भोजपुर। भोजपुर नगरपालिका–१ नाकामकी ममता राईलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । ममताकी संरक्षकका रूपमा रहेकी हजुरआमा असक्त भएकाले जिल्ला प्रशासन कार्यालयसम्म पुग्न नसक्ने अवस्थालाई मध्यनजर गर्दै प्रशासनले घरमै सेवा प्रदान गरेको हो । ममताको पारिवारिक अवस्था जटिल रहेको छ । उनका बुबा लामो समयदेखि बेपत्ता रहेका छन् भने आमा जन्मदर्ता गराएपछि सम्पर्कविहीन भएकी हुन् ।
अदालतले ममताको हेरचाह तथा कानुनी संरक्षकका रूपमा हजुरआमा रत्नकुमारी राईलाई तोकेको थियो । तर संरक्षकका रूपमा रहेकी हजुरआमा स्वयं शारीरिक रूपमा अशक्त रहेकाले हिँडडुल गर्न तथा स्पष्ट रूपमा बोल्नसमेत असमर्थ छन् । जसका कारण नागरिकता प्राप्तिका लागि आवश्यक सनाखत प्रक्रिया पूरा गर्न जिल्ला प्रशासन कार्यालयसम्म पुग्न सम्भव भएको थिएन । यही अवस्थालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय भोजपुरले नागरिकमैत्री सेवा प्रवाहको उदाहरण प्रस्तुत गरेको छ । प्रमुख जिल्ला अधिकारी राजन पौडेलसहितको टोली स्वयं ममताको घरमै पुगेर आवश्यक कागजात सङ्कलन, विवरण प्रमाणीकरण तथा सनाखत प्रक्रिया पूरा गरी नागरिकता प्रदान गरेको हो ।
कानुनी प्रक्रिया पूरा गरी घरमै नागरिकता प्रदान गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले जानकारी दिनुभयो । “संरक्षक असक्त भएकाले सनाखतका लागि जिल्ला प्रशासनसम्म आउन सक्ने अवस्था थिएन”, प्रजिअ पौडेलले भन्नुभयो, “जसका कारण ममताले नागरिक प्राप्त गर्न सक्नुभएको थिएन । यस्तो कठिन अवस्थामा आवश्यक समन्वय गरी सहज रूपमा सेवा प्रदान गर्ने उद्देश्यले घरमै पुगेर नागरिकता वितरण गरेका हौँ ।” अन्य स्थानीय तहमा भएका असक्त नागरिकलाई पनि घरमै पुगेर सेवा प्रदान गरिरहेको उहाँले बताउनुभयो । स्थानीय तहले पनि यस कार्यलाई सकारात्मक रूपमा लिएको छ ।
वडाध्यक्ष जिरामणि राईले प्रमुख जिल्ला अधिकारी स्वयं घरमै पुगेर नागरिकता वितरण गरेको कार्यलाई उदाहरणीय, मानवीय तथा प्रशंसनीय भएको बताउनुभयो । उहाँले यस्ता पहलले नागरिकमा राज्यप्रति विश्वास बढाउने धारणा व्यक्त गर्नुभयो । घरमै पुगेर नागरिकता वितरण गरिएको यो घटनाले राज्यको सेवाप्रवाहलाई अझ बढी पहुँचयोग्य, उत्तरदायी र नागरिकमैत्री बनाउने दिशामा महत्त्वपूर्ण सन्देश दिएको उहाँको भनाइ छ । विशेषगरी असक्त तथा सेवा लिन असमर्थ नागरिकका लागि प्रमुख जिल्ला अधिकारीले खेलेको भूमिका स्मरणयोग्य रहेको वडाध्यक्ष राईले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस