी र ज्ञानी बन्न सक्छौं, तर विद्वान् बन्नको लागि हामीले आफ्नो संकल्पलाई गहनातामा लैजानुपर्छ । अध्ययनमार्फत खोजलाई पक्रन सक्नुपर्छ । त्यसैले समाजलाई विद्वताले आफ्नो गोरेटोमा हिँडाउनु त्यति सहज छैन । अहिलेसम्मका ज्ञानी र विद्वानलाई एउटै मान्ने परम्परा गलत छ । ज्ञान र विद्वतामा कर्म, विवेक र चेतनाको जस्तै अन्तर छ । विद्वता व्यवहारिक रूपमा खारिएर ज्ञान बन्छ र समुदाय, राष्ट्र तथा विश्वकै लागि मार्गदर्शक बन्न सक्छ । किताब पढेर, यताउताबाट जानकारी लिएर, अडियो भिडियो हेरेर जो कोही पनि विद्वान् बनेको स्वाङ त गर्न सक्छ, तर प्रज्ञा नजानी बनेको विद्वता समुदायलाई काम लाग्दैन, अनुभवबाट वा पढेको कुरालाई आत्मसात गरेर आफैले आफूलाई रूपान्तरण गरेपछि मात्र साँचो ज्ञानको जन्म हुन्छ ।
    बुद्धिमान त्यो हो, जसले बस्तुस्थितिको विश्लेषण गरेर सही बेलामा सही निर्णय दिन्छ । अध्ययन र अनुभवको संस्लेषणले जब सुषुप्त भावना जागृत हुन्छ, त्यसपछि मानिसको विवेक कञ्चन बन्दै जान्छ । अनि, अन्तःस्करण परिपक्व हुन्छ । अन्तमा मानिसभित्र भएका सबै प्रकारका विभेद सकिन्छन् र गहन ज्ञानको प्रकाश बुद्ध बनेर चम्किन थाल्दछ । त्यसपछि नै मानिस ज्ञानी बन्ने हो । त्यसैले पूर्वीय दर्शनमा भनिएको छ कि, जब अध्ययन र व्यवहारिक अनुभवले बुद्धि परिपक्क हुँदै जान्छ, त्यसपछि मात्रै ऋतुम्भर ज्ञानको उत्पन्न हुने हो । ऋतुम्भर ज्ञान भन्नाले अन्तर्निहित प्रमाणिक ज्ञानको रूपान्तरित शुद्ध अवस्थालाई बुझिन्छ । मानिसको विद्वताको पराकाष्ठा विभेदरहित मानव हित, सामुदायिक समानता र प्रकृतिको श्रेष्ठतामा अन्तरनिहित हुन्छ । अचेल विद्वान् र विदुषी अथवा बुद्धिजीवी शब्दको जताततै प्रयोग गरिन्छ । कुनै एक विषयमा आधारभूत ज्ञान नभएको व्यक्तिलाई पनि विद्वान् भन्न थालिएको छ । जसले समाजमा नचाहिँदो विवाद गर्छ र सामाजिक समस्यालाई समाधान गर्नुको सट्टा समस्या बढाउने काम मात्र गरिरहन्छ, त्यस्ता सङ्कीर्ण सोच लिएर टाउको हल्लाउनेहरूलाई पनि अहिले विद्वान् भनिदिनु पर्छ । शैक्षिक प्रमाणपत्रको चाङ कम भए पनि आफ्नो पेसामा आबद्ध अनुभवले निखारिएर समुदायमा समर्पित समूह पनि विद्वत् वर्ग हो । शैक्षिक प्रमाणपत्र मात्र बुद्धिजीवीको परिचय बन्न सक्दैन । बुद्धिको क्षेत्रफल कसैले दिएको अङ्कले नभइ चेतनाको प्रकाशले मात्र मापन गर्न सकिन्छ ।
    विद्वत् वर्गको विचारले समाजलाई डोर्याउँछ वा उसले जलाएको दियोको प्रकाशमा मानव सभ्यता अगाडि बढ्छ । विद्वानले दिएका विचारहरू समाजमै निर्मित भए पनि अग्रगामी हुन्छन् । राज्यसँग हस्तक्षेपकारी भूमिका निर्वाह गरी सत्यको पैरवी गर्ने चरित्रकै कारण बुद्धिजीवीलाई अन्य व्यक्तित्वभन्दा विशिष्ट ठानिने मान्यता समाजमा स्थापित छ । सत्य बताउनु र झूटको पर्दाफास गर्नु नै साँचो अर्थमा बौद्धिक वर्गको उत्तरदायित्व हो ।  बौद्धिक वर्ग सधैँ सत्ताको विपक्षमा र बहुसंख्यक समुदायको पक्षमा उभिएको हुन्छ । स्रोतसाधन र शक्तिसम्पन्न सत्ताको चरित्र सधैँ सर्वसाधारणलाई कुनै न कुनै आशा र भरोसा बाँडेर आफ्नो स्वार्थ सिद्ध गर्नतर्फ केन्द्रित हुन्छ । सर्वसाधारणले सत्ताको यो कूटनीतिलाई बुझ्न सक्दैनन् र सत्ताको झूटो जालमा फस्छन् । तसर्थ, सत्य तथ्यलाई सर्वसाधारणसामु पुऱ्याउने, बुझाउने र ब्युँझाउने तथा आवश्यक परे सामाजिक न्यायको लागि विद्रोहमा उतार्ने दायित्वसमेत बौद्धिकहरूले नै निर्वाह गर्न सक्नुपर्छ । अर्का अमेरिकी लेखक क्रिस्टोफर हिचेन्स्कोले भनेका छन्, ‘बौद्धिकहरूलाई सबैले चिनेकै हुनुपर्छ भन्ने छैन, तर शक्तिसामु निर्भिकतापूर्वक सत्य बोल्ने क्षमता भने उसमा हुनैपर्छ ।
    अन्त्यमा, बुद्धिजीवी, विद्वत् वर्ग र ज्ञानीहरूमा सत्यलाई चिन्ने उच्च सजगताको साथै, सत्यलाई हतियारका रूपमा प्रयोग गर्ने सीप पनि हुनैपर्छ । प्रमाणिक सत्य कसको सामु पुर्याउने र कसरी फैलाउने भन्नेमा पनि विद्वान् र विदुषी सचेत हुन उत्तिकै आवश्यक हुन्छ । उनीहरू करुणामयी र विनयी हुनुको साथै आधुनिक चेतनाले समाजलाई सकारात्मक परिवर्तनतर्फ लैजान सक्ने सामर्थ्यको हुनुपर्छ । यसर्थ मार्क्स, गान्धी, मन्डेला, नोम्चोम्सकी जस्ता आधुनिक विश्वलाई प्रभाव पार्न सक्ने ब्यक्तिहरूलाई पनि ज्ञानी मान्न सकिन्छ । अबको युगमा ज्ञान आदर्शमात्र नभएर व्यवहारिक र प्राविधिक प्रयोगबाट संश्लेषित विचार तथा परिणाम दुवै हो । यसरी हेर्दा, सत्यको पक्षधर भएर समाजमा बौद्धिक गतिविधि गर्ने तथा लेखेर, बोलेर या अन्य माध्यमबाट समाज वा राज्यलाई सघाउने र समाजका सकसहरूलाई निकास दिन योगदान गर्नेहरूलाई मात्र बुद्धिजीवी वा विद्वान् भन्न सकिएला । कामचोर, श्रम चोर, दलाल, करुणा विहीन, घमण्डी र प्रज्ञाविहीन पाखण्डी सबैलाई बुद्धिजीवी भन्दै हिँडियो भने युगले सम्मान गरेका करुणामय बुद्धहरूको अपमानमात्रै हुनेछ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट