
वैशाख ४, २०८१
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एकीकृत समाजवादीका नेता झलनाथ खनालबीच भेटवार्ता भएको छ ।
सत्ता गठबन्धनमा रहेको एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेशको विषयमा असन्तुष्ट रहेको बेला प्रधानमन्त्री दाहालले नेता खनालसँग प्रधानमन्त्री निवास बालुवाटारमा छलफल गरेका हुन् ।
भेटका क्रममा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने विषयमा प्रधानमन्त्रीसँग सकारात्मक कुराकानी भएको नेता खनालले बताए ।
उनले धेरै ठूलो समस्या नरहेको उल्लेख गर्दै मुख्यमन्त्री एकीकृत समाजवादीलाई दिने बित्तिकै सबै कुरा मिल्ने आफूले प्रधानमन्त्रीलाई बताएको जानकारी दिए । उनले एकीकृत समाजवादीलाई मुख्यमन्त्री दिने पहिलाको सहमति कार्यान्वयन गर्नु नै समस्याको समाधानको उपाय हुने बताए ।
छलफलमा नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठ समेत सहभागी थिइन् ।
एकीकृत समाजवादीले यस अघि सत्ता समीकरणमा सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री आफूलाई दिने सहमति भएपनि अहिले नागरिक उन्मुक्ति पार्टी (नाउपा) लाई दिएको भन्दै असन्तुष्टि जनाएको छ ।
सुदूरपश्चिममा एकीकृत समाजवादीले केन्द्रको समीकरणको विपरित कांग्रेससहितको समर्थनमा नागरिक उन्मुक्ति पार्टीकै रेशम चौधरी पक्षका लक्ष्मणकिशोर चौधरीलाई समर्थन गरेपछि सत्ता समीकरण नै तरंगित बनेको छ ।

प्रतिक्रिया दिनुहोस