
काठमाडौं । रोटरी क्लब अफ डिल्लिबजार–काठमाडौंले बाँके जिल्लाको खजुरा गाउँपालिका–२, गौघाटस्थित योगी माध्यमिक विद्यालयमा विद्यार्थीहरूको खेलकुद गतिविधिलाई प्रवर्द्धन गर्ने उद्देश्यले निर्माण गर्न लागेका तीनवटा सिमेन्टेड टेबल टेनिस बोर्डका लागि सुरेन्द्र ढकाल फाउन्डेसनले रु. ९४,५०० आर्थिक सहयोग प्रदान गरेको छ।
उक्त सहयोग रकम फाउन्डेसनका अध्यक्ष तथा रोटरी क्लब अफ डिल्लिबजारका पूर्व अध्यक्ष (पास्ट प्रेसिडेन्ट) श्री सुरेन्द्र ढकालले बुधबार, असार ३ गते आयोजित क्लबको नियमित बैठकका अवसरमा क्लबका अध्यक्ष श्री प्रेम वलीलाई हस्तान्तरण गर्नुभएको थियो। सहयोग रकम ग्रहण गर्दै अध्यक्ष वलीले विद्यालयका विद्यार्थीहरूको खेल प्रतिभा विकास तथा स्वस्थ शैक्षिक वातावरण निर्माणमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सुरेन्द्र ढकाल फाउन्डेसन तथा यसका अध्यक्ष श्री ढकालप्रति हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्नुभयो। उहाँले सामाजिक उत्तरदायित्व वहन गर्दै शिक्षा र खेलकुद क्षेत्रको विकासमा निरन्तर सहयोग गर्दै आएको सुरेन्द्र ढकाल फाउन्डेसनको योगदान प्रशंसनीय रहेको बताउनुभयो।
क्लबका अनुसार गत वर्ष विद्यालयको आवश्यकता तथा सम्भावित सहयोगका क्षेत्रहरूको अध्ययन गर्न अध्यक्ष श्री प्रेम वली, सचिव श्रीमती सन्ध्या राजभण्डारी, पास्ट प्रेसिडेन्ट श्री लीलानाथ शर्मा, सर्जेन्ट एट आर्म्स श्री ऋषिदेव पन्तलगायतको टोलीले विद्यालयको स्थलगत अवलोकन (फिल्ड भिजिट) गरेको थियो। सो क्रममा विद्यालयमा खेलकुद पूर्वाधारको अभाव रहेको तथा टेबल टेनिस खेलप्रति विद्यार्थीहरूको उत्साह उच्च रहेको पाइएको थियो। त्यसैको आधारमा विद्यालयमा स्थायी रूपमा प्रयोग गर्न मिल्ने सिमेन्टेड टेबल टेनिस बोर्ड निर्माण गर्ने योजना अघि बढाइएको क्लबले जनाएको छ।
रोटरी क्लब अफ डिल्लिबजारले शिक्षा, स्वास्थ्य, खानेपानी, सरसफाइ तथा खेलकुदलगायत विभिन्न सामाजिक क्षेत्रमा समुदाय केन्द्रित कार्यक्रम सञ्चालन गर्दै आएको छ। विद्यालयमा निर्माण हुन लागेका यी टेबल टेनिस बोर्डहरूले विद्यार्थीहरूलाई खेलकुद गतिविधिमा सहभागी हुन थप प्रेरणा मिल्ने तथा उनीहरूको शारीरिक तथा मानसिक विकासमा सकारात्मक योगदान पुग्ने अपेक्षा गरिएको छ।
प्रतिक्रिया दिनुहोस