
राजनीति, समग्र मुलुकको विकास र समृद्धिसँग जोडिएको हुन्छ । मुख्यतः आम नागरिकको स्वास्थ्य, शिक्षा, रोजगारी, लैङ्गिक विभेद, सीप, दक्षता, सामाजिक न्याय लगायत समग्र अर्थतन्त्र र कूटनीतिक मर्यादामा समेत जेलिएको हुन्छ , विडम्बना राज्य ठिक त्यसको उल्टो दिशातर्फ अघि बढ्दै गएको प्रत्यक्ष देखियो । राज्य संयन्त्रका सबै पक्षहरू समेटिएको संस्थागत भ्रष्टाचारका अखडा हुन पुग्यो ।
परिणाम स्वरूप अन्योल, आतङ्क, असुरक्षा, निराशा र सामाजिक सद्भाव एवं आम आत्मविश्वास खण्डित हुन पुग्दा मुलुकले ठूलो आर्थिक भार खेप्नु पर्यो। समावेशी, समानुपातिक, सङ्घीयता, धर्मनिरपेक्षता, विधिको शासन, शिक्षा, स्वास्थ्य, रोजगारी र समतामूलक नेपालको अभिभारा बोकेका राजनीतिक दलहरूको भूमिका र दायित्वले पछिल्ला दुई दशक नेपालको राजनीतिक यात्राले स्थापित दलहरूले जनअपेक्षा अनुसारको सुशासन दिन असफल भएको स्पष्ट देखाएको छ ।
समाजवाद र समृद्धिका नाराले भरिएको घोषणापत्रहरू चुनावी बाचामा मात्र सीमित हुन पुगे । आम जनतासँग सरोकार राख्ने रोजगारी सिर्जना, शिक्षामा सुधार, स्वास्थ्य सेवा, समान अवसर र भ्रष्टाचार नियन्त्रण जस्ता मुख्य विषयहरू कागजका केही खोस्टाहरूमा मात्र सीमित हुन पुगे । विगत दुई दशक दलहरूको राजनीति खिचातानी, उखान टुक्का आन्तरिक गुटबन्दी नेतृत्व प्रतिस्पर्धा, परिवारवाद, टुटफुट, विभाजन, गाली गलौज अनैतिक जालझेल र फूल, माला, खादा अनि उद्घाटनमै झन्डै झन्डै समय सकिए भन्दा फरक पर्दैन । ठुला राष्ट्रिय गौरवका आयोजना, नियुक्ति प्रक्रिया पारदर्शितामा नभई दलाल, भ्रष्ट र बिचौलियाको हातमा थमाई दिएपछि डरलाग्दो किसिमले झाँगिँदै गएको भ्रष्टाचारको जालो देशै भर र सबै क्षेत्रमा फैलिन पुग्यो ।
जनताका सेवक बन्नु पर्ने नेताहरू अहङ्कार, घमन्ड र फाँसीवादी मनोवृत्तिबाट ग्रसित हुन पुगे । ‘गाउँ गाउँबाट उठ, बस्ती बस्तीबाट उठ, यो देशको मुहार फेर्नलाई उठ’ भन्दै शान्तिपूर्ण आन्दोलनमा होमिएका नवयुवाहरूको आन्दोलन युद्धको रणमैदानमा परिणत हुन पुग्यो । भ्रष्टाचार र कुशासनविरुद्धको आन्दोलनको नारा, लक्ष्य र गन्तव्य शासकहरूको राज्य दोहनबाट लुटेर पुस्तौँ पुस्तालाई थुपार्ने प्रवृत्तिप्रतिको साझा अस्वीकारोक्ति दरिलो आवाज थियो । विकसित विज्ञान–प्रविधिको युगमा मुखमा पट्टी बाँधेर अँध्यारो कालो कोठरीमा धकेल्ने कुचेष्टा यूवाहरुका लागि मान्य नभएकै हो । रगत र खरानीमा लत्पतिएको संवेदनशील दृश्यले शासकको क्रूर भावनालाई कुनै प्रभाव पार्न सकेन ।
उनीहरूमा आजसम्म पनि अझै दम्भ, घमन्ड, अहङ्कार र प्रतिशोधको विनाशकारी आगो निभेको छैन । आत्मबोध, आत्मसमिक्षा र आत्म स्वीकारोक्ति गर्ने पक्षमा कदापि देखिँदैन । बदलिँदो राजनीतिक परिवेशलाई स्विकारेर नेपालको भविष्य युवा पुस्तालाई सुम्पने कुरामा राजनीतिक दल र त्यसको नेतृत्वप्रतिको आम चरम असन्तुष्टि रहँदारहँदै पनि नेता र तिनै झोले कार्यकर्ताहरू यति चाँडै किन सल्वलाउन सकिरहेका छन् ।
यो जवाफ खोज्न धेरै घोत्लिनु पर्छ जस्तो लाग्दैन ,यसले पुरातन राज्य व्यवस्था र तिनै राजनीतिक नेतृत्वलाई नै पुनःस्थापितको मार्ग प्रशस्त गर्दछ । प्रम बालेन्द्र शाहको सरकारले लाभको पदमा बसेका नेता, कर्मचारी, व्यापारी सबैका सम्पत्तिको स्रोत र पारदर्शिताको जाँचबुझ गरी स्रोत नखुलेका सम्पत्ति राज्यको अधीनमा तत्काल ल्याउन पहल गरि सकेको छ ! भ्रष्टाचारका ठुला–ठुला काण्डहरूका तत्काल छानबिन सुरु गरी दोषीलाई यथाशीघ्र कारवाहि गर्ने प्रकृया को शुभारम्भ भै सकेको छ ! त्यसैले आउदा दिनहरुमा नयाँ शक्ति निर्माणमा लाग्न प्रेरित गर्ने समग्र देशभक्त, प्रगतिशील, नागरिक समाज, स्वतन्त्र बौद्धिक समाज, लेखक, पत्रकार, कलाकार एउटै मञ्च बनाएर उभिन जरुरी छ !
प्रतिक्रिया दिनुहोस