आज: २०८३ आश्विन १२, सोमबार | Mon, 28, Sep, 2026

डोल्पाको मुड्केचुला गाउँपालिका र भरतपुर महानगरपालिकाबीच भगिनी सम्बन्ध कायम


  • आक्रमण न्युज
  • २०८२ बैशाख ३१, बुधबार मा प्रकाशित १ साल अघि
  • १७९ पाठक संख्या
  • चितवन । डोल्पाको मुड्केचुला गाउँपालिका र चितवनको भरतपुर महानगरपालिका बिच भगिनी सम्बन्ध कायम भएको छ ।
    भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहाल र मुड्केचुला गाउँपालिकाका अध्यक्ष दत्त बहादुर शाहीले सोमबार भगिनी सम्बन्ध कायम सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् ।
    स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ६ दफा २६ अनुसारका क्षेत्रमा साझेदारी गर्ने गरी दफा २६ को (ट) अनुसार भगिनी सम्बन्ध कायम गरिएको हो ।
    गाउँपालिका अध्यक्ष र महानगर पालिका प्रमुखले विभिन्न ९ बुँदे समझदारी पत्रमा हस्ताक्षर गरी भगिनी सम्बन्ध कायम गर्नुभयो ।
    शिक्षा, स्वास्थ्य, कृषि तथा पर्यटन, पूर्वाधार, संस्कृति, संयुक्त उद्यम, भौतिक तथा आर्थिक सहयोग लगायतका विभिन्न असल अभ्यास अनुभव आदानप्रदानका लागि भगिनी सम्बन्ध स्थापना गरिएको हो ।
    समझदारी पत्रमा दुवै पालिकाले धार्मिक तथा पर्यटकीय स्थलको स्थानीय तवरबाट प्रचार–प्रसार गर्ने, दुवै पालिकामा उत्पादित मौलिक कृषि उपजको एकापसमा बजारीकरण गर्ने, उद्यमशीलताको वृद्धि गरी आय आर्जनलाई प्रभावकारी बनाउन संयुक्त उद्यमशीलता विकास गर्ने लगायतका बुँदा रहेका छन् ।
    भरतपुर महानगरका प्रमुख दाहालले भगिनी सम्बन्ध कायमसँगै अब दुई पालिकाबीच सहयोग आदानप्रदान हुने बताउनुभयो । विकट जिल्लाको मुड्केचुला गाँउपालिकामा सरकारको आँखा नपुगेकाले विकासबाट बञ्चित हुन पुगेको उल्लेख गर्नुभयो ।
    त्यस्तै उहाँले दुई पालिकाबीच अन्तरसंस्कृति घुलनका लागि यस सम्बन्धले सहयोग गर्ने उल्लेख गर्नुभयो । मुड्केचुला गाउँपालिकाका अध्यक्ष शाहीले भरतपुर महानगरबाट यहाँका असल अभ्यासको सिकाई गर्न भगिनी सम्बन्ध फलदायी हुने विश्वास व्यक्त गर्नुभयो ।
    भरतपुरको विकास र अनुभव साटासाट गर्ने वातावरण बनेको उहाँको भनाइ थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑