आज: २०८३ आश्विन १७, शनिबार | Sat, 03, Oct, 2026

वागमती प्रदेश पुर्वमन्त्री उत्तम जोशीद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी


  • आक्रमण न्युज
  • २०८३ आश्विन १७, शनिबार मा प्रकाशित २ घण्टा अघि
  • १३ पाठक संख्या
  • काठमाडौं । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनमा बागमती प्रदेशका पूर्व स्वास्थ्य मन्त्री तथा प्रदेशसभा सदस्य उत्तम जोशीले खुला केन्द्रीय सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

    भोलीदेखि काठमाडौंमा सुरु हुने महाधिबेशनमा जोशीले आफ्नो उमेदवारी दिने तयारी गरेका हुन् ।

    लामो समयदेखि पार्टी संगठनमा सक्रिय रहँदै आएका जोशीले आफ्नो राजनीतिक अनुभवलाई पार्टीको केन्द्रीय नीति निर्माणमा उपयोग गर्ने लक्ष्यसहित उम्मेदवारी घोषणा गरेका छन् ।

    तनहुँबाट राजनीतिक यात्रा सुरु गरेका जोशीले चितवनलाई आफ्नो राजनीतिक कर्मभूमि बनाउँदै नेपाल विद्यार्थी संघमार्फत कांग्रेसको राजनीतिमा सक्रियता बढाएका थिए। वडा तहको संगठनदेखि जिल्ला कार्यसमितिको सचिवसम्मको जिम्मेवारी सम्हालेका जोशीले पार्टीको १४औँ महाधिवेशनमा जिल्ला सभापति पदमा समेत प्रतिस्पर्धा गरेका थिए।

    युवा उमेरमै लामो राजनीतिक तथा संगठनात्मक अनुभव हासिल गरेका जोशी प्रदेशसभा सदस्य हुँदै बागमती प्रदेशको स्वास्थ्य मन्त्रीको जिम्मेवारीसमेत सम्हालिसकेका छन्।

    जोशीले प्रदेश सरकारमा स्वास्थ्य मन्त्रीका रूपमा रहँदा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न कार्यक्रम अघि बढाए थिए ।

    दुर्गम क्षेत्रका गर्भवती महिलाकाका लागि निःशुल्क हवाई उद्धार, पूर्ण खोप अभियानमा सीमान्तकृत तथा लोपोन्मुख समुदायलाई प्रोत्साहन, विद्यालयमा नर्स कार्यक्रम, स्वास्थ्य उपकरणको पुनःप्रयोग तथा प्रदेशका विभिन्न अस्पतालको क्षमता विस्तारलगायतका कामलाई उनले आफ्नो कार्यकालका महत्वपूर्ण उपलब्धिका रूपमा प्रस्तुत गर्दै आएका छन्।

    प्रदेशसभामा रहँदा जोशीले चितवनको विकास, पूर्वाधार निर्माण र समृद्धिका विषयलाई निरन्तर रूपमा उठाउँदै आएको बताउँदै आएका छन्। चितवनको विकास र समृद्धिका मुद्दामा संसदमा आवाज उठाउने नेताका रूपमा आफ्नो पहिचान बनाएका जोशी अब पार्टीको केन्द्रीय नीति निर्माण तहमा रहेर राष्ट्रिय राजनीतिको दिशामा योगदान गर्ने योजनामा छन्।

    १५औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधिहरूलाई जोशीले नेपाली कांग्रेसलाई समयअनुकूल र अझ सशक्त बनाउँदै लोकतन्त्र, सामाजिक न्याय, आर्थिक विकास तथा देशको आधुनिकीकरणमा पार्टीको भूमिका प्रभावकारी बनाउनुपर्ने बताएका छन्।

    उनले कांग्रेसको गौरवपूर्ण इतिहास स्मरण गर्दै बीपी कोइराला, सुवर्णशमशेर, गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला र सुशील कोइरालालगायतका नेताहरूले निर्माण गरेको राजनीतिक विरासतलाई नयाँ पुस्ताले जिम्मेवारीपूर्वक अघि बढाउनुपर्ने धारणा राखेका छन्।
    जोशीले पार्टीभित्र एकता, सद्भाव र सहिष्णुता बलियो बनाउँदै “बदलिएको र सक्षम कांग्रेस” निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

    “मैले मेरो जवानी र लामो ऊर्जाशील समय नेपाली कांग्रेसको संगठन विस्तार र सुदृढीकरणमा बिताएको छु। त्यस अनुभवले मलाई केन्द्रीय समितिमा रहेर काम गर्न उत्साहित बनाएको छ,” जोशीले महाधिवेशन प्रतिनिधिहरूलाई गरेको अपिलमा भनेका छन्।

    कांग्रेसले दिएका विभिन्न जिम्मेवारीलाई इमान्दारीपूर्वक निर्वाह गर्दै आएको उल्लेख गर्दै जोशीले अब पार्टीको नीति निर्माण तहमा रहेर काम गर्ने तीव्र इच्छासहित केन्द्रीय सदस्यमा उम्मेदवारी दिन लागेको बताएका छन्।

    उनले १५औँ महाधिवेशनका महाधिवेशन प्रतिनिधिहरूसँग आफ्नो राजनीतिक यात्रा, संगठनात्मक अनुभव र आगामी योजनालाई मूल्यांकन गर्दै आफूलाई अमूल्य मत प्रदान गर्न आग्रह गरेका छन्।

    संगठनको वडा तहदेखि जिल्ला नेतृत्व, प्रदेशसभा सदस्य र स्वास्थ्य मन्त्रीसम्मको जिम्मेवारी सम्हालिसकेका जोशीको अबको राजनीतिक यात्रा नेपाली कांग्रेसको केन्द्रीय समितिमा प्रवेश गर्दै नीति निर्माणको तहमा सक्रिय हुने लक्ष्यतर्फ केन्द्रित देखिन्छ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट
    ↑