Follow

Subscribe to notifications
आज: २०८३ मंसिर १, मंगलबार | Tue, 17, Nov, 2026

परिवर्तनप्रेमि नेपालि र विचौलिया इनम


  • आक्रमण न्युज
  • २०८३ मंसिर १, मंगलबार मा प्रकाशित १ घण्टा अघि
  • ५५ पाठक संख्या
  • नेपाली जनता परिवर्तनप्रेमी छन् । परिवर्तनपछि नेपाली जनताले सदैब नयाँलाई मौका दिइरहेका छन् । वि.सं. २०१५ को आमनिर्वाचनमा नेपाली काँग्रेस, ०४८ मा पुनः काङ्ग्रेस, २०५२ देखिको जनयुद्ध र त्यसपछिको निर्वाचनमा नेकपा माओवादी, गतवर्ष फागुन २१ को निर्वाचनमा रास्वपालाई जनताले नयाँ भनेर नै भरपुर मतसहित जनादेश दिएका हुन् ।

    नेपाली जनताले नयाँ र परिवर्तन चाहेको तथ्य चुनावी नतिजाबाट थाहा हुन्छ । तर विडम्बना जनताले नयाँ भनेर नयाँलाई नै मौका दिएता पनि उनीहरूमा पुरानै रोग, संस्थागत भ्रष्टाचार र बिचौलियासँग साँठगाँठ रहेको पछिल्लो समयमा घटेका घटनाले देखाउँछ । नयाँ भनिएका अझ पुरानाभन्दा पुरातनवादी चेतबाट ग्रसित देखिन थालेका छन्।

    बिचौलिया इनम सापकोटाका पछिल्लो समय बाहिरिएका अडियो कल, उनले गरेको सेटिङ र मोलमोलाईको धन्दा, प्रधानमन्त्री बालेन्द्र साहका प्रमुख राजनीतिक सल्लाहकार कुमार बेनबाट इनाम सापकोटाको मोबाइल हाइज्याक गरेर संवेदनशील संवाद डिलिट, आईजिपी दानबहादुर कार्कीको बर्खास्तीलगायतका घटनाले पुरानाका हर्कतभन्दा नयाँहरुको झन् डरलाग्दो खेल र भयानक रुप देखिन थालेको हो । नेपालको न्यायिक, राजनीतिक र प्रशासनिक वृत्तमा ‘हाई–प्रोफाइल बिचौलिया’का रूपमा इनाम सापकोटाको नाम हालैका अनुसन्धानहरूबाट बाहिरिएको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत प्रस्थान गर्नै लाग्दा नेपाल प्रहरीको विशेष ब्युरो टोलीले नियन्त्रणमा लिएका ३१ वर्षीय सापकोटाले राज्यका शक्तिशाली निकायहरूबीच समानान्तर चलखेलको सञ्जाल खडा गरेको खुलासा भएको हो।

    आफूलाई कतिपय स्थानमा विदेशी दूतावाससँग सम्बद्ध चिकित्सकका रूपमा समेत चिनाउने सापकोटाको पहुँच सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीशदेखि उच्च राजनीतिक नेतृत्वका स्वकीय सचिवहरू, सुरक्षा निकायका उच्च अधिकारी र व्यावसायिक घरानासम्म फैलिएको हालसम्मको प्रहरी अनुसन्धानले देखाएको छ। उनका डिजिटल उपकरण तथा ह्वाट्सएप संवादको डिजिटल फरेन्सिक जाँचका क्रममा सापकोटा अदालतमा विचाराधीन रहेका ठूला व्यापारिक मुद्दाहरूमा ‘सेटिङ’ मिलाउने, प्रहरी संगठनभित्र आकर्षक सरुवा–बढुवाको सौदाबाजी गर्ने तथा सुरक्षा निकायका लत्ता–कपडा र रासन खरिदका ठेक्कापट्टामा प्रभाव पार्ने कार्यमा सक्रिय रहेको भेटिएको छ। यति मात्र नभई, नख्खु कारागारमा रहेका सम्पत्ति शुद्धीकरण र बैंकिङ कसुरका आरोपीहरूसँग नियमित सम्पर्कमा रहेर कानुनी छिद्रताको फाइदा उठाउने धन्दा चलाएको समेत अनुसन्धानबाट खुलेको छ।

    हाल उनलाई राष्ट्र बैंक ऐन र सम्पत्ति शुद्धीकरण निवारण ऐन लगायतका कसुरमा म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको छ । सर्वोच्च अदालतले समेत उनको बन्दीप्रत्यक्षीकरणको रिट खारेज गर्दै प्रहरी हिरासतलाई कानुनसम्मत ठहर गरिसकेको अवस्था छ। जसरी अहिले इनमले कानुनको खिल्ली उडाइरहेका छन् । ठ्याक्कै त्यस्तै अस्वाभाविक व्यवहार सरकारमा रहेकाले मिडिया हाउस तथा पत्रकारमाथि ढरपकड गरिनु, पञ्चायती शैलीमा आफूलाई मन नपरेकामाथि कारबाही गर्नु, जनताको चाहना, समस्या सम्बोधन नगर्नुलगायत घटनाक्रमले लोकतन्त्रमाथि प्रहार भएको भन्न कुनै हिचकिचाहट मान्न आवश्यक छैन ।

    अहिले मिडियामा देखिएका इनाम सापकोटा एउटा उदाहरणमात्रै हुन् । उनी जस्ता बिचौलियाहरु यो देशमा स्थानीय तहदेखि सङ्घीय सरकारको किचेन क्याबिनेटसम्म रजगज गर्न माहिर भइसकेका छन् । अर्र्बौंको कालो धन्दा चलाएर जनताको आँखामा छारो हालिरहेका घटना धेरै छन् । दीपक भट्ट, इनाम सापकोटा प्रतिनिधि उदाहरणमात्र हुन् । नेपालको कानुनीराजको धज्जी उडाएर राज्यलाई असफल बनाउन तम्तयार इनाम र भट्टलाई मतियार बनाइ मुख्य फाइदा लिनेहरुबाट देशमा कसरी सुशासन कायम रहला ? कुन आधारमा भ्रष्टाचार नियन्त्रण हुन्छ ? यो अवस्थामा आर्थिक विकास र आर्थिक वृद्धि राष्ट्रका लागि कल्पनाभन्दा बाहिरको कुरा भएको छ ।

    अन्ततोगत्वा, शक्तिशाली संयन्त्रसँग साँठगाठ भएका सापकोटा र भट्ट जन्माउने को हुन् ? कसको आडमा यस्ता बिचौलियाहरु सक्रिय छन् ? जगजाहेर छ, यी प्रश्नहरुको जवाफ, कथित नेता, उच्चस्तरीय कर्मचारी नै बिचौलियाहरुको प्रमुख आड र भरोसा हुन् । अन्यथा यस्तो खुलेआम कसको आँट हुनु । बिचौलिया इनाम सापकोटाको हकमा पनि उक्त कुरा लागू भएको छ । विगतमा उनको सम्बन्ध कोसँग थियो भन्ने कुरा सामाजिक सञ्जालमा आएका तस्बिर र घटनाक्रमले उनी अहिलेको सरकारका मन्त्री, सत्ता निकट व्यक्ति लगायतका शक्ति केन्द्रसँग नजिक रहेको स्पष्ट हुन्छ । अन्यथा प्रधानमन्त्रीका मुख्य राजनीतिक सल्लाहकार कुमार बेन किन सक्रिय हुन्थे ?

    रातारात इनामको मोबाइल किन हाइज्याक गर्थे । प्रहरी स्रोतलाई उल्लेख गर्दै बिचौलिया भनिएका सापकोटाबाट बरामद दुईवटा मोबाइल फोन आधिकारिक रूपमा प्रहरीको फरेन्सिक परीक्षणमा पुग्नुअघि करिब दुई दिनसम्म बेनको घरमा राखिएको खबर छताछुल्ल भइसकेको छ । व्यक्तिको नियन्त्रणमा रहेको सोही अवधिमा मोबाइलमा रहेका केही मत्ववपूर्ण सन्देशहरू मेटिएको तथा उम्मेदवार सिफारिस र अन्य राजनीतिक–प्रशासनिक संवादसँग जोडिएका विवरणका स्क्रिनसटहरू बाहिरिएको आशङ्का गरिएको छ।

    प्रमाणको रूपमा सुरक्षित गर्नुपर्ने डिजिटल उपकरणहरू अनुसन्धानको अधिकारक्षेत्र बाहिर प्रधानमन्त्रीको सचिवालयका व्यक्तिको जिम्मामा पुग्नुले अनुसन्धानको निष्पक्षतामाथि नै प्रश्न उब्जाएको छ । यस विषयमा बेनले हालसम्म कुुनै जवाफ दिन चाहेका छैनन् भने सरकारी तवरबाट पनि अनभिज्ञता प्रकट गरिएको छ। नेपाली जनताले रास्वपालाई इनम सापकोटाहरुलाई बिचौलियाको रुपमा स्थापना गरोस् भनेर मत दिएका होइनन् । मतदाताले राज्यमा विकास, सुशासन, शान्ति कायम होला भनेर नयाँ भनिएका अनुहारलाई परीक्षणका लागि मत दिएका हुन् । तितो सत्य के हो भने रास्वपालाई जनताले उसँगका मानिसहरु अब्बल छन्, राम्रा छन् भनेर कदापि मत दिएका होइनन् । पुराना नेता र राजनीतिक दलहरूले जनतालाई धोका दिए । देशमा विकास र सुशासन भएन । भ्रष्टाचारले राज्यलाई थला पार्यो ।

    समाजमा बिचौलियाहरु हाबी भएको आक्रोशमा मत दिएका हुन् । त्यही आक्रोशको कागताली रुप आजको मितिमा रास्वपाले प्राप्त गरेको जनमत हो । रास्वपा जसलाई नयाँ भनिएको छ, उनीहरुबाट जनताको के अपेक्षा थियो भने कम्तिमा उनीहरु पुराना नेतृत्व जस्तो नहोलान् भन्ने धेरैको अनुमान मात्रै थियो । केही सानो संख्याले रास्वपाले देश विकास गर्छ भन्ने झिनो सपना देखेका थिए । तर विडम्बना नयाँ भनिएका नेता र उसँग निकट मानिसका गतिविधि हेर्ने हो भने नयाँ झन् खराब रहेको आधा वर्षमै देखिन थालेको छ ।

    जुन कुराबाट जनता आजित भएर नयाँलाई मत दिएका थिए । वर्तमान परिपाटीमा नयाँ भनिएकाको गतिविधि देखेर जनतामा चरम असन्तुष्टि देखिन थालेको छ । ठाउँठाउँमा विरोधका आवाज सुनिन थालेका छन् । पीडा र आक्रोश स्वरूप जनताले आफूले दिएको मतप्रति ग्लानी प्रकट गर्न सुरु भैसकेको छ । अहिले नयाँले यस्तै गतिविधिलाई निरन्तरता दिए जनताले अवश्य राजनीतिक हिसाबकिताब राख्ने छन् । यही अवस्था र गतिविधिबीच रास्वपा अगाडि बढे उनीहरूको दिनगन्ती सुरु हुनेमा द्विविधा छैन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑