आज: २०८३ श्रावण २७, बुधबार | Wed, 12, Aug, 2026

हरित सडक बनाउँदै महाशिला


  • आक्रमण न्युज
  • २०८२ अषाढ २८, शनिबार मा प्रकाशित १ साल अघि
  • ४११ पाठक संख्या
  • पर्वत । पर्वतको महाशिला गाउँपालिकाभित्र रहेका सबै सडकलाई हरित सडकका रूपमा विकास गरिने भएको छ । विकास, वातावरण र पर्यावरणलाई संरक्षण गर्दै हराभर सडक बनाउने उद्देश्यले हरित सडक बनाउन लागिएको हो । पालिकाभित्र रहेको १८३ किलोमिटर सडकका दायाँ र बाँया फलफूल, डालेघाँस र फूलका बिरुवा रोप्न लागिएको महाशिला गाउँपाालिकाका अध्यक्ष ईश्वरीप्रसाद भुसालले जानकारी दिनुभयो । उहाँका अनुसार पालिकाभित्रका अधिकांश सडक कच्ची रहेका छन् । जसमध्ये २२ किलोमिटर कालोपत्र तथा ढलान र २३ किलोमिटर सडक सोलिङ गरिएको छ । सडकलाई बाहै्रमास सञ्चालन गर्नका लागि वर्षायाममा बाढी नियन्त्रण गर्न ४० जना स्वयंसेवक समेत परिचालन गरिएको छ । गत असार १० गते सम्पन्न गाउँसभाले हरित सडकका लागि रु १० लाख बजेट समेत विनियोजन गरेको छ । अपुग बजेट आगामी गाउँसभाबाट संशोधन गरेर विनियोजन गरिने अध्यक्ष भुसालले बताउनुभयो । गाउँपालिकाले ‘एक घर, एक रोजगार’ कार्यक्रमअन्तर्गत छनोट गरेका ४०० जना स्वयंसेवक परिचालन गरी सडकका दायाँबायाँ रुखबिरुवा रोपिने उहाँले बताउनुभयो । भू तथा जलाधार व्यवस्थापन कार्यालय, डिभिजन वन कार्यालयसँग पनि डालेघाँस र फलफूलका बिरुवा माग गरिएको र अपुग बिरुवा पालिका आफैँले व्यवस्थापन गरेर रोपिने भएको छ । हरित सडक बनेपछि भूक्षय तथा बाढिपहिरोजस्ता प्रकोप न्यूनीकरण हुने र सडकको सुरक्षा समेत हुने उहाँले बताउनुभयो । भिरालो र पहाडी क्षेत्र बढी भएको महाशिलामा वर्षायाममा अधिकांंश सडकमा बाढीपहिरोको समस्या आउने गरेको छ । दायाँबायाँ रुखहरू रोपेपछि बाढीपहिरोको समस्या न्यूनीकरण हुने अपेक्षा गरिएको अध्यक्ष भुसालको भनाइ छ । “बिरुवा उपलव्ध भएपछि दश/पन्ध्र दिनमै रोपेर सक्छौँ,” अध्यक्ष भुसालले भन्नुभयो, “बहुउपयोगी बिरुवा रोप्ने योजना रहेको छ ।” महाशिलामा अब नयाँ मार्ग खोल्नुपर्ने अवस्था नरहेकाले पुराना सडकलाई व्यवस्थित गर्न थालिएको हो । सङ्घ, प्रदेश र स्थानीय सरकारबाट विनियोजित बजेटले सडक कालोपत्र, स्तरोन्नति, नाली निर्माणलगायतका काम भइरहेको उहाँको भनाइ छ । जिल्लाको सबैभन्दा सानो पालिकाका रूपमा रहेको महाशिलाले आगामी आर्थिक वर्षको बजेटमा समेत कृषि र पूर्वाधारलाई जोड दिएको छ । पालिकाले यसअघि बाँझो रहेको जग्गा सदुपयोग गर्नका लागि फलफूलखेती विस्तार गर्दै आएको छ । ओखर, मेकाडेमियानट, तरुल, अम्बा, केरालगायत बाँदरले नष्ट गर्न नसक्ने खालका फलफूलखेती विस्तार गरिएको गाउँपालिकाका उपाध्यक्ष धनशोभा विकले जानकारी दिनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट