आज: २०८३ आश्विन ११, आईतबार | Sun, 27, Sep, 2026

डिल्लिबजार रोटरी क्लबद्वारा विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न, हेम्सकी अंशु शर्मा प्रथम


  • आक्रमण न्युज
  • २०८२ भाद्र २०, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ५३३ पाठक संख्या
  • काठमाडौं । रोटरी क्लब अफ डिल्लिबजार–काठमाडौंले रोटरीको आधारभूत शिक्षा तथा साक्षरता कार्यक्रम अन्तर्गत आज शुक्रवार राजधानीमा विद्यालयस्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ।

    रोटरी क्लबका अध्यक्ष प्रेमकुमार वलीको सभापतित्वमा सम्पन्न कार्यक्रममा प्रमुख अतिथि सिस्नोपानी नेपालका अध्यक्ष लक्ष्मण गाम्नागे, निर्णायक मण्डलमा साहित्यकार प्रा. वामदेव शर्मा, रघुनाथ अधिकारी र पुण्य आचार्य सहभागी रहनु भएको थियो । कार्यक्रममा आइपीपी सागरनिधि तिवारी, पास्ट प्रेसिडेन्ट डा. पार्थिवेश्वर तिमिल्सिना, पास्ट प्रेसिडेन्ट पुण्यप्रसाद पौडेल, सम्झना पोखरेल, इन्दिरा पौडेल, सेक्रेटरी सन्ध्या राजभण्डारी र रोटरियन विष्णु पराजुली विशेष अतिथिका रूपमा उपस्थित हुनु भएको थियो।

    मध्य उपत्यकाका सात विद्यालयका २० जना विद्यार्थी सहभागी भएको प्रतियोगितामा हेम्स विद्यालयकी अंशु शर्मा प्रथम, अक्षर एकेडेमिकी सेहना राजभण्डारी द्वितीय र लिटल फ्लावर विद्यालयका आदित्य गजुरेल तृतीय भएका हुन। त्यस्तै, सजना खनाल, गौरव पौडेल, प्राञ्जल नेपाल र अनिरुद्र बरालले सान्त्वना पुरस्कार प्राप्त गरेका थिए ।

    विजेतामध्ये प्रथम हुनेले नगद ३ हजार रुपैयाँसहित प्रमाणपत्र, द्वितीयले २ हजार रुपैयाँसहित प्रमाणपत्र, तृतीयले १ हजार रुपैयाँसहित प्रमाणपत्र तथा सान्त्वना प्राप्त गर्नेले जनही ५ सय रुपैयाँसहित प्रमाणपत्र प्राप्त गरेका थिए ।

    कार्यक्रममा पास्ट प्रेसिडेन्ट डा. पार्थिवेश्वर तिमिल्सिनाले स्वागत मन्तव्य राख्नु भएको थियो भने सुजिता अधिकारीले संयोजन तथा सञ्चालन गर्नु भएको थियो। प्रमुख अतिथि गाम्नागेले छोटो समयमा उत्कृष्ट कविता लेखेर प्रतिभा प्रदर्शन गर्ने सबै विद्यार्थीलाई प्रशंसा गर्दै रोटरी क्लब अफ डिल्लिबजारको साहित्यिक पहल सराहनीय रहेको बताउनु भएको थियो ।

    अन्त्यमा सहभागी सबैलाई प्रमाणपत्र वितरण गर्दै प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरिएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑